आजबाट स्थिर ब्याजदर कायम हुने, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आज (शनिवार)बाट औपचारिक रूपमा कार्यान्वयन हुने स्थिर ब्याजदर सार्वजनिक गरेका छन् ।

नेपाल राष्ट्र बैंकले ऋणको ब्याजदर स्थिर गर्न बैंक तथा वित्तीय संस्थालाई करिब एक महिनाअघि निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन तत्काल कार्यान्वयन गर्न कठिन हुने भन्दै बैंकहरुले समय माग गरेका थिए । त्यही भएर राष्ट्र बैंकले १५ दिन समय थपिदिएर कात्तिक १ गते पुर्‍याइदिएको थियो ।

आजबाट कार्यान्वयन हुने गरी बैंकको ब्याजदर सार्वजनिक भइसकेको छ तर स्थिर ब्याजदर चलनचल्तीको भन्दा केही महँगो देखिएको छ । शुक्रबार नै अधिकांश बैंकले ब्याज दर सार्वजनिक गरेका हुन् ।
कुन बैंकको कस्तो ब्याजदर ?

राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंकले साढे ९ देखि ११ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । १५ वर्षसम्मको घर कर्जा ११ प्रतिशत ब्याजमा पाइन्छ । सात वर्षसम्मको गाडी कर्जा साढे नौ प्रतिशतमा पाइन्छ ।

नेपाल बैंक
नेपाल बैंकले ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ६.९९ प्रतिशत आधार दर रहेको बैंकले घर कर्जा कम्तिमा ९.८५ प्रतिशत ब्याजमा मात्र दिने छ । सवारी साधन कर्जा १०.८५ प्रतिशत लिने छ ।
ग्लोबल आइएमइ बैंक

यो बैंकले ७.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ । १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत निर्धारण गरेको छ । ५ वर्षमाथिको अटो लोनको ब्याज ११.९९ प्रतिशत रहेको छ ।

स्टान्र्डड चार्टर्ड
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्थिर ब्याज सार्वजनिक गर्दै समय अवधि अनुसार ब्याज १०.७५ देखि १३.७५ प्रतिशतसम्म लिने घोषणा गरेको छ । बैंकको असारको आधार दर ७ प्रतिशत रहेको छ । फ्लोटिङदर राख्दा बैंकले आधारमा साढे २ देखि साढे चार प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ । यसो हुँदा ग्राहकलाई साढे दुई प्रतिशत नै प्रिमियम लियो भने पनि ब्याज साढे नौ प्रतिशत पर्नेछ तर स्थिर भएकाले बैंकले केही माथि ब्याज राखेको छ । ५ बर्षसम्मको सवारी र घर ऋणको ब्याज १०.७५ प्रतिशत रहेको छ । सात वर्षसम्मको सवारीको ऋण ११.७५ प्रतिशत रहेको छ । १० वर्षमाथिको घरको ऋणको ब्याज १३.७५ प्रतिशत कायम गरेको छ ।

माछापुच्छ्रे बैंक
बैंकले समय अवधि अनुसार स्थिर ब्याज दर निर्धारण गरेको छ । जस्तो १० वर्षमाथिको घर कर्जाको ब्याज ११.८९ प्रतिशत निर्धारण गरेको छ । १० वर्ष अवधिको सवारी साधन कर्जा १०.९९ प्रतिशतमा दिने घोषणा गरेको छ । अन्य खालको खुद्रा ऋणको ब्याज दर १२.२४ प्रतिशतसम्म निर्धारण गरेको छ । बैंकको ५ वर्षसम्मको घर कर्जा ९.८९ प्रतिशतमै पाइने छ । सवारी साधन ९.९९ प्रतिशत ब्याजमै उपलब्ध हुने बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
इन्भेष्टमेन्ट बैंकले ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले सात वर्ष अवधिको सवारी साधन किन्न १०.७५ प्रतिशत ब्याजमा पैसा दिने छ । घर कर्जा समय अनुसार फरक छ । जस्तो १० वर्षसम्मको घरु कर्जाको ब्याज साढे १२ प्रतिशत पर्नेछ ।

एनएमबि
एनएमबि बैंकले ५, १०, १५ र त्यसभन्दा माथिका लागि ब्याज निर्धारण गरेको छ । बैंकले समय अवधि हेरेर ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । बैंकले आफ्नो मू्ख्य ग्राहक, आफ्नो स्ट्यान्डर्ड रेट र अन्य रेट भनेर तीन खालको ब्याज सार्वजनिक गरेको छ । बैंकसँग १५ वर्षसम्मको घर कर्जा लिने हो भने सवा १२ प्रतिशतसम्म ब्याजमा पैसामा पाइने छ । यदि तीन वर्षभन्दा माथिका लागि सवारी कर्जा लिने हो भने ब्याज १० प्रतिशत हाराहारीमै पाइने छ । विद्युतीय कार किन्नु पर्दा त साढे ९ प्रतिशतमै पाइने छ ।

नेपाल एसबीआइ बैंक
एसबीआइ बैंकको स्थिर ब्याज केही महँगो रहेको छ । बैंकको ५ देखि १० वर्ष अवधिको साढे १४ प्रतिशत पर्नेछ । १० वर्षसम्मको सवारी कर्जा लिँदा ब्याज १४ प्रतिशत पर्नेछ । जबकी बैंकले फ्लोटिङ रेट आधार दरमा बढीमा ५ प्रतिशत निर्धारण गरेको छ । जस्तो अहिले बैंकको आधार दर ८.३९ प्रतिशत रहेको छ । बैंकले ५ प्रतिशत नै प्रिमियम लिएछ भने पनि ब्याज १३.४९ प्रतिशत पुग्नेछ ।

सनराइज बैंक
सनराइज बैंकले समय अवधि हेरेर ब्याज दर साढे १० प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म निर्धारण गरेको छ । जस्तो १५ वर्षसम्मको घर कर्जा लियो भने ब्याज साढे ११ प्रतिशत पर्नेछ । ८ वर्षसम्मको सवारी कर्जा लिए ब्याज साढे ११ प्रतिशत पर्नेछ ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले ९.४९ देखि १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ५ वर्षसम्मको शिक्षा ऋण लिनु परे साढे ९ प्रतिशत पर्नेछ । १५ वर्षसम्मको हाउजिङ ऋण लिनु परे ११.९८ प्रतिशत छ । सवारी कर्जा लिनु परे साढे ११ प्रतिशतसम्म ब्याज पर्नेछ ।

सिद्धार्थ बैंक
बैंकले ८.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । जस्तो बैंकले ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशतमा दिने छ । १० वर्षमाथिको घर कर्जाको ब्याज १०.७५ प्रतिशतसम्म पुग्ने छ ।

सेञ्चुरी बैंक
बैंकले ११.४९ देखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले १० बर्षमाथिको घर कर्जा १२.७४ प्रतिशतमै दिने छ । सात वर्षसम्मको निजी सवारी साधन ऋण १२.२४ प्रतिशतमै उपलब्ध गराउने छ ।

सानिमा
सानिमाले ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । ३ वर्षमाथिको ऋणको ब्याज १३ प्रतिशत पर्ने छ ।

कृषि विकास बैंक
बैंकले ९.७५ देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । अटो लोन साढे १० प्रतिशत पर्छ भने १० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत पर्ने छ ।

प्राइम कमर्सियल बैंक
प्राइमले साढे १० देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।

नेपाल बंगलादेश बैंक
बैंकले ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ५ वर्षभन्दा माथिको अटो लोनको ब्याज १०.९९ प्रतिशत छ भने २० वर्षसम्मको घर कर्जाको ११.४९ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

नबिल बैंक
नबिल बैंकले एक वर्षसम्मको स्पेसल अफर बाहेक त्योभन्दा माथि अवधिको ब्याज दर निर्धारण गरेको छ । बैंकले १५ वर्षसम्को घर कर्जा ११ प्रतिशतमा दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?