जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत

लोकपथ
133
Shares

टोकियो । जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वको सरकारले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजापछि ठूलो प्रोत्साहन प्याकेजका लागि थप बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारको लोकप्रियतालाई बढावा दिने उद्देश्यले पनि रूग्ण उद्योग, व्यवसाय तथा समग्र अर्थव्यवस्थालाई उकास्ने उद्देश्यसहित यो अतिरिक्त बजेटको व्यवस्था गरेको हो । 

मन्त्री परिषद्ले स्वीकृत गरेको अतिरिक्त बजेट १३.९ ट्रिलियन येन (९२ अर्ब अमेरिकी डलर) बराबरको छ र यो वर्षको अन्त्यसम्ममा संसदबाट पारित हुने अपेक्षा गरिएको छ ।

यसलाई आंशिक रूपमा ६.६ ट्रिलियन येनभन्दा बढीको ऋणपत्र जारी गरेर वित्तपोषित गरिनेछ ।  गत हप्ता इशिबाको मन्त्री परिषद्ले २१.९ ट्रिलियन येनको अतिरिक्त कार्यक्रमलाई अनुमोदन गरेको थियो, जसको समग्र प्रभाव ३९ ट्रिलियन येन बराबर हुने अनुमान गरिएको थियो ।

यसमा कम आय भएका परिवारका लागि करिब ३०,००० येन, इन्धन तथा ऊर्जा अनुदान र साना व्यवसायका लागि सहयोग समावेश गरिएको छ । पूर्ववर्ती फुमियो किशिदाको राजीनामापछि ६७ वर्षीय प्रधानमन्त्री इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेका थिए । 

तर दशकौंदेखि लगातार शासन गर्दै आएको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) भित्रको भ्रष्टाचारलाई लिएर मतदाताहरू आक्रोशित भएका छन् । सन् २००९ पछि पहिलो पटक एलडीपी र यसको सानो सहयोगी कोमेइतो पार्टीको सत्तारुढ गठबन्धनको संसद्को तल्लो सदनमा बहुमत गुमेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?