बेनी । म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । विसं २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो ।
ट्याक खुलेको करिब १७ वर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । गरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक गत वर्ष नै कालोपत्र भइसकेको छ ।
गत वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रूपमा छनोट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छ्रे हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो । यस सडक स्तरोन्नतिको लागि १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो ।
यस योजनाबाट बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर सञ्जय सुवेदीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया