काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताएका छन् ।
आज लुम्बिनीमा भएको ‘लगानी: अवसर र चुनौती’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण मात्रैको पहलले सम्भव नभएको बताए । उनले त्यसको लागि राज्यका सम्पूर्ण संयन्त्रहरूको पनि साथ र सहयोग आवश्यक रहेको बताए ।
महानिर्देशक अधिकारीले सरकारले सबैभन्दा पहिला हवाई ट्राफिक व्यवस्थापनको लागि भैरहवा,पोखरामा उडान गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताए । उनले सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरू भैरहवा जाने वातावरण बन्ने उनको भनाइछ ।
उनले हवाई ट्राफिकलाई भैरहवा उडान अनिवार्य नगरेसम्म भैरहवा विमानस्थलको दीर्घकालीन उडानको कल्पना गर्न नसकिने बताए । हवाई उडान व्यवस्थापनमा सबै मिलेर नियमन गर्न आवश्यक रहेको भन्दै यो विषयमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले बनाएकाले सरकारले विमानस्थल सञ्चालनको लागि चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गर्नुपर्ने बताए । उनले सरकारले हवाई उडानलाई नियमन गर्दा तीन वटै विमानस्थल चल्न सक्ने भन्दै अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान पठाएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया