राष्ट्र बैंकले आज वित्तीय बजारमा २० अर्ब रुपैयाँ निकास गर्दै

काठमडौं, ३० फागुन । नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत नाघेपछि राष्ट्र बैंकले रिपो मार्फत बजारमा २० अर्ब रुपैयाँ पठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा २२ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधीमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर पाँच प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले दुई साताको लागि उक्त रिपो जारी गर्न लागेको हो । जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । बुधबार जारी हुने रिपो चैत्र १४ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत पैसा खिच्छ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ । यो रकम प्रवाह भएपछि अन्तर बैंक कारोबारको ब्याजदर नियन्त्रणमा आउँने राष्ट्र बैंकको विश्वास छ ।

Leave a comment