काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको हो ।
चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमको समाचारमा उल्लेख छ।
मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका–७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेका छन् ।
कार चालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन् । कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ।
त्यस्तै कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको नेपालमदरको समाचारमा उल्लेख छ।
त्यहाँको प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया