भारतको प्रतिक्रिया : नेपालको भूमि मिचिएको छैन

काठमाडौं । भारतले चीनको मानसरोबरसम्म विस्तार गरेको सडकमार्ग बनाउँदा नेपाली भूमि नमिचेको दावी गरेको छ । उनले सडक बनाइएको भूमि नेपाली नभएको स्पष्ट पारेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै सडक निर्माण गर्ने भारतीय पक्षको कदमप्रति आपत्ति जनाएको थियो । जवाफमा भारतले सडक निर्माण गरिएको भूभाग उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको आफ्नै भूभाग रहेको दाबी गरेको छ ।

भारतको विदेश मन्त्रालयका विशेष प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘९ मेइ २०२० मा नेपालको परराष्ट्र मन्त्रालयले भारतमा सडक उद्घाटनसँग सम्बन्धित रहेको जारी गरेको विज्ञप्ती हामीलाई प्राप्त भएको छ । भर्खरै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा उद्घाटन भएको सडक सम्पूर्ण रुपमा भारतीय भूभागमा पर्छ । यो रुट कैलाश मानसरोवर जाने धर्मालम्बीले प्रयोग गर्दै आएका थिए । वर्तमान परियोजनाअन्तर्गत सोही रोडलाई दर्शनार्थी, स्थानीय र व्यापरीलाई सहज हुनेगरी बनाइएको हो । ’

विज्ञप्तीमा सीमानाका विषयमा छलफल गर्न नेपाल र भारतले संयन्त्र स्थापना गरेको र सीमाका विषयमा छलफल चलिरहेको उल्लेख छ । त्यस्तै, सीमा विवादलाई कुटनीतिक संवादबाट टुंग्याउन भारत प्रतिवद्ध रहेको पनि उल्लेख छ ।

आजै नेपाल सरकारले लिपुलेक नेपाली भूभाग रहेको भन्दै सहमति बेगर भारतले सडक निर्माण गरेको बताएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?