काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औँ बुद्ध जयन्तीको अवसरमा साँझ ७ बजे देशभर दीप प्रज्वलन गरिएको छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । यसैक्रममा प्रधानमन्त्री निवास बालुवाटारमा पनि बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाको शान्तिका लागि दीप प्रज्वलन गरिएको हो ।
यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत ठाउँमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर पूजालगायत विधि मात्र पूरा गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यसैबीच सरकारले आज बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाको शान्तिका लागि आज बेलुकी सात बजे घरघरमा दिपावली गर्न आग्रह गरेका थिए ।
नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीव्र बनेसँगै थप सतर्कता अपनाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको सुरक्षार्थ सरकारले गएको चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई आउँदो जेठ ५ गतेसम्म लम्ब्याइको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया