काठमाडौं । लोकप्रिय मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ बाटै सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सिधा दान’ गर्न सकिने भएको छ । कोभिड-१९ को संक्रमण फैलनसक्ने जोखिम र जारी निषेधाज्ञाको समयमा पुण्यकर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्धेश्यले यो सेवा सुरु गरिएको‘हाम्रो पात्रो’ ले जनाएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा पण्डितहरुलाई घरघरमा गएर श्राद्ध तथा सिधा दानको प्रक्रिया सम्पन्न गर्न समस्या छ । यस किसिमको संकटपूर्ण घडीमा पितृहरुलाई सम्झिदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा ‘हाम्रो पात्रो’ले इन्टरनेटको प्रयोग गरी एपबाटै सिधा दान गर्ने विधि सार्वजनिक गरेको हो ।
यो सेवाअन्तर्गत हाम्रो पात्रोले अनुभवी वैदिक गुरुहरुले घरमै बसि भिडियो कलमार्फत् सिधा दानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन् । हाम्रो अनलाइन ज्योतिष सेवाअन्तर्गत प्रविधिको प्रयोग गरी पितृ समर्पण यो विशेष कार्य सम्पन्न गर्न सकिने छ ।
‘अहिलेको विषम परिस्थितिमा पितृ स्मरणका लागि विशेष १६ श्राद्धको प्रक्रियाबाट वञ्चित हुनुभन्दा सिधा दान गरी पितृहरुलाई तृप्त गराउनु उपयुक्त हुनेछ‘ ज्योतिष गुरु नारायणप्रसाद दुलालले भने, ‘यसो गर्दा कम्तिमा पनि पितृहरुको दोष लाग्ने छैन र पुण्य प्राप्त गर्न सकिनेछ ।‘ उनले यो श्राद्ध, पिण्ड दान र तर्पण भने नभएको बताए ।
सबैका लागि वैदिक गुरुहरु भौतिक रुपमा नै बोलाएर श्राद्ध तथा सिधा दान गर्न सम्भव नभएको अवस्थामा यो सुविधा उपयुक्त हुने उनले बताए ।
दुलालका अनुसार नेपाली समयानुसार बिहान ५ बजेदेखि मध्यान्न १ बजेसम्म तथा विदेशमा रहेका धर्मप्रेमीहरुका लागि नेपाली समयानुसार राति ७ देखि १० बजेसम्म यो सेवा उपलब्ध हुनेछ ।
कति छ त शुल्क?
खर्च नियमित पूजापाठ अथवा अन्य महत्त्वपूर्ण कर्मकाण्डमा लाग्ने खर्च भन्दा अत्यन्तै न्यून छ । हाम्रो पात्रोको सो दानको सेवा लिए बापत नेपाल भित्रको प्रयोगकर्ताको लागि ने.रु. ५०० (पाँच सय) तोकिएको छ भने अष्ट्रेलिया बस्ने नेपालीले अस्ट्रेलियाबाट यो सेवा उपभोग गरेको खण्डमा अष्ट्रेलियाको १५ डलर तथा अमेरीकाका नेपालीहरुले अमेरिकी डलर ९.९९ खर्चिए पुग्छ ।
कसरी गर्ने सिधा दान ?
–सिधा दान गर्नुअघि त्यसका लागि केही विधिवत तयारी र नियमहरु पुरा गर्नुपर्ने हुन्छ । बिहान नित्य स्नान गरेर जातीय परम्परा अनुसार चोखो भई पानी र एउटा सिक्का पैसा साथमा लिएर आफ्ना पितृहरूलाई स्मरण गर्दै दक्षिणतर्फ फर्किएर बस्दा उत्तम हुन्छ ।
–सम्भव भएसम्म सिधामा चामल, तरकारी, दाल, नुन, बेसार, मसला, चिनी, तिल, मह, घ्यू, दही, फलफूल, नैवेद्य, पानी, तुलसीपत्र आदि जस्ता सामग्री तयार पारेर राख्ने।
–आफ्नो वंशमा दिवंगत बुबा, हजुरबुबा, बुढा हजुरबुबाको सधर्मपत्नी सहितको नामावली तथा मावली तर्फको वंशमा दिवंगत हुनु भएका आमाको बुबा, हजुरबुबा, बुढा हजुर बुबाका सधर्मपत्नी सहितको नामावली र सम्भव भएसम्म अन्य पितृदेवहरूको नामावली समेत तयार पार्ने ।
–सिधा दान गर्ने व्यक्तिले सम्भव भएसम्म कालो, निलो, हरियो र रातो बाहेक सात्विक (सेतो वा पहेँलो) वस्त्र लगाउनु उत्तम मानिन्छ ।
यी नियम पुरा गरिसकेपछि यहाँ (https://onlineguru.hamropatro.com/) क्लिक गरी ‘हाम्रो पात्रो’को वेबसाइट वा एप (एन्ड्रोइका लागि यहाँ (https://play.google.com/store/apps/details?id=com.hamropatro)क्लिक गर्नुपर्नेछ, अनि आईओएसका लागि यहाँ (https://apps.apple.com/us/app/hamro-patro-nepali-calendar/id401074157)क्लिक गर्नुहोस्) खोल्नु पर्नेछ।
हाम्रो पात्रो एपको होम पेजमा भएको ‘सिधा दान’लाई क्लिक गरेर पनि सुविधा लिन सकिनेछ ।
–पेज स्क्रोल गर्दै (तलतिर सार्दै) अन्तिममा रहेको ‘गुरुसँग कुरा गर्नुहोस्’ सँगै रहेको वैदिक गुरुहरुसँग सिधा दानको प्रक्रिया सुरु गर्नुहोस् लेखिएको स्थानमा दबाउने ।
अब त्यहाँ रहेको ‘दक्षिणा बुझाउनुहोस्’ लेखिएको स्थानमा क्लिक गरेसँगै दक्षिणाको रुपमा शूल्क बुझाउनुपर्नेछ ।
नेपालभित्र हुनेले ईसेवा (eSewa), खल्ती (Khalti) तथा कनेक्ट आइपीएस (Connect IPS) मध्ये उपलब्ध रहेको विकल्प चयन गरी टिकट किन्न सकिनेछ भने नेपाल बाहिरका लागि भने मास्टरकार्ड (Mastercard), भिजा (Visa), पेपाल (PayPal) आदि माध्यम प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
यति गरिसकेपछि अनलाइनमा रहेका गुरु तथा पण्डितहरुको सूची देखिनेछ भने त्यसमध्ये कुनै एक पण्डितको आइकनमा क्लिक गरी भिडियो कल सुरु गर्न सकिनेछ ।
यसरी भिडियो कल गरी उपलब्ध गुरु तथा पण्डितमार्फत सिधा दानका लागि प्रक्रिया सुरु गर्न सकिनेछ ।
‘हाम्रो पात्रो’ ले यो सेवा पूर्ण श्राद्धको प्रक्रिया अनुरुपको नभएको स्पस्ट पार्दै तर यो जटिल परिस्थितिहरुमा पितृहरूलाई श्रद्धापूर्वक स्मरण गर्नको लागि पण्डित/गुरुहरुको सहयोगमा सिधा दानको सङ्कल्प गरिने सरल प्रक्रिया भने भएको बताएको छ ।
वेबसाइटमा बुधबारदेखि उपलब्ध हुने ‘हाम्रो पात्रो’ को यो सेवा एपमा रिलिज हुन भने केही दिन लाग्नेछ । यो सेवा सोह्र श्राद्ध अवधिभर प्रयोग गर्न सकिने ‘हाम्रो पात्रो’ ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया