रुकुमका तामा र फलाम खानी लोप हुँदै

रुकुम, ४ चैत – रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङका रामबहादुर बुढाले १८ वर्ष पहिलेसम्म गाउँमै तामाको धातु निकाल्दा दैनिक रु तीन हजारसम्म आम्दानी गर्थे । उनी जस्तै सोही गाउँका धनवीर बुढाले पनि आफ्नै गाउँमा रहेको तामा खानीबाट दैनिक रु दुई हजारदेखि तीन हजारसम्म आम्दानी गर्थे ।अठार वर्षदेखि उनीहरु दुई जना मात्र होइन यो गाउँका कसैले पनि तामा खानी उत्खननमा बेवास्था गर्दा यहाँ रहेका तामा र फलाम खानी उपयोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । भूमे गाउँपालिका–५ सेराबाङ र वडा नं ३ को झुम्लाबाङमा रहेका तामा र फलाम खानी पुरिँदै गएको स्थानीयवासीको भनाइ छ ।विसं २०५५ सम्म पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गरे पनि राज्यले संरक्षण र व्यवस्थापन नगर्दा अहिले तामा र फलाम खानी पुरिँदै गएको स्थानीयवासी रामबहादुर बुढाको भनाइ छ । अहिले पनि आफूहरुले कहिलेकाहीँ थोरै मात्रामा धातु निकाल्ने गरे पनि तामा र फलाम प्रशस्त रहेको उनको दाबी छ ।जंगलको बीचमा पहाडभित्र रहेका खानीमा धातु निकाल्नका लागि प्रयोग गरिएका बंकर अहिले पुरिन थालेका छन् । आफैँले निकाल्दै गरेको तामा र फलाम लोप हुन थालेपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् । खानी खोस्रेर जीविकोपार्जन गर्दै आएका यस क्षेत्रका मगर समुदाय पनि विस्तारै बसाइँसराइ गर्न थालेका छन् ।खानी उत्खनन गर्ने उपकरणको अभाव र सरकारलाई आम्दानीभन्दा बढी कर तिर्नुपर्ने भएकाले १८ वर्षदेखि यहाँका खानी बन्द जस्तै अवस्थामा छन् । सरकारले खानीको उत्खननका लागि सहयोग गरेमा देश र यहाँका नागरिकको आर्थिक विकास हुने भूमे गाउँपालिका–५ सेराबाङका जितबहादुर बुढाको भनाइ छ ।स्थानीयवासीको लगानीमा धातु उत्खनन गर्दा आयातीतसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सरकारले अनुदान दिएर खानी सञ्चालन गरिए जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए । स्रोत र साधनमा आफ्नो गाउँपालिका धनी भए पनि उत्खननमा आफूहरुलाई वञ्चित गरेका कारण केही गर्न नसकिएको उनको भनाइ छ । लोप हुन थालेको तामा र फलाम खानी उत्खनन भए प्रतिभा पलायन हुने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?