‘वाम गठबन्धन भ्रम हो, विप्लवसहितको क्रान्तिकारी केन्द्र निर्माण गर्छौ’

मोहन वैद्य ‘किरण’ महासचिव, नेकपा (क्रान्तिकारी माओवादी) नेपालमा १० वर्षे जनयुद्धमा नेतृत्वदायी भूमिकामा रहँदै शान्ति प्रक्रियापछि खुला राजनीतिमा आएका मोहन वैद्य अहिले नेकपा (क्रान्तिकारी माओवादी) को महासचिव रहेका छन् । गत मंसिरमा भएको निर्वाचनमा क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चा बनाएर भाग लिएपनि कुनै सिट जित्न सकेन भने समानुपातिकमा पनि कमजोर नतिजा आयो । अहिले वैद्यले विभिन्न साना कम्युनिस्ट पार्टीसँग एकताको तयारी थालेका छन् । यी विविध सन्दर्भमा वैद्यसँग लोकपथ डट कमले गरेको कुराकानीको सारसंक्षेप : हाल तपाईहरुको पार्टी के गर्दैछ ? निर्वाचनपछि हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्यो र यसले सांगठनिक फाँटमा बढी जोड दिनुपर्छ भनेर तीन महिने संगठन सुदृढिकरण अभियान चलाउने निर्णय गरेको छ । माघ, फागुन र चैतसम्म यो कार्यक्रम चल्छ । दोस्रो कुरा हामीले क्रान्तिकारी कम्युनिस्टहरुलाई एकीकृत र धुविकृत गर्नुपर्छ भन्ने हिसाबले पार्टी एकताको प्रक्रियामा लागेका छौं । सोही अनुसार विभिन्न पार्टीहरुसँग छलफल चलिरहेको छ । तेस्रो, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय जर्जर बन्दै गएका छन् । त्यसमध्ये पनि राष्ट्रियताको झनै जटिल बन्दै गइरहेको छ । यो अवस्थामा हामीले विषयवस्तु मिल्नेसँग कार्यगत एकता गरेर संयुक्त संघर्ष गर्ने दिशातिर पनि लागिरहेका छौं । भर्खरै विभिन्न स्थानमा पार्टीका कार्यक्रममा सहभागी भएर फर्किनुभएको छ, के कस्तो अवस्था पाउनुभयो ? आन्तरिक प्रकारका कार्यक्रममा गएर आएको हुँ, कसरी नयाँ जनवादी क्रान्तिको तयारी गरेर जाने भन्ने जिज्ञासा, जटिलता र चुनौती समेत रहेका छन् । यी सबैको सामना गरेर कसरी अघि बढ्ने भन्ने विषयमा साथीहरुले क्रान्तिकारी कोणले विषय उठाउनु भएको छ । कसरी रुपान्तरणको दिशामा जाने, कसरी क्रान्तिकारी पार्टीलाई एकताबद्ध गरेर जाने भन्ने साथीहरुमा चिन्ता छन् । पार्टीलाई अघि बढाउने क्रममा उहाँहरुले उठाएका विषय हामीलाई पनि राम्रै लागेको छ । तपाईहरुसँग यसको जवाफ के छ त ? हामीले पनि यी विषयलाई मूल्यांकन गरेका छौं । कतिपय जवाफका सन्दर्भमा साथीहरुले नयाँ कुरा पनि ल्याउनुभएको छ । ती पनि सकारात्मक नै छन् । जनताको विचमा जाने, कमीकमजोरी सच्याउने र संघर्षको नेतृत्व गर्ने र नयाँ जनवादी क्रान्तिको तयारीमा जाने भन्ने भन्ने विषय आएका छन् । हामी पनि त्यहि दिशामा छौं । लामो समयदेखि नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमो पक्षमा लामो समयदेखि बहस गर्दै आउनु भएको छ, तर तपाईहरुको पार्टी चाँही सानो सानो हुँदै गइरहेको छ, किन यस्तो भयो ? हामीले बहस मात्रै नभएर क्रान्तिको पक्षमा काम गर्दै आएका छौं । तर विशेष अवस्थामा यस्तो हुने गर्दछ । विगतमा पनि हामीले यस्तै सानो अवस्थाबाट पार्टी निर्माणको प्रक्रिया सुरु गरेका थियौं र समयक्रममा ठूलो भयौं । आजको युग भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । त्यसकारण यहाँ क्रान्तिकारीहरु मात्रै छैनन्, साम्राज्यवाद झनै बलियो अवस्थामा रहेको छ, क्रिया–प्रतिक्रिया छन् । अरुलाई चाँही शुद्धिकरणको प्रक्रियामा जानु्पर्ने आवश्यकता छैन, सबैलाई एकै ठाउँमा मिसाएर खिचडी पकाएपनि हुन्छ, तर क्रान्ति गर्नेहरुलाई र क्रान्तिकारी पार्टीलाई त्यस्तो सजिलो हुँदैन । जटिल र अफ्ठेरो अवस्थाबाट जानुपर्ने हुन्छ । हामीलाई पनि त्यही नै हो । क्रान्ति नगर्ने, सत्तामा जानेहरु एक ढंगले जान्छन् । क्रान्तिकारीहरुले भने नयाँ गोरेटो खोल्दै अघि बढ्नुपर्ने हुन्छ, हामी पनि नयाँ गोरेटो खन्दै अघि बढ्ने दिशामा भएकाले यस्तो देखिएको हो । समयक्रममा पुनः यो देशको नेतृत्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी यही हो । भर्खरै भएको चुनावमा तपाईहरुको पक्षमा परिणाम आएन, अबको पाँच वर्षसम्म कसरी जाने सोच्नु भएको छ ? चुनावको कुरामा तपाईले भनेजस्तै राम्रो परिणाम आउन सकेन । हाम्रा कमीकमजोरी र सीमा पनि रहे, सांगठनिक रुपमा केही कमजोर भएको अवस्था पनि छ । अर्को कुरा जनतामा कम्युनिस्ट भन्ने जति सबै एउटै हुन भन्नेजस्तो भ्रम पनि छ । अचानक वाम गठबन्धन भन्ने आयो र जनताले कम्युनिस्ट नै भनेर जनताले भोट पनि दिए । जनताले कम्युनिस्ट भनेर भोट दिएपनि उनीहरु कस्ता हुन्, के हुन् भन्ने अलग विषय हो । हामीले भण्डाफोर पनि भनेजति गर्न नसकेको अवस्था रह्यो । यो जटिल अवस्थामा आन्तरिक संघर्षका विचबाट अघि बढेको अवस्थामा जनतामा राम्रो ढंगले जान नसकेका समयमा जनताले हामीलाई भोट दिनैपर्छ भन्ने होइन । हामीले दुःख कष्ट गरेर जनताको सेवामा लाग्ने कुरा मुख्य हो । हामी अब पाँच वर्षमा फेरि चुनावमा जाने र कसरी बढी सिट ल्याउने भन्ने पक्षमा छैनौं, यो अवधिमा हामी कसरी रुपान्तरणको दिशामा जाने र त्यसका लागि के कस्ता तयारी गर्न सकिन्छ भन्ने ढंगले अघि बढ्ने र क्रान्तिको तयारी गर्ने दिशामा जान्छौं । शान्ति प्रक्रियामा आउनेवित्तिकै एमालेसँग एकता गर्ने प्रस्ताव आएको थियो रे, अनि तपाईले त्यसलाई रोकिदिनुभयो भन्ने विषय बाहिर आएको छ खास कुरा के हो ? ठ्याक्कै त्यस्तो प्रस्ताव त आएन, तर एक पटक संविधानसभाको निर्वाचनमा वामपन्थीहरुको तालमेल गरौं भन्ने कुरा आएको थियो, कतिपय साथीहरुले पार्टी एकताको कुरा उठाएका पनि थिए । त्यो बाहिरको कुरा होला भन्ने ठाने र एमालेसँग नै त कसरी साथीहरुले एकता गर्लान र भन्ने लागेको थियो । अहिले हेर्दा साँच्चै रहेछ कि जस्तो लाग्न थालेको छ । फेरि त्यसबेला एकताको कुरा गरेको भए त्यो सम्भव पनि थिएन । मैले थाहा पाउने गरी त्यस्ता कुरा अघि आएनन्, भित्रभित्रै त्यस्ता कुरा भएको भए भन्न सक्दिन, मलाई जानकारी हुनेगरी चाँहि त्यस्तो प्रस्ताव आएन । अहिलेचाँहि तपाईहरुलाई वामगठबन्धनमा सामेल हुने प्रस्ताव आएका छन् कि छैनन् ? अहिले एमाले वा माओवादी केन्द्रबाट त्यस्तो प्रस्ताव आएको पनि छैन र आयो भने पनि अहिले सम्भव पनि छैन । हामी यसलाई स्वीकार पनि गर्दैनौं । क्रान्तिकारी ध्रुविकरणका कुरा गर्नुभयो, कुन–कुन पार्टीसँग एकताको प्रक्रियामा अघि बढ्नुभएको हो ? हामीसँग एउटा विप्लवजीहरुको नेपाल कम्युनिस्ट पार्टी, दोस्रो ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा र तेस्रो चाँहि मोहनविक्रमजीले नेतृत्व गरेको नेकपा (मसाल) सँग पनि एकता र ध्रुविकरणको प्रयास गरिरहेका छौं । यसका साथसाथै अरु विभिन्न क्रान्तिकारीहरुसँग पनि हाम्रो एकता हुन सक्छ । माओवादी केन्द्र एमालेसँग एकतामा गएपनि त्यहाँ पनि क्रान्तिकारी रहेका छन् र उनीहरुसँग पनि एकताको प्रक्रिया अघि बढ्न सक्छ । यसबिचमा तपाईले एकताका विषयमा विभिन्न पार्टीसँग छलफल पनि गर्नुभयो, एकता भए कहिलेसम्म र नभए कहिले टुंगो लाग्ने अनुमान गर्नुभएको छ ? अहिले हुने÷नहुने भन्ने त केही छैन । हामी जुनजुन साथीहरुसँग छलफल गरिरहेका छौं, उहाँहरुसँग दुई वटा सल्लाह गरिरहेका छौं, पार्टी एकताको लक्ष्य लिएर जाने र अहिले तत्काल चाँहि कार्यगत एकता र संघर्षका कार्यक्रम संयुक्त रुपमा अघि बढाउने विषयमा छलफल सुरु गरेका छौं । त्यसका लागि केही समय लाग्छ । वाम एकताको कुरा गरिरहँदा एमाले वा माओवादी केन्द्रसँग पनि यस्ता विषयमा कार्यगत एकताको सम्भावनाको खोजी गर्नुभएको छ ? हामीले त्यस्तो सम्भावना देखेका छैनौं, अहिलेलाई एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामा छलफल चलिरहेको छ, हामीसँग विषय मिल्ने कुरा पनि भएन, छलफल भएको पनि छैन । तपाईहरुसँग एकताको प्रक्रियामा रहेका पार्टीहरुसँग चाँहि राजनीतिक, सैद्धान्तिक छलफल कसरी चलिरहेको छ ? तपाईहरुको विचारमा उहाँहरु सहमत हुने, तपाईहरु उहाँहरुको विचारमा सहमत बन्ने या विचको बाटो कुनै खोज्ने विषयमा के छलफल भएको छ ? हामीले यस बारेमा खासै छलफल गरेका छैनौं । हामीले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद र साम्यवादको दिशामा जानुपर्छ भन्ने धारलाई हेरेका छौं र एकताको आधार पनि त्यसैलाई बनाएका छौं । तर हामीले राजनीतिक, वैचारिक छलफल त गर्नैपर्छ । त्यसमा हामी सकारात्मक रुपले छलफल गर्छौै । अनावश्यक सम्झौता पनि नगरौं, एकअर्काले गरेका प्रगतिलाई पनि मानौं, नयाँ ढंगले क्रान्ति गर्ने हिसाबले जाऔं भन्ने कुरालाई आधार बनाउँदै अघि बढ्ने सोचेका छौं । ठ्याक्कै विषयवस्तुभित्रै पसेर छलफलको प्रक्रियामा सामेल भइसकेका छैनौं । तपाईहरु नयाँ जनवादी क्रान्ति भन्दै हुनुहुन्छ, विप्लवहरु एकीकृत क्रान्ति भन्दै अब समाजवादी क्रान्ति भन्दै हुनुहुन्छ, यी दुई विचारबिचको मिलनविन्दु कहाँ हुन्छ ? उहाँहरुले अब नयाँ जनवादी क्रान्ति पनि भन्नु भएको छ । नयाँ जनवादी क्रान्तिका विषयमा त्यहाँ कुरा मिल्छ, दोस्रो कुरा हामी वैज्ञानिक समाजवादमा जानुपर्छ भनेकै छौं । फेरि नयाँ जनवादी क्रान्ति भनेको वैज्ञानिक समाजवादी क्रान्तिको एउटा अभिन्न अंग हो । त्यसकारणले यी विषयमा हामी सकारात्मक रुपमा छलफल गर्छौ । नयाँ जनवादी नभनेको भए, एउटा कुरा हो, वैज्ञानिक समाजवादी क्रान्ति र नयाँ जनवादी क्रान्ति धेरै टाढाका विषय होइनन् । भर्खरै भएको भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण भएको छ र नेपालका पूर्वप्रधानमन्त्री समेत उनलाई भेट्न होटलसम्म धाएर पुगे । नेपालको राष्ट्रियता जोखिममा परेको भनिरहेका बेला भएको यो भ्रमणलाई कसरी हेर्नुभएको छ ? यो भ्रमण राजनीतिक र कुटनीतिक दुवै हिसाबले मिलेन । अचानक एउटा देशको परराष्ट्रमन्त्री आएर भोलि प्रधानमन्त्री हुने भन्ने व्यक्तिसँग भेट्ने तर यो कुरा वहालवाला प्रधानमन्त्रीलाई नै जानकारी नगराउने विषय कूटनीतिक र राजनीतिक दृष्टिले भने विचित्रको विषय हो । उहाँले त भेटेर जानुभयो, उहाँहरुले भेटेर गएको व्यक्ति नभएर अर्को व्यक्ति प्रधानमन्त्री पनि त हुन सक्छ । किनभने राजनीतिमा यस्ता विषय सम्भव पनि हुन्छन् । त्यसकारण यस्तो कुरा मिलेन, त्यहाँ केही न केही गडबडी हुनसक्छ । अर्को कुरा देशको हिसाबले भन्दा प्रधानमन्त्री जो सुकै र जुनसुकै पार्टीको भएपनि जानकारी नै नदिनु त प्रधानमन्त्रीको अपमान हो, र देशकै अपमान हो । राष्ट्रिय स्वाधिनताको विषय गम्भीर छ भन्ने कुरा यही देखिन्छ । फेरि पर्साको छपकैया, कञ्चनपुर, सिरहामा नेपाली भूमि कब्जामा परेका कुरा आइरहेका छन् । यी विषयहरुमा यहाँका पार्टीहरु गम्भीर बनेको देखिएन, उनीहरु उतैको मन्त्रणा लिने र सोही अनुसार चल्ने जस्तो अवस्था फेरि पनि देखिदै गएको छ । यसको सचेततापूर्वक भण्डाफोर गर्नुपर्छ । स्वराजको भ्रमणपछि एमाले–माके एकतामा समस्या उत्पन्न भयो र प्रचण्डले निर्णायक वार्ता गर्ने प्रसंग पनि आएको छ । एमालेसँग एकता भएन र प्रचण्ड विगतमा जस्तै फन्को मारेर क्रान्तिकारी लाइनमा आए पनि तपाईहरुसँग सहकार्य हुने सम्भवान छ ? एकता कसरी हुँदैछ, भाँडिन्छ या एकता हुन्छ भन्ने त हामीलाई यतिका धेरै जानकारी छैन । उहाँहरु आफैं प्रतिक्रियावादी शक्तिहरु खेलेका छन्, एकता भाँड्न खोजेका छन् र हामी सामना गरेर जान्छौं भन्दै हुनुहुन्छ । त्यसकारण त्यस्तो अवस्था आउला जस्तो त लाग्दैन । यदि भाँडिएछ नै भने पनि उहाँहरुको राजनीति त मिलेकै छ । एमाले, माके र काँग्रेसको राजनीति त उस्तै हो । अब उहाँहरुले हामीसँग एकता गर्न आउने कुरा त असम्भव लाग्छ । यदि त्यसो हो भने उहाँहरुले गम्भीर गल्ती ग¥यौं भनेर नयाँ जनावादी क्रान्तिको पक्षमा आफूलाई सच्याएर ल्याउन सक्नुभयो भने हामीले पनि सोच्न सक्छौं । एमालेसँगको एकताको सन्दर्भलाई माओवादी केन्द्रभित्र पनि विवादको अवस्था देखिन्छ । केही नेताहरु बाहिरिएका पनि छन्, उनीहरुमध्ये तपाईहरुसँग केहीको छलफल पनि भएको भन्ने छ । उनीहरुलाई नेपाली क्रान्तिमा गोलबन्द गर्ने तपाईहरुको कस्तो योजना छ ? माओवादी केन्द्रबाट नेताको स्तरमा यस्ता कुरा सार्वजनिक भएका छन् तर अरु धेरैको विषय प्रष्ट भइसकेका छैन । जे भएपनि गलत चिजका विरुद्धमा लड्ने कुरा जायज नै हो । तर उहाँहरु कुन स्तरमा र कहाँ पुग्नुभएको छ र विरोधका कोणहरु के हुन् भन्ने सबै कुरा जानकारीमा छैन । जहाँसम्म भेट भएका कुरा गर्नुभयो, सन्दर्भवस भेट भएका छन्, तर गम्भीर तरिकाले कुराकानी भएको छैन । मूल कुरा गलत चिजका विरुद्ध विद्रोह गरेर आउनुहुन्छ भने उहाँहरुलाई समेटेर जाने कुरामा हामी स्पष्ट छौं । माओवादी केन्द्रले जुन, गलत तरिकाले जाने अभ्यास गरिरहेको छ, त्यसविरुद्ध सचेत र क्रान्तिकारीहरु लामबद्ध रुपमा ढिलोचाँडो संघर्षमा आउनेछन्, विद्रोह गर्नेछन् र क्रान्तिको पक्षमा उभिनेछन् भन्ने कुरा निश्चित हो । अन्त्ययमा, तपाई नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी नेताको बिम्ब नै बन्नु भएको छ । अझै नयाँ जनवादी क्रान्ति भन्दै आउनु भएको छ । नयाँ जनवादी क्रान्ति कहिले पूरा होला, तपाईहरुले भनेको उद्देश्य कहिले हासिल होला भन्ने लाग्छ ? अहिलेको अवस्थालाई हेर्दा धेरै जटिलता र चुनौती छन् । हामीले पुरानो राज्यसत्ता र संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गर्दै आयौं, फेरि एउटा क्रान्तिको बिचबाट, जनआन्दोलन, जनयुद्ध गरेर आएपनि फेरि पुरानै राज्यसत्तातर्फ फर्काएको अवस्था छ । जुन साथीहरु क्रान्तिको नेतृत्वमा हुनुहुन्थ्यो उहाँहरुले नै प्रतिक्रान्तिको नेतृत्व गरेको अवस्था छ । चुनौती अवश्य छ, तर ति चुनौतीहरुको सामना गर्न सकिन्छ, तर केही समय लाग्छ । क्रान्ति आवश्यक पनि छ, सम्भव पनि छ । त्यसका लागि वस्तुगत र आत्मगत अवस्था मिल्नुपर्ने हुन्छ । केही तत्वहरुको आवश्यकता पर्छ, त्यसकारण कहिले होला भनेर भन्न नसकिएपनि नयाँ जनवादी क्रान्ति पूरा गर्दै, समाजवाद र साम्यवादको उद्दात्त आदर्शको दिशामा जान्छौं ।  

Leave a comment