संसदमा गगन थापाको आक्रोश: ‘रक्षामन्त्रीको सीमा निरीक्षण थियो कि तीर्थयात्रा’

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले भारतले नेपाली भूमीमा सडक बनाएको विषयमा संसदमा आवाज उठाएका छन् ।

आइतवार बिहान बसेको प्रतिनिधिसभाको बैठकमा उक्त विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै केही महिना पहिले रक्षामन्त्री पोखरेलले गरेको सीमा निरीक्षण थियो कि तीर्थयात्रा भन्दै प्रश्न गरेका छन् ।

यसै सन्दर्भलाई उद्रुत गर्दै उनले भने, भारतको अतिक्रमणको घोर भत्सर्ना गर्दछु । केही समयअघि रक्षामन्त्रीले सो ठाउँको अवलोकन गर्नुभएको थियो । के त्यो तीर्थयात्रा थियो ? थिएन भने सरकारलाई उहाँले के बताउनुभयो ? र सरकारले त्यो बीचमा के काम गर्‍यो ? भारतले त प्रष्ट भनिसक्यो, हामीले हाम्रो भूभागमा बनाएका हौँ, अब संक्रमण सकिएपछि तपाईहरुसँग छलफल गरौंला । के नेपालले अब रिग्रेड गरेर मात्र बस्ने हो वा हाम्रो भूमि तिमीहरुलाई दिँदैनौँ भनेर प्रतिरोध गर्ने हो ?’

साथै थापाले भारतले नेपालमा बेलाबेला गर्ने दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस तयार रहेकोसमेत स्पष्ट पारेका छन् ।

संसदमा सम्बोधन गर्दै थापाले नेपाली भूमी एक इन्च पनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भन्दै आक्रोश व्यक्त गरेका छन् । “भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस र सिंगो नेपाली जनता तयार छ । सरकारले हामीसँग के अपेक्षा गरेको छ, हामी जान्न चाहन्छौं ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?