यस अघि जारी गरिएका सबै सवारी पास रद्द !

काठमाडौं । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारी साधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।

आज बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

‘जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता पाउने छैनन् । अब पास बाहकले जिल्लाभित्रै पनि सो पास प्रयोग गर्न पाउँदैनन्’, उनले भने । सरकारले जारी गरेको लकडाउन जेठ ५ सम्म छ भने फेरि पनि लकडाउन थपिने बताइएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । यसअघि खुकुलो बनाइएका क्षेत्रहरु भने कोरोना संक्रमितको दायरा बढेसँगै बन्द गर्न थालिएको छ ।

नेपालमा हालसम्म २ सय ४६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म ३५ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?