राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

लोकपथ
42
Shares

काठमाडौं । आन्तरिक राजस्व कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । कार्यालयमा चार महिनादेखि कार्यालय प्रमुख नभएको र दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित भएको हाे ।

कर अधिकृत र नायब सुब्बाको अभावमा सेवा प्रवाहमा समस्या भएको हो । कार्यालयमा हाल १० जना कर्मचारीको दरबन्दी रिक्त छ । एक उपसचिव, तीन कर अधिकृत, पाँच सुब्बा र कम्प्युटर अधिकृतलगायत कर्मचारीको पद रिक्त रहेको छ । 

कर्मचारी अभाव हुँदा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्राप्त गर्न समस्या भएको बैतडीका सेवाग्राही हेमराज भट्टले बताए । उनले भने, ‘हामीजस्तो टाढाबाट आउनेका लागि समयमा काम नहुँदा धेरै समस्या भयो, समयमा काम हुँदैन ।’

कार्यालय अहिले निमित्त कार्यालय प्रमुखको भरमा चलिरहेको छ । कार्यालय प्रमुखको चार महिनाअघि सरुवा भएपछि कार्यालय निमित्तकै भरमा चलिरहेको कर अधिकृत थानेश्वर अवस्थीले बताए ।‘कर्मचारी नहुँदा नागरिकको काममा समस्या भएपछि एउटा फाँटको कर्मचारीलाई उक्त फाँटको काम सकिएपछि पुनःअर्को फाँटमा खटाएर काम चलाउँदै आएका छौँ’, उनले भने । 

उक्त कार्यालयले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?