नेपालमा कोरोना : पुरुष संक्रमित धेरै, कुन प्रदेशमा कति पुगे (विवरणसहित)

काठमाडौं – नेपालमा हालसम्म २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधबार) मात्रै नेपालमा बाँके र कपिलवस्तुका २ जना संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको कविलवस्तु नगरपालिका- ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै बाँके जिल्लाको नेपालगञ्ज निवासी ३६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय १९ पुगेको हो ।

तिमध्ये ३५ जना निको भएका छन् । पछिल्लोपटक वुटवलमा उपचाररत २४ वर्षिय पुरुष ११ औँ दिनमा निको भएर डिस्चार्ज भएका छन् । यस्तै चितवनमा उपचाररत महिला २६ औँ दिनमा निको भएर घर फर्केपछि हालसम्म कोरोनालाई जित्नेको संख्या ३५ पुगेको हो ।

हालसम्मको तथ्यांक हेर्दा नेपालमा पुरुष संक्रमितको संख्या बढी देखिन्छ अर्थात् कुल संक्रमितमध्ये १७६ जना पुरुष र ४३ जना महिला संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म पुष्टि भएका संक्रमितमध्ये २ महिने शिशुसहित ८४ वर्षिया बृद्धासम्म रहेका छन् । तर संक्रमितहरुमध्ये अधिकांश २० देखि ४० उमेर समूहका रहेका छन् ।जिउँदो शिशुलाई मृत घोषणा गरेपछि ...

यसैबीच मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश नम्बर १ मा ३५ जना संक्रमित रहेको जनाएको छ । ति संक्रमित झापा, भोजपुर र उदयपुरका हुन् ।

यस्तै प्रदेश २ मा ९६ जना संक्रमित छन् । ति सप्तरी, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्साका छन् ।

यस्तै वाग्मती प्रदेशमा ९ जना संक्रमित छन् उनीहरु काठमाडौं, भक्तपुर, धादिङ, चितवनका छन् ।

यस्तै गण्डकी प्रदेशका २ जना रहेका छन् । उनीहरु दुवैजना बाग्लुङका हुन् ।

प्रदेश ५ मा ७२ जना संक्रमित छन् । उनीहरु कपिलवस्तु, रुपन्देही बाँके र बर्दियाका छन् ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म २ जिल्लामा कोरोना संक्रमण देखिएको छ । कैलाली र कञ्चनपुरका ५ जनालाई संक्रमण पुष्टि भएको छ।


हालसम्म पिसीआर विधीबाट २१ हजार ३ सय ४० जनामा परिक्षण गरिएको छ ।

आरडिटी विधीबाट ६० हजार ३ सय १९ जनामा परीक्षण गरीएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामामात्रै २ हजार ३ सय ५७ जनामा पिसीआर विधीबाट जाँच गरिएको छ ।

आरडिटी विधीबाट गत २४ घण्टामा ६ सय ९२ वटा जाँच गरिएको छ । यसरी२४ घण्टामा मात्रै दुवै विधीमार्फत् कुल ३ हजार ४९ जनामा परीक्षण गरिएको छ ।

प्रदेश १ मा हालसम्म ८ हजार ३ सय २० जनामा परीक्षण गरीएको छ । प्रदेश २ मा ५ हजार ९ सय ३७ जना, वाग्मती प्रदेशमा ९ हजार ३सय ६३ जना, गण्डकी प्रदेशमा ६ हजार ५ सय २६ जना, प्रदेश ५ मा ७ हजार २ सय २९ कर्णाली प्रदेशमा ७ हजार २ सय २९ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३ जनामा कोरोना जाँच गरिएको छ ।

डाक्टर देवकोटाका अनुसार आज १४ हजार ३ सय १३ जना क्वारेन्टाईनमा छन् । प्रदेश १ मा ९ सय ५९ जना, प्रदेश २ मा १ हजार ५ सय ७४ जना, वाग्मती प्रदेशमा १ सय १ जना, गण्डकी प्रदेशमा २ सय ७९ जना, प्रदेश ५ मा ६ हजार ९ सय ८९ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ जना, सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना क्वारेन्टाईनमा बसेका छन् ।

यस्तै संभावित, पुष्टि भएका र शंकास्पद बिरामीको संख्या २ सय ४५ रहेको छ । तिमध्ये ६ जना काठमाडौंमा र २ सय ३९ जना काठमाडौं बाहिरका विभिन्न जिल्लामा रहेका छन् । उनीहरु चिकित्सकको निगरानीमा आईसोलेसनमा रहेका छन् ।

यसरी आईसोलेसनमा बस्नेहरुमध्ये प्रदेश १ का २१ जना, प्रदेश २ का ९८ जना, वाग्मती प्रदेशका २५ जना र प्रदेश ५ का १०१ जना रहेका छन् ।कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा मन्त्रालयले सचेत हुन सबैसँग अनुरोध गरेको छ ।

यस्तै मन्त्रालयको मोबाईल एप्लिकेसन हाम्रो स्वास्थ्यमा र वेवसाईटमा हालसम्म ३५ हजार ७ सय २३ जनाले विवरण भरेकोमा हालसम्म ३५४ जना रेड जोनमा परेका छन् । गत २४ घण्टामा मात्रै ७ सय ९२ जनाले यस्तो विवरण भरेकोमा ९ जना रेड जोनमा परेका छन् ।

डाक्टर देवकोटाले थपे, “मन्त्रालयको कोभिड १९ क्राईसिस म्यानेजमेन्ट मा हालसम्म १ सय ५८ जना संभावित संक्रमित रहेको र तिनको ट्रेसिङ गर्ने रअरु जानकारी लिने काम भइरहेको छ ।”

विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधवार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए ।

अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्त राज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?