कपिलवस्तु, २ चैत । वाणगंगा नगरपालिका–७ मोतिपुरका जयलाल गिरीले पशुपालनबाट मासिक रु एक लाख आम्दानी गर्दै आएका छन् ।चार वर्षदेखि व्यावसायिक रुपमा पशुपालन गर्दै आएका गिरी बाह्र वर्ष खाडी मुलुकमा काम गरेर फर्किएका हुन् । उनले अहिले व्यावसायिक रुपमा बाख्रा, भैँसी र गाईपालन गर्दै आएका छन् । कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी गिरीले २०७० सालदेखि कृषि व्यवसाय अङ्गालेका हुन् । उनले १५० वटा बाख्राबाट व्यवसाय थालेका हुन् ।हाल उनले २२ वटा भैँसी र गाईसमेत पालेका छन् । बाख्रापालनबाट वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानी गरिरहेका छन् । “दूध बेचेर मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी हुन्छ,” उनले भने ।तीन बिघा पाँच कट्ठा जमिनमा उनले पशुपालन गरेका छन् । अझै १० वटा उन्नत जातका गाई थप्ने योजना उनको छ । उन्नत जातका बाख्रा विदेशबाट ल्याउने तयारीमा गिरी छन् । उनले व्यवसायमा अहिलेसम्म रु ५५ लाख लगानी गरिसकेका छन् ।“विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषि व्यवसायमा हात हालेको हुँ,” उनले भने । गिरीले स्थानीय एक सरकारी विद्यालयको जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेका हुन् ।“राज्यले ऋणमा सहुलियत दिनुपर्छ”, उनले भने । व्यावसायिक पशुपालनसँगै उनले माछापालन समेत गर्दै आएका छन् । उनलाई बिक्रीको कुनै चिन्ता छैन । उनले फार्ममा खरी, जमुनापारि, क्रस, वित्तल क्रस र लोकल जातका बाख्रा पालेका छन् । भैँसी स्थानीय जातका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया