उपचारको साटो डाक्टरले दिए धम्की, ११ वर्षीय बालकको स्वास्थ्य जोखिममा

काठमाडौं– उपचारमा संलग्न चिकित्सकको चरम लापरबाहीले एक ११ वर्षीय बालकको स्वास्थ्यअवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।
भक्तपुरस्थित नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालका डाक्टर श्रीकृष्ण श्रेष्ठले नुवाकोटको विदूर नगरपालिकाका ११ वर्षीय बालक आशिष भट्टको शल्यक्रियाका क्रममा लापरबाही गरी देब्रे फिला करेन्टले पोलिदिएपछि अवस्था नाजुक बन्दै गएको हो ।
पोलेको डेढ महिना बितिसक्दा पनि डाक्टर र अस्पतालले कुनै जिम्मेवारी नलिएपनि समस्या उत्पन्न भएको हो । डाक्टर श्रेष्ठ र अस्पताल प्रशासनले सुरुमा पोलेको ठाउँको निशुल्क उपचार गरिदिने प्रतिबद्धता जनाएपनि हाल आएर अनेक बहानाबाजी गरेपछि समस्या उत्पन्न भएको हो ।
हाल बालकको पोलेको घाउ नराम्ररी पाकेको र स्वास्थ्य अवस्था नाजुक बन्दै गएको परिवारको भनाई छ ।
डा श्रेष्ठले साउन १० गते आशिषको हर्नियाको अपरेशन गरेका थिए भने सोही क्रममा फिलामा करेन्टले पोलेको थियो ।

बिरामीका आफन्त शम्भु अधिकारीले पोलेको बारे आफूहरुले साउन ११ गतेमात्रै थाहा पाएको बताए ।

उनका अनुसार यसबारे चिकित्सक श्रेष्ठ र अस्पताल प्रशासनका अन्य अधिकारीलाई जानकारी गराउँदा भूलबस यस्तो भएको भन्दै उपचार गरिदिने आश्वासन दिएका थिए । ‘त्यतिबेला सामान्य होला भन्ने लागेर चुपचाप बसियो । तर अहिले न उपचार भयो न जिम्मेवारी नै लियो’ अधिकारीले बताए ।

अस्पतालले आलटाल गरेपछि वीर अस्पतालमा देखाउँदा चिकित्सकले प्लाष्टिक सर्जरी गर्नुपर्ने सुझाएको बिरामीका अर्का आफन्त नारायण डोटेलले जानकारी दिए । उनका अनुसार पोलेको घाउ निको हुनुको साटो उल्टै पाकेपछि शुक्रबार वीर अस्पतालमा देखाउँदा सर्जरी गर्नुपर्ने चिकित्सकले सुझाएको र त्यसका लागि मंगलबार समय दिइएको छ ।

डोटेलले सुरुमा अस्पतालले गल्ती स्वीकार्दै घाउ निको पार्न सबै सहयोग गर्ने प्रतिवद्धता जनाएपनि पछि गैरजिम्मेवार बन्दै दुव्र्यवहार सम्म गरिएको आरोप लगाए ।

उनको दाबी अनुसार अस्पतालले उपचारमा वास्तै नगर्ने र दुर्व्यवहार नै गरेपछि भदौ २ गते बिना डिस्चार्ज अस्पतालबाट घर लगियो ।

उनले भने, ‘बिरामीको कुनै उपचार गरिएन । घाउ झन् बल्झिदा निको हुन्छ, जति बस्न परे अस्पताल बस्नु भनेर गैरजिम्मेवार जवाफ दिइयो । तर उपचारको भने कुनै चासो देखाइएन ।’

बालककी आमा सविता भट्टले डाक्टर भिजिटमा आउँदा समेत आफ्नो छोरालाई हेर्दै नहेरी जाने गरेको गुनासो गर्दै इन्फेन्सनको खतरा हुने बिरामीलाई सामान्य बेडमा राखेर गैरजिम्मेवार हर्कत पेश गरेको आरोप लगाइन् ।

शम्भुका अनुसार हर्नियाको अपरेशन सफल भएपछि पोलेको घाउ पनि सामान्य भएको भन्दै साउन १९ गते डिचार्ज गरियो । त्यसपछि फलोअपका लागि २६ गते बोलाइयो । फलोअपका लागि बोलाइँदा घाउ झन् बल्झेको देखिएपछि भर्ना गरियो । त्यसपछि नै उपचार निको हुन्छ भन्दै थामथुप पार्ने प्रयास गरिएपनि उपचार भने नगरिएको शम्भुले बताए ।

उनका अनुसार एकपटक वीर अस्पतालमा घाउ देखाउन पनि लगाइयो तर डाक्टर श्रेष्ठकै मिलेमतोमा त्यहाँका डाक्टरले पनि सामान्य हो भन्दै एउटा मह्लम लगाएर पठाइदिएको परिवारको दाबी छ ।

त्यसपछि परिवारले बिरामीको उपचार गरिदिन दवाव बढाउँदा झन् गलत व्यवहार गरेपछि बाध्य भएर घर ल्याएको शम्भुको भनाइ छ । यद्यपि अहिलेसम्म पनि अस्पतालले डिस्चार्जबारे कुनै कागज दिएको छैन ।

यस विषयमा डाक्टर श्रेष्ठ, अस्पतालका शाखा अधिकृत दीपेश श्रेष्ठ, डाइरेक्टर ज्ञानकृष्ण कायस्थलगायतले आफूहरुले अस्पतालको सामान्य कमजोरी रहेको र यसमा अस्पतालले धेरै दिन राखेर निशुल्क उपचार गरेको दाबी गरे ।
तर आफन्तले भने अपरेशनमा संलग्न डाक्टर श्रेष्ठ र अस्पतालविरुद्ध आइतबार मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएको छ । उजुरीमा अस्पतालले उपचारमा लापरबाही गरी फिलामा पोलिदिएको र उपचारमा नगरी गैरजिम्मेवारीपन देखाएकाले डाक्टर श्रेष्ठ र अस्पताल प्रशासनमाथि कडा कारबाहीको माग गरिएको छ ।

काउन्सिलमा परेको उजुरीबारे डाक्टर श्रेष्ठले आफूलाई उजुरीले केही फरक नपर्ने भन्दै उल्टै बिरामीलाई देखाएर धम्की दिए । उनले आफूले उपचारमा कुनै गल्ती नगरेको भन्दै चोखिने प्रयास समेत गरे ।
डाक्टरकै गल्तीले पीडित परिवारले हालसम्म एक लाखभन्दा बढी रकम अनाहकमा खर्च गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?