काठमाडौं – नेपालका तर्फबाट एकीकृत धारणा बनाउन सबै दलको राय लिने उद्येश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलिय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भूमिमा कुनै विवाद नभएको भन्दै सरकारले तत्काल भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने बताएका छन् ।
भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जान सडक गत शुक्रवार उद्घाटन गरेपछि प्रधानमन्त्रीले यसबारेमा छलफल गर्न सर्वदलिय बैठक बोलाएका थिए ।
सोहि बैठकमा आफ्नो कुरा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले नेपाली भूमिमा कुनै विवाद नभएको प्रष्ट्याउँदै भने, “सरकारले त्यहाँबाट भारतीय सेना फिर्ता पठाउन पहल गर्न ढिला नगरोस् । नेपाललाई बाहिर राखेर भारत९चीनबीच व्यापारिक नाका बनाउने सम्झौता भएको विषय उल्लेख गर्दै देउवाले भने सरकारले लिपुलेकका विषयमा चीन र भारत दुबैलाई राखेर संवादमार्फत समस्या समाधान गर्नुपर्छ ।”
उनले सञ्चारकर्मीसँग भने, “काली नदी वारीको भू – भाग नेपालकै हो ।” तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलिय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीको सहभागिता छ ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपाका अन्य शीर्ष नेताहरु रहेका छन् । साथै अन्य साना दलहरुको समेत उपस्थिती रहेको छ ।
नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविद्लाई बोलाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया