काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । बिहीबार लुम्बिनीमा भएको ‘लुम्बिनीमा लगानी: अवसर र चुनौती’ विषय कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताएका हुन् ।
उनले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडि नहट्ने बताए । साथै उनले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण, भिसा र श्रम स्वीकृत लुम्बिनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको पनि बताए ।
त्यसै गरी मुख्यमन्त्री आचार्यले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य परीक्षण,श्रम स्वीकृत र भिसा स्वीकृतको लागि सम्बन्धित निकायहरूमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउँदै, निजी क्षेत्रलाई लगानी सहजीकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर रहेको उल्लेख गरे । उनले लगानीको लागि नीतिगत र कानुनी रूपमा समस्या भए समस्या समाधान गर्न आफूहरू तयार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया