डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी

धनकुटा, २३ फागुन – धनकुटा नगरपालिका–९ स्थित जलकन्या सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्केपछि चार घर तथा पाँच गोठ नष्ट भएका छन् ।जलकन्या सामुदायिक वनमा मंगलबार अपराह्नदेखि लागेको आगो हावाहुरीका कारण वस्तीतर्फ पसेपछि ती घरगोठ नष्ट भएका हुन् । आगलागीबाट धनकुटा–९ माङडाँडाका मानबहादुर राई, मुखजीत राई, मनकामारी राई, खगेन्द्र भण्डारी, कुलबहादुर राई, गणेशबहादुर घिमिरे, उपेन्द्र घिमिरे, तिलक घिमिरेको घर गोठ नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घर, गोठ र चौपाया एवं अन्नपात जलेर करिब रु ४५ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताउनुभयो ।सो क्षेत्रमा सडकको पहुँच नभएर धनकुटा नगरपालिकाको बारुणयन्त्र पुग्न नसक्दा आगो नियन्त्रण गर्न नसकिएको जनाइएको छ ।आगलागीपीडित परिवारलाई बुधबार बिहान राहत वितरण गरिएको नेपाल रेड्क्रम सोसाइटी धनकुटाका सभापति नरेन्द्र पोख्रेलले बताउनुभयो । हालसम्म पनि आगो नियन्त्रण लिन नसकेकाले सो क्षेत्रका दर्जनाँै घर जोखिममा रहेका छन् ।यसैबीच, जिल्लाका करिब एक दर्जन सामुदायिक वनमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ । धनकुटा नगरपालिका–१० कोपात्लेस्थित सान्ने सामुदायिक वन, मूलाबारी सामुदायिक वन र वाग्ले सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको छ ।यस्तै, जोरपाटी गाउँपालिकाको सिभुवा ताक्लाखर्क सामुदायिक वन र पाथिभरा सामुदायिक वनमा समेत डढेलो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?