मेयर आक्रमणमा कसको संलग्नता ? विप्लवको पार्टीले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं, २९ फागुन– कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि भएको आक्रामणबारे अहिलेसम्म केहि खुल्न सकेको छैन । घटना घटेको २४ घण्टा बितिसक्दा पनि अहिलेसम्म घटनामा कसको संलग्नता भएको हो भन्नेबारे प्रहरी मौन रहेको हो । सोमबार राती उनीमाथि घरनजिकै खुकुरी र गोली प्रहार भएको थियो भने गम्भीर अवस्थामा उनको नेपालगन्जमा उपचार भइरहेको छ । यसैबीच यही विषयमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार साँझ एक विज्ञप्ति जारी गरेको छ । नेकपा कैलालीले जारी गरेको विज्ञप्तिमा मध्यरातमा अपहरण शैलीमा गिरफ्तार गरेको र अन्य नेता तथा कार्यकर्ताको घरमा समेत सादा पोशाकको प्रहरी पठाएर घर छाड्न बाध्य बनाएको भन्दै आपत्ति जनाएको छ । राष्ट्रियरुपमै बद्नाम कैलालीको बोक्सी काण्डलाई ओझेलमा पार्न आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै बिना शर्त रिहाई गर्नसमेत माग गरेको छ । घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको सम्बन्धमा यसअघि ‘जनकारवाही गर्ने’ पार्टीको विज्ञप्तिलाई नै आधार मानी नेकपाका कार्यकर्तालाई पक्राउ गर्नु राजनैतिक पूर्वाग्रह मात्रै भएको विज्ञप्तिमा उल्लेख छ । साथै पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे कडा संघर्ष गर्ने पनि चेतावानी दिएको छ । यसअघि विप्लवको पार्टीले मेयरलाई जनकारबाही गर्ने व्यहोराको विज्ञप्ति निकालेको थियो । यद्यपी सो पार्टीले नै घटना घटाएको हो या अरु कसैले भन्नबारे प्रहरीले केहि बोलेको छैन । र, विप्लवको पार्टीले पनि घटनको कुनै जिम्मेवारी लिएको छैन । तर, प्रहरीले घटनालगत्तै नेकपाका कैलाली जिल्ला नेताहरु कमल क्षेत्री, भरत शाह र हृदय बोगटीलाई पक्राउ गरेको थियो ।

Leave a comment