कोरोनाको कारण ध्वस्त शेयर बजार उकास्न के छन् उपायहरु ?

कोरोनाको कहरसँगै सबै देशको शेयर बजार ओरालो लाग्यो । कोरोना संक्रमणबाट बच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम विकल्प भएपछि संसारले नचाहेर पनि लकडाउनमा जानुपर्‍यो । वस्तु ओसारपसार र मानिसको आवागमन ठप्प भए पछि शेयर बजार पनि बन्द हुने नै भयो ।

नेपालमा चैत्र १० गतेबाट बन्द भएको शेयर बजार क्रमश थपिदै बैशाख २५ गते सम्म पुगिसकेको छ । ४५ दिन लगातार शेयर बजार बन्द हुँदै गर्दा लगानिकर्तामा छट्पटि बढ्दै गईरहेको छ । लकडाउनमा गएका कतिपय देशका शेयर बजार खुल्दै गएका छन् । नेपालको बन्द शेयर बजार प्रति अन्तर्राष्ट्रिय चासो पनि बढ्न थालेपछि लगानिकर्ता, ब्रोकर,नेप्से र नियामक निकाय पनि सक्रिय हुन थालेका छन् र सबैजसो शेयर बजार खोल्नुपर्छ भनी लबिङमा लागेको पाईन्छ ।

लगानिकर्ताको मानसिकता

शेयर बजारमा करिब करिब १८ लाख भन्दा बढि शेयरधनिको लगानि छ । संख्याको हिसाबले ९० प्रतिशत भन्दा बढि साना लगानिकर्ताहरु छन् । सानो सानो पूँजी शेयरमा लगानि गरि नाफा कमाउने र खाँचो परेको बेला बेचेर काम चलाउने प्रकृतिका लगानिकर्ता बढि छन् । पटक पटकको लकडाउन थपिसँगै तीनमा छटपटाहट बढ्दै गएको छ । उद्योग ब्यवसाय सबै बन्द छ । अधिकांस ब्यवसायीको केही न केही शेयरमा लगानि छ । नगद प्रवाह नभएको अवस्थामा सोहि शेयर बिक्रि गरि काम चलाउन खोज्नेको पनि हात बाँधिएको छ । त्यसैले सबैको ध्यान शेयर बजारतिर छ ।

अहिले शेयर बजार खोल्ने र नखोल्नेबीचको बहस व्यापक हुँदै गएको छ । शेयर बजारका पण्डितहरु, ब्रोकरहरु, ठूला लगानिकर्ताहरु कसैगरि पनि बजार खोल्नुपर्छ भन्ने लबिङमा छन् । फागुनमा ईण्डेक्स १६३२ हुँदा शेयर बेचेर बसेकाहरु घटेको बजारमा किन्ने दाउमा छन् । कोरोनाको त्रासमा बजार लकडाउन अघि १२५१ पुगेको र खुले पछि पुन घट्ने अनुमान गरेकाहरु जसरी नि बजार खोलाउन मरिहत्ते गरिरहेका छन् । ठूला लगानिकर्ता जो उद्योगी ब्यवसायी पनि छन् ती चाहिँ बजार खुलेपछि शेयर बिक्रि गरि आफ्नो खर्च धान्न र ब्यवसायको चालू पूँजी जोहो गर्ने सुरमा छन् ।

खरिद बिक्रि दुबैमा कमिशन कमाउने ब्रोकरहरुको आमदानी शून्य भएकोले उनिहरुलाई निन्द्रा लाग्न छोडेको छ । उनिहरु पनि कसैगरि बजार खोल्ने लबिङमा लाग्नु स्वभाबिकै हो ठुला लगानिकर्ता, शेयरपण्डित, ब्रोकर तथा अन्तर्राष्ट्रिय दबावको अगाडि नेप्से र नियामक निकाय सरकारको स्पष्ट निर्देशन नआएको कारण असहाय देखिन्छन् । तर पनि फेस सेभिङंको लागि बजार खोल्नेहरुको कित्तामा उभिएका छन् ।

तर अर्कोतिर रहेका लाखाँै साना लगानिकर्ता जो जहिले पनि बढ्दो बजारमा लोभमा परेर उच्च दरमा किन्ने गरेका छन् ती सबै एकदम त्रासमा छन् । देशको समग्र अर्थ व्यवस्था ध्वस्त भएको बेला बजार खुलेमा बढ्ने सम्भावना प्रति बिश्वस्त नभएका ती साना लगानिकर्ता कहिँ बजार क्रयास भएर आफ्नो पूँजी नै डुब्ने त हैन भनी भयभित छन् । त्यसैले केही ठोस संकेत नआई लकडाउन भरि बजार खुल्नु हँुदैन भन्ने मनासिकतामा छन् ।

बजार खोल्नुपर्छ पछाडिको तर्कहरु

ठूला लगानिकर्ता , ब्रोकर, नेप्से, नियमक निकाय समेत बैशाख २५ पछि लकडाउन होस् या नहोस् जुन अवस्थामा भएपनि निम्न कारणले शेयर बजार खोल्नुपर्छ भनिरहेका छन् ।

१. बजार खुलेपछि संक्रमण अवस्थामा पनि लगानि गर्ने उपयुक्त स्थान शेयर बजार नै भएकोले लगानिकर्ता उच्च मनोबलका साथ खरिद बिक्रिमा लाग्ने ।

२. विश्व परिवेशमा लकडाउन पछि खुलेका अधिकाशं देशका शेयर बजार बढेको छ, नेपालको बजार नि बढ्ने ।
३ नेपालको शेयर कारोबारको ८० प्रतिशत भन्दा बढि हिस्सा बैकं, विकास बैंक, लघु बित्त, बित्त कम्पनि, बीमा कम्पनिहरुको रहेको छ । यी सबै नाफामा रहने भएकोले बजार घट्ने संभावना नरहेको ।

४. कोरोनाको प्रारम्भसँगै फागुनको मध्यतिर रहेको शेयर ईण्डेक्स १६३२ र कारोबार रकम ४ अर्ब ८४ करोड थियो । कोरोना असर बढ्दै जाँदा घटेर १२५१ र रकम १९ करोड ४६ लाख भैसकेकोले कोरोना करेक्सन पहिले नै भैसक्यो । अब पून घट्ने संभावना नरहेको ।

५. लकडाउन अवधिमा कर्जा प्रवाह नभई बैंकहरुमा तरलता बढ्ने र बढेको फण्ड सजिलो ,छिटो र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने क्षेत्र शेयर नै भएकोले थप कर्जा प्रवाह हुने ।

६. विगतको ईतिहास हेर्दा पनि बियरिस ट्रेण्ड पछि बुलिस ट्रेण्ड आउने भएकोले अब बजार बढ्ने संभावना रहेको ।

७. अर्थतन्त्र सोचनिय अवस्थामा भएकोले शेयर बजारप्रति सरकारको पनि सकारात्मक प्रयास रहने र संस्थागत लगानिकर्ता नि प्रवेश गरि बजारलाई तल आउन नदिने ।

बजार खोल्न हुन्न पछाडिका तर्कहरु :
कोरोना समस्याको प्रभावकारी र ठोस ब्यवस्थापन नगरि बजार खोल्दा क्र्यास हुने संभावना र यसबाट लाखौँ सोझा साझा लगानिकर्ताको लगानि डुब्ने डरलाई नि बिचार पुर्याउनुु जरुरी छ ।

१. भारत लगायत विकसित देशको शेयर बजार पुर्णत स्वचालित भई सकेकोले घर घरबाट कारोबार गर्न सक्ने भएकोले लकडाउनमा पनि कारोबार संचालन गरे । हामीकहाँ शेयर अर्डर र ईडिआईएसबाट शेयर ट्रान्सफर बाहेक सबै म्यानुअल तरिकाले सम्बन्धित कार्यालयमा गएर गर्नुपर्ने भएकोले लकडाउन हुन्जेल कारोबार गर्न गराउन संभव नै नहुने ।

२. अमेरिका भारत लगायत धेरै देशले करोनाको कारण ध्वस्त अर्थ ब्यवस्थालाई पुनरुत्थान गर्न राज्यको ढुकुटिबाट अर्बौ खर्बौ स्टिमुलस नगद लगानि गर्ने घोषणा गरे । लकडाउन पछि बजार खोल्दा ईण्डेक्स बढेको देखियो । भारतिय रिजर्भ बैकंले ५०००० करोड, अमेरिकाले १ खर्ब डलर, मलेशियाले ४.६ अर्ब डलर, टर्किले १५.४ अर्ब डलर, ईटलिले २७.३ अर्ब डलर जस्तै प्राय धेरै देशले उद्योग ब्यवसाय र बेरोजगारलाई राहत दिने भए । हामीकहाँ लकडाउन भएको ४० दिन भईसक्दा पनि सरकार र केन्द्रिय बैकं उद्योग ब्यवसाय र पिडित वर्गलाई बचाउन राहतको ठोस कार्यक्रम र थप लगानिको घोषणा गर्न सकेका छैनन् । अनि के आशामा बजार खुलेपछि बढ्ने हो, क्र्यास नै हुने धेरै संभावना रहेको ।

३. शेयर कारोबार पोर्टफोलियोको ८० प्रतिशत बैकं, विकास बैक, फाईनान्स कम्पनि, लघु वित्त, र बीमा कम्पनिको छ । अहिलेसम्म हेर्दा सुरक्षित देखिन्छन् । सबैको अनुमान बजार खुल्दा यी कम्पनिको शेयर मूल्य घट्दैन । ११ चैत्रबाट लकडाउन भएकोले पहिलेको मुनाफा र प्रोभिजनमा चलखेल गरि तेश्रो क्वाटरको ब्यालेन्सीट राम्रो आउला । तर ऋणको ब्याज दर कटौती, शून्य सावा ब्याज असुली, अन्य जिरो आम्दानी र लकडाउन पछिको चेन असरले २०७७ आषाढमा प्रोभिजनमा चलखेल गरिएन भने सबैको वित्तिय अवस्था नाजुक हुने निश्चित छ ।त्यसैले २०७६ चैत्रको बासलात हेरि शेयर खरिद गर्ने सबै फस्ने पक्का छ । अनि खुलेको बजारमा टाठा बाठा बिक्रि गरि निस्कने र फस्ने चाहिँ उहीँ सोझो साना लगानिकर्ता नै हुने ।

बजार खोलाउने र टिकाउने उपायहरु : 

शेयर बजारमा माग र आपुर्तिले कारोबारको मात्रा र ईण्डेक्सलाई निर्धारण गर्ने हो । माग राम्रो हुनलाई कम्पनिको परफरमेन्स, ईमेज र प्रतिफल राम्रो हुनु जरुरी छ । पूँजी बजार प्रति नियामक र सरकारको सकारात्मक साेंच र सोही अनुसार नीति र कार्यक्रम आउनु पर्छ । अनि समग्रमा देशको अर्थतन्त्रको भबिष्य राम्रो देखिनुपर्छ । विकसित मूलुक जस्तो शेयर बजार हामी कहाँ अझै परिपक्व हुन सकेको छैन ।

नियामक निकाय र मन्त्रीहरुले नसोचेर जे पनि बोलिदिने, कम्पनिहरुको भित्रि सूचनाको गलत तरिकाले प्रयोग हुने, शेयर खेलाडीहरु नै सञ्चारमाध्यममा बनावटि समाचार निकाल्न लगाई शेयर कारोबारलाई प्रभावित गर्ने कार्य हामी कहाँ सामान्य कुरा भैसकेको छ । त्यसैले यी सबै कुराहरुलाई विचार गरि लकडाउन खुलेपछि मात्र निम्नानुसार वातावरण नि बनाउँदै जाने र सुरुमा सिमित कारोबार गर्दै लगानिकर्ताको मनोबल बढाउँदै कारोबार बृद्धितर्फ लाग्नुमा नै सबैको हित छ ।

१. केन्द्रीय तथ्याङ्क बिभागले हालै मात्र ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य कोरोनाको कारण २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । भन्नुको अर्थ कृषि बाहेक सबै क्षेत्र गम्भिर संकटमा पर्ने देखिन्छ । कोरोना प्रभावित देशले अर्थतन्त्र उकास्न जीडिपिको १४ प्रतिशत सम्मको स्टिमुलस लगानि गरेका छन् । नेपालले पनि कुल जीडिपि ३२ खर्ब ९ अर्बको ३ प्रतिशत बराबर १ खर्बको राहत प्याकेज बैंक, उद्योग ब्यवसाय, बेरोजगार व्यक्ति, कृषक र श्रमिकको लागि घोषणा गर्नुपर्छ । यसले लकडाउनपछि खुल्ने शेयर बजारलाई उकास्न मदत गर्छ ।

२. शेयर कारोबार पुर्णत स्वचालित गर्ने भनेको पनि लामो समय भैसक्यो । अब निश्चित समय तोकेर बैंक, ब्रोकर, लगानिकर्ता, डिपि, सिडिएससि र क्लियरिङ बैंक खातासँगको ईन्ट्रेगेशन छिटो गर्ने र आईपियस भुक्तानिको सिमा बढाउन प्रयास गर्ने ।

३. सबै लगानिकर्ताको मेरो शेयरमा खाता खोल्न लगाउने र खाता हुनेको रु १०० लिएर गरिने नबिकरण यो पटकलाई स्वतः गर्ने वा आषाढभित्र शुल्क लिने गरि गर्ने ।

४. शेयर कारोबार बढाउन बैंक कर्जाको ठूलो भुमिका हुन्छ । ६५ प्रतिशतसम्म कर्जा र २० प्रतिशत घट्दासम्म मार्जिन कल नगर्ने ब्यवस्था रहेको छ । शेयर कर्जाको जोखिममा बैंकलाई पनि सुरक्षित राख्ने गरि हालको शेयर मूल्यको रकममा सावा ब्याज गरि ८० प्रतिशत भित्र हुने गरि नबिकरणको सुबिधा दिनुपर्ने । थप शेयर कर्जा दिन नेपाल राष्ट्र बैंकले सरल प्रक्रियाको निर्देशन जारी गर्नुपर्ने ।

५. विकसित देशमा नगद लाभाशंले शेयर मूल्य बढ्छ भने हामी कहाँ बोनस शेयरले बजार बढाउँछ कोरोनाको असरबाट बैकिङ क्षेत्रको वित्तिय सन्तुलन कायम राख्न तथा तरलताको कमि हुन नदिन भारतको केन्द्रीय बैंकले नगद लाभाशंमा रोक लगाई सक्यो । नेपाल राष्ट्र बैकले बैकिङ क्षेत्रमा, बीमा समितिले बीमा कम्पनिमा र सरकारले दुरसंचार, नागरिक लगानि कोष लगायतमा नगद लाभांश वितरणमा रोक लगाउनु पर्छ । बोनस शेयरको आशामा बजार घटन पाउँदैन ।

६. लकडाउन पछि शेयर बजार पूर्ण रुपमा खोल्दा कोरोनाको भयावह असरको कारण अझै क्रया्स हुने ठूलो संभावना छ।संकटको अवस्थामा नियन्त्रित कारोबार गर्नू, उत्तम हुन्छ । अत पहिलो हप्ता १ घण्टा कारोबार समय र एक ब्यक्तिले प्रति कम्पनि ५०० कित्ता खरिद बिक्रि गर्ने, दोश्रो हप्ता २ घण्टा १००० कित्ता, तेश्रो हप्ता ३ घण्टा ३००० कित्ता र चौथो हप्ता देखि पुर्णकालिन खोल्दा असर कम हुँदै जान्छ र संभावित क्र्यासलाई रोक्न नि सकिन्छ । १० प्रतिशतको सर्किट ब्रेकरलाई केहि समय ५ प्रतिशतमा राखि अनुगमन र नियन्त्रण गर्न सकिने ।

७. शेयर बजारमा लगानिकर्ताको मनोबल उठाउन र बजारलाई गिर्नबाट जोगाउन संस्थागत लगानिकर्ता, डिलर, मार्केट मेकर, म्युचुअल फण्ड, बीमा कम्पनि, संचयकोष लगायतलाई लगानि गर्न प्रोत्साहन गर्ने तथा सरकार र राष्ट्र बैंकले नीति नियम बनाउँदा शेयर बजारलाई सपोर्ट हुने गरि बनाउने र सकारात्मक रुपमा सार्र्वजनिक धारणाहरु राख्ने ।

८. सरकारको राजश्वको स्रोत कम हुँदै गएको छ । पूँजीगत लाभ कर घटाउन नसकिए पनि व्यक्तिगत लगानिकर्ताको अग्रिम काटिएको करलाई अन्तिम मानिने ग्यारेन्टि गर्दापनि लगानिकर्ताको मनोबल बढ्ने देखिन्छ ।

यसरी समग्रमा भन्नुपर्दा देशको ढुकुटिबाट उद्योग व्यवसाय , बैंक र अन्य क्षेत्रलाई ठोस राहतको घोषणा गरी शुरुको केही दिन नेप्सेमा नियन्त्रित कारोबार गरी क्रमश बढाउँदै लग्दा क्र्यास हुनबाट जोगाउँछ र लगानिकर्ताको मनोबल पनि बढि सबैको हित हुने देखिन्छ ।

यसअघि लोकपथमा प्रकाशित भट्टराईका यो आलेख छुटाउनुभएको थियो की ?

‘रोजगारी वृद्धि गर्न कृषिमा क्रान्तिकारी परिवर्तन गर्नैपर्छ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?