भाइबरले शुरु गर्‍यो स्थानीयकृत युजर इन्टरफेस

काठमाडौं । नेपालमा राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ युजर इन्टरफेसको शुरुवात गरेको छ । जसले प्रयोगकर्ताहरुलाई एपमार्फत् नेभिगेट गर्न र आफूलाई मनपर्ने व्यक्तिसँग सहज रुपमा कुराकानी गर्न अनुमति प्रदान गर्छ ।

यो नयाँँ युजर इन्टरफेसका साथमा भाइबर प्रयोगकर्ताहरुले अब आफ्ना परिवार, साथीभाइ, र सहपाठीहरुसँग यो लोकप्रिय मैसेजिङ्ग एपलाई नेपाली भाषामा परिवर्तन गरी अझ धेरै उत्साहपूर्वक संलग्न हुन सक्नेछन् । उनीहरुले यो कार्यलाई एपको ‘सेटिङ्ग’ मा गएर र उनीहरुका पूर्व निर्धारित भाषा चयन गरेर पूरा गर्न सक्ने भाइवरले जनाएको छ ।

विश्वव्यापी रुपमा कोभिड–१९ को फैलावट रोक्न र नागरिकको स्वास्थ्य र सुरक्षालाई अझ सुनिश्चित् गर्न विश्वका सबै मुलुकहरुले सामाजिक दूरीको कडाईपूर्वक पालना गरिरहेको सन्दर्भमा भाइबर एपको प्रयोग उल्लेखनीय रुपमा वृद्धि भएर एक रेकर्ड नै कायम गरेको भाइवरले जनाएको छ । गएको २ सातामा सामूहिक सन्देश १३४ प्रतिशतभन्दा धेरै र सरदर भाइबर प्रयोगकर्ताले प्राप्त गर्ने सामूहिक कलको संख्या ३७० प्रतिशतले बढेको र समुदाय संलग्नताको सरदर संख्या ७८ प्रतिशतले वृद्धि भएको जनाइएको छ । यो नयाँ तथा स्थानीयकृत युआइको शुरुवातसँगै भाइबरले नेपाली प्रयोगकर्ताहरु बीच इन–एप क्रियाकलापहरुमा अझ धेरै उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ ।

एक निर्दिष्ट बजारको लागि एपलाई स्थानीयकृत गरी प्रत्येक प्रयोगकर्ताका निम्ति सन्तुष्टिपूर्ण अनुभूति उपलब्ध गराउनु भाइबरको लागि एक महत्वपूर्ण कदम भएको भाइवररको दावी रहेको छ । यो नयाँ युआइले भाइबरको एक उदयमान बजार नेपालमा प्रयोगकर्ताहरुलाई सजिलोसँग एप नेभिगेट गर्न सक्षम बनाउनेछ, जसले गर्दा उनीहरु प्रत्यक्ष अन्तरक्रिया गर्न असम्भव भएको अवस्थामा अरुहरुसँग बलियो सम्पर्क बनाउनमा केन्द्रित हुन सक्छन् ।

“विशेष गरेर अहिलेको चुनौतीपूर्ण समयमा प्रत्यक्ष देखादेख गरेर कुराकानी गर्न कठिन भइरहेको अवस्थामा नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गर्दै स्थानीयकृत गरिएको भाइबर इन्टरफेस शुरुवात गर्न पाउँदा हामीलाई गौरव महसुस भएको छ ।” राकुटेन भाइबरका प्रमुख ग्रोथ अफिसर आना जमेंस्कायाले भने । “भाइबरले सदैव आफ्नो बजारको संस्कृति र आफ्ना प्रयोगकर्ताहरुको दैनिकीको प्रतिबिम्भ हुने गरी आफ्ना प्लेटफर्महरुलाई स्थानीयकरण गर्ने कार्यलाई खास महत्व दिने गर्दछ । हामीलाई आशा छ, स्थानीयकृत युआइले हाम्रो नेपाली प्रयागकर्ताहरुलाई उनीहरुका परिवार, साथीभाइ, सहकर्मी तथा उनीहरुको सरोकार रहने समुदायहरुसँग सजिलै जोडिन सहयोग पु-याउनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?