भैँसीपालनबाट वार्षिक आठ लाख आम्दानी गर्दै सापकोटा

काँकडभिट्टा, झापा, १ चैत । मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गरेका छन् ।साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहेका छन् । उनले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर रु सातदेखि रु आठ लाखसम्म आम्दानी गर्दै आएको बताए ।सापकोटाले स्थानीय विद्यालयको ४० बिघा र डा मोहपालको ११ बिघा जग्गा वार्षिक रु ६० हजार भाडामा लिएर भैँसीपालन गरेका हुन् । उदाहरणीय कृषि फार्म सञ्चालन गरेबापत उनले दर्जनौँ संघसंस्थाबाट सम्मानित भइसकेका छन् । सापकोटाले हालसम्म सरकारी सहयोग प्राप्त नभएको बताए ।फार्म रहेको मेची नदीको किनार पाँच वर्षअघिसम्म उजाडलाग्दो बगर थियो । अहिले भैँसीकै मलका कारण बगर खेतीयोग्य बनेको छ । पाँचगाँछीबाट सुकुम्वासीका रुपमा मेची नदीको किनार आउएका सापकोटाले पशुपालनका लागि शुरुमा निकै दुःख गर्नु गरेको बताए । उनले २०७० सालमा दुई माउ भैँसीबाट भैँसीपालन शुरु गरेका हुन् ।उनले भने, “त्यो बेला दिनको तीन लिटर दूध बेच्थे, दूधको आम्दनीबाट भैँसीको संख्या बढाउँदै लगे ।” दूध मात्र नभएर पाडापाडी बेचेर पनि उनले यतिबेला मनग्य आम्दानी गरिरहेका छन् ।हाल उनको फार्ममा ४० माउ भैँसी दुहुना छन् । सापकोटाले लैनो भैँसी र गाईबाट हिउँदमा दैनिक ८० देखि एक सय लिटरसम्म तथा वर्षात्मा १३० लिटरसम्म दूध बेच्ने गरेका छन् । भैँसीको दूध प्रतिलिटर रु ६५ का दरले बिक्री हुन्छ । इँट्टाभट्टाको एनएमसी डेरी र धाइजनका रितिका डेरीले दूध खरिद गर्दै आएको छ ।हिउँदमा किनेको पराल र बर्सातका बेलाको घाँस नै भैँसीको मुख्य आहार भएको उनले बताए । वर्षमा ९४ ट्र्याक्टर पराल पनि अपुग भएको सापकोटा बताए । महिनामा ३० बोरा चोकर, तीन बोरा नुन तथा पिना भैँसीलाई खुवाउने गरिएको छ । मासिक रु ८० हजारभन्दा वढी खर्च हुने उनले बताए । सापकोटाले रु ६० लाखको पशु बीमा गराएका छन् । राज्यले कृषि क्षेत्रमा लगानी बढाउने घोषणा गरे पनि त्यस अनुरुपको सुविधा किसानले नपाएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?