काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको नीति र अनुशासन विपरित काम गरेको र सहकर्मीहरुलाई झुटा मुद्दामा फसाउन पदको दुरुपयोग गरेको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पार्टीबाट निलम्बन गरेको छ । पदको दुरुपयोग गरेको भन्दै पार्टी सदस्यबाट समेत निलम्बन गरिएको नेकपाले जनाएको छ ।
नेकपा रामेछाप जिल्ला कमिटी सदस्य समेत रहेका खड्कालाई प्रदेश नम्बर ३ कमिटीले ठाडो कारबाही गरी कार्यान्वयनका लागि जिल्ला कमिटीमा निर्देशन पठाएको हो ।
उनी गत स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । पार्टीको संरचनाभित्र नबस्ने, छलफलमा भाग नलिने र बाहिरबाट अनुशासनहीन गतिविधि नरोकिएपछि रामेछापमा पार्टी जोगाउन यस्तो कदम चाल्नुपरेको नेकपाका प्रदेश कमिटी सचिव आनन्द पोखरेलले जानकारी दिए ।
अध्यक्ष खड्काले गाउँपालिका उपाध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य दीपशिखा दाहाल, नेकपाका अर्का नेता धु्रव कार्की र वडा नम्बर ७ का झूठा मुद्दामा वडाध्यक्ष सुवास बोहोरालाई फसाउन पदको दुरुपयोग गरेको आरोप लागेको छ ।
अध्यक्षबाट असुरक्षित भएको भन्दै प्रशासकीय अधिकृत भुपेन्द्र राई गाउँपालिका फर्किएका छैनन् । एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीचको विवादका कारण गाउँपालिकाको कामसमेत एक महिनादेखि ठप्प छ ।
त्यस्तै दुरागाउँको विद्युतीकरणमा अनियमितता भएको र अनियमितता छानविन नगरी थप बजेट निकासा नगरौं भन्दा उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि नै आक्रमणमा उत्रिएको आरोप पनि उनीमाथि लागेको छ ।
निलम्बनपछि थप अझै छानविन जारी रहने र उनी नसुध्रिए पार्टी सदस्यबाट निश्कासन गरी पद रिक्त गराउने प्रक्रियामा अघि बढ्नुपर्ने चेतावनीसमेत पार्टीले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया