काठमाडौं । ‘सेभ द चिल्ड्रेन’को १००औँ वार्षिक उत्सव सम्पन्न भएको छ । बालअधिकारको १०० वर्ष र नेपालका बालबालिकासँगको ४० वर्षे साझेदारी पूरा भएको अवसरमा आज आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले आफ्नो धारणा व्यक्त गर्दै भने, ‘बालबालिकालाई राष्ट्र निर्माणको प्रभावशाली साझेदारको रूपमा लिइनुपर्छ।’ उनले विशेषगरी विशेष संरक्षण आवश्यकता भएका बालबालिकालाई प्राथमिकता दिँदै बालअधिकार सुनिश्चित गर्न र बालबालिकाको आवाजलाई नीति निर्माणको हरेक तहमा समेट्न सरकार प्रतिबद्ध रहेकाे बताए ।
त्यस्तै, युरोपेली संघका नेपालका लागि राजदूत भेरोतिक लोरेन्जोने बालअधिकार सुनिश्चितमा नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले भने,‘बालअधिकारका लागि बृहत् साझेदारीको आवश्यकता औँल्याउँदै सबै क्षेत्रले बालअधिकारको विषयप्रति अपनत्व कायम गर्नुपर्छ।’
कार्यक्रममा नेपालभरका बालबालिका र युवाको नेतृत्वमा सञ्चालन भएका जलवायु र लैंगिक न्याय जस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित अभियानसम्बन्धी प्रस्तुतिहरू गरिएको थियो । साथै विभिन्न नागरिक समाज संगठनहरुद्वारा बालअधिकार प्रवर्धनका लागि सञ्चालित आफ्ना कार्यहरू झल्काउने स्टलहरू राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया