काठमाडौं । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीले संविधान, लोकतन्त्र र कानुन विरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दे नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने तर्क गरेका हुन् । उनले लोकतन्त्र र कानुन विरोधी क्रियाकलापलाई तार्किक निष्कर्षमा पुर्याउन सत्ताको दुरुपयोग नगरी राजनैतिक नैतिकता देखाउन प्रधामन्त्रीलाई आग्रह गरे । लोकतन्त्रको सुनिश्चिता गर्दे मुलुकलाई राजनीतिको सही बाटोमा हिडाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क उनको थियो । कुर्सीमा बस्दैमा पद ठूलो नभएको भन्दै उनले सत्कर्म गरेर इतिहास बनाउन प्रधानमन्त्रीलाई सुझाव दिए ।
उनले भने “तपाई जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुहोस् । तपाईले अनावश्यक ढंगले यस्ता प्रकारका गतिविधिमा संलग्न हुदा तपाईले आफै माथि पनि अन्याय भएको छ । तपाई रोगले जिर्ण भएको शरिरलाई तपाईले आराम दिनुपर्छ । र यो लोकतन्त्रलाई बचाएर र आफ्नै छबिलाई पनि बचाएर अगाडि बढाउनका लागि निम्ति तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो नै एउटा उचित निकास हुन्छ । ”
कोरोना संक्रमणको जटिल अनि संवेदनशील समयमा मानविय सवालमा केन्द्रीत हुनुपर्नेमा मुलुकमा अत्यन्तै गम्भीर प्रकृतिका घटना भएको भन्दै उनले समयमै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने आवश्यता औल्याए ।
उनले भने “हाम्रो देशको कार्यकारी नेतृत्व रातभर पार्टी फुटाउने षडयन्त्र गरेर बस्छ र संबैधानिक अंगहरु कब्जा गरेर आफ्नो मनोखुसीले समय संबैधानिक अंगमा नियुक्ति गरेर निरंकुशता तर्फ देशलाई लैजान सक्छ भन्ने भाव पैदा हुनु लोकतन्त्रको निम्ति शुभ संकेत होइन । ”
अध्यादेश जारी प्रकरणले ठूलो अनिष्टको संकेत गरेको भन्दै उनले फिर्ता भईहाल्यो भनेर छोड्न नहुने बताए । प्रधानमन्त्री स्वयम्ले आफ्नो नभई अरुको पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्नुले प्रधानमन्त्री माथि नैतिकताको प्रश्न उठेको टिप्पणी उनले गरे । लकडाउनको समयमा काठमाडौं देखि तराईका जिल्ला पुगेर रातारात सांसदलाई काठमाण्डौमा ल्याएको घटनाले नै सबै कुरा स्पष्ट गरेको भन्दै उहाँले त्यसलाई कानुनी प्रक्रिया अनुसार समाधान गर्न आग्रह गरे।
पुर्व प्रधानमन्त्री जाहेरी दिन जाँदा प्रहरीले नलिएको प्रसंग उल्लेख गर्दे उनले सरकारबाट सुरक्षा निकायहरु प्नि आतंकित बनेको दाबी गरे । उनले सरकारले सुरक्षा निकाय लगायतका संघसस्थाहरु भत्काएर लोकतन्त्र कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले भने “जो पीडीत छ तीनै माथि पनि मुद्धा लगाईदिने । अनि प्रत्यक्ष परोक्ष ढंगले पहल गर्ने । अब फच्चे गरौ । तपाईले पनि फिर्ता लिनु म पनि फिर्ता लिन्छु । यही हो लोकतन्त्र ? यही हो हाम्रो समाजवाद ?”
सबै कुराको फैसला राजनीतिले नै गर्ने भएपनि नेतृत्वको पदलोलुपता र स्वार्थ केन्द्रीत कार्यशैलीका कारण जनताको नजरमा सबै राजनीतिज्ञहरुको छबि बिग्रिदै गएको र त्यसको परिणाम खतरनाक हुने चेतावनी दिए ।
उनले भने “ निर्वाचित सरकारको छबि राम्रो छैन । हामीले बोलेको कुरा अहिले कसैले पनि विश्वास गर्दैन । राजनीतिज्ञ, सांसद आदि भनेको सबै भ्रष्ट, गैहजिम्मेवार, सत्तालोलुप, पदलोलुप भन्ने खालको एउटा बिम्ब बनेको छ । त्यो अत्यन्तै खतरनाक छ ।”
उनले राजनीतिप्रति नै मान्छेको अविश्वास, आशंका र वितृष्णा फैलियो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेर म्ुलुक प्रतिगमन तर्फ जाने खतरा रहेकाले त्यो खतराबाट मुलुकलाई जोगाउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया