प्रस्तुत कोईराला /काठमाडौं । चाडपर्वको समयमा आपूर्ती व्यवस्था सहज रहेको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।
खाद्यान्न, नून, चिनी, फलफूल तथा तरकारी, मासुजन्य पदार्थ, इन्धन, सहुलियत मूल्य पसल, बजार अनुगमनलाई विशेष प्रथमिकतामा राखेर काम गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।
कस्तो छ आसन्न चाडबाडको समयमा आपूर्ती व्यवस्था ?
खाद्यान्न :
देशभर खाद्यान्न आपूर्तिको स्थिति सामान्य रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गमका जिल्लाहरुमा ढुवानी गर्दै आएको खाद्यान्नको मौज्दात हाललाई पर्याप्त रहेको बताएको छ । हाल दुर्गमका २३ जिल्लाहरुमा करिब १५ हजार क्वीण्टल खाद्यान्न मौज्दात रहेको छ । दुर्गमका जिल्लाहरुमा खाद्यान्न ढुवानीको कार्य निरन्तर रहेको बताउँदै खाद्यान्न अपुग नहुने र आवश्यक्ता अनुसार हवाई ढुवानी पनि गराइएको मन्त्रालयले जनाएको छ ।
देशका अन्य भागमा खाद्यान्न लगायतका उपभोग्य वस्तु सहज रहेको छ दशैं तिहार र छठ सम्म खाद्यान्नको अभाव नहुने जानकारी दिएको छ ।
हाल देशभर १ लाख १६ हजार मेट्रिकटन चामल मौज्दात रहेको छ । जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १४ हजार मेट्रिक टन र निजी क्षेत्रसँग १ लाख २ हजार मेट्रिक टन उपलब्ध रहेको छ ।
मन्त्रालयका अनुसार असोज महिनामा दाल तथा गेडागुडी प्रतिदिन औसत ७ सय मेट्रिक टन आयात भएको थियो । असोज २५ गते मात्र ८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको थियो जसमध्य १ हजार २ सय मेट्रिक टन दाल तथा गेडागुडी आयात भएको थियो ।
नून :
हाल साल्ट्र टे«डिङ कर्पोरेशन लिमिटेडसँग १ लाख ४५ हजार मेट्रिक टन नून मौज्दात रहेको छ, जुन ९ देखि १० महिनाको माग धान्न पर्याप्त रहेको मन्त्रालयले जनाएको छ ।
चिनी :
आर्थिक वर्ष २०७६/७७ मा चिनीको उत्पादन कम भएको र आयात पनि नभएकाले केही महिना अगाडि चिनीको उपलब्धतामा केही समस्या आउने देखिएकोमा हाल उक्त समस्या समाधान भएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १० हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रिया शुरु गरेको छ । जसमध्ये यहि साता देखि आयातित चिनी बजारमा उपलब्ध हुने जनाएको छ ।
मन्त्रालयका अनुसार निजी क्षेत्रले समेत केही परिमाणमा चिनी आयात गरि बिक्रि वितरण गर्न थालेकोले हाल बजारमा चिनीको अभाव नरहेको बताएको छ ।
फलफूल तथा तरकारी :
मन्त्रालयका अनुसार फलफूल तथा तरकारीको आपूर्ति स्थिति सामान्य रहेको बताएको छ । तथापि चालु वर्ष नेपालमा तरकारीको उत्पादन कम भएको र आयातीत तरकारीमा नै भर पर्नु परेकोले केहि मूल्य बढेको मन्त्रालयको भनाइ छ ।
नेपालमा हुने प्याजको उत्पादन अपुग हुने र भारत सरकारले प्याजको निकासीमा प्रतिबन्ध लगाएका कारण प्याजको आपूर्ती मूल्यमा भने केहि समस्या रहेको उल्लेख गर्दै, प्रत्येक वर्ष जसो यही समयमा भारतले प्याजको निकासी प्रतिबन्ध लगाउने गरेकोले आफ्नै उत्पादनलाई वृद्धि गर्न पहल गरिने समेत बताएको छ ।
फलफूलको मूल्यमा सामान्यबाहेक उतारचढाव नरहेको तथापी थोक बिक्रेताबाट खुद्रा बिक्रेतासम्म आइपुग्दा हुनसक्ने मूल्यवृद्धिलाई नियन्त्रण गर्न अनुगमन प्रभावकारी बनाइएको जानकारी दिएको छ ।
फलफूलको आयात पनि निरन्तर भइरहेकोले त्यसमा समस्या देखिएको छैन । असोज महिनामा प्रतिदिन औसत ३७० मेट्रिक टन फलफूल आयात भएको छ । चाडबाडको समयमा पनि फलफूल तथा तरकारीको आपूर्ती सामान्य नै रहने मन्त्रालयले बताएको छ ।
मासुजन्य पदार्थ
नेपाल सरकारले मासुजन्य पदार्थ वृद्धि गर्न केही वर्ष अगाडि शुरु गरेको कार्यक्रमको प्रतिफल देखिन थालेकोले हाल खसी,बोकाको उत्पादनमा वृद्धि भएको छ । पशु सेवा विभागले दिएको जानकारी अनुसार स्वदेशमै उत्पादिन खसी, बोकाले बजारको मागको ९५ प्रतिशत धान्नसक्ने स्थिती बनेको छ । यो वर्ष मागमा सामान्य कमी देख्न सक्ने भएकोले नेपालकै उत्पादन पर्याप्त हुने देखिएको छ ।
यो आर्थिक वर्षको अन्त्यसम्ममा लगभग १०० प्रतिशत मागनै धान्नसक्ने स्थिती बनेको मन्त्रालयले बताएको छ । क्वारेन्टाइन जाँच शुरु गरिएपछि २०७५ फागुन देखि खसी, बोकाको आयातमा भारी गिरावट आएको थियो ।
काठमाडौं उपत्यकामा दैनिक १ हजार देखि १२ सय खसी बोकाको माग रहेको र दशैंको समयमा करिब ४० हजार खसी, बोका आवश्यक पर्ने गरेको आँकलन छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट १ हजार खसी बोका एवं १ हजार च्याङ्ग्रा गरी माग अनुसार खसी, बोका आपूर्ती गर्ने लक्ष्य राखिएको छ । बजारको स्थिती हेरी थप खसी, बोका आपूर्ती गर्न पशु सेवा विभागसँग समन्वय गरिएको छ ।
काठमाडौं उपत्यकामा दैनिक २ सय राँगा तथा भैंसीको माग रहेकोमा दशैंको समयमा २ हजार राँगा, भैंसी अवश्यक पर्ने आँकलन रहेको छ । तर कोभिडका कारण मागमा केही कमी आउने देखिएको छ । देश भित्रबाट करिब ७ सय राँगा, भैंसी मात्र आपूर्ती हुने भएकोले बाँकि आयात गर्नु पर्ने अवस्था रहेको छ ।
मासुजन्य पदार्थमध्ये माछा, अण्डा, कुखुरा, र बंगुरको आपूर्तीम कुनै समस्या नरहेको र दशैंमा अभाव नहुने बताएको छ साथै कुखुराको मासुको मूल्य तीन वर्षयताकै न्यून बिन्दुमा पुगेको छ ।
इन्धन
हाल पेट्रोलियम पदार्थको आपूर्तीमा कुनै समस्या छैन , आयात भइरहेको छ । कोभिडका कारण चैत बैशाख महिनामा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा भारी गिरावट आईप्रति ब्यारेल १५ अमेरिकि डलरसम्म पुगेको कच्चा तेलको मूल्य हाल ४५ अमेरिकि डलरको हाराहारीमा पुगेको छ । गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आगामी १५ दिनसम्म मूल्य वृद्धि नहुने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।
भारतको मोतीहारी देखि अमलेखगन्जसम्म निमार्ण गरि सञ्चालनमा ल्याइएको पेटे«लियम पाइपलाइनबाट डिजेलको निर्बाध आपूर्ती भइरहेकाले डिजेलको आपूर्ती र मूल्य दुवैमा सकारात्मक प्रभाव परेको छ । गत वर्ष १०० रुपैयाँ प्रति लिटरको हाराहारीमा रहेको डिजेल हाल ९० रुपैयाँको हाराहारीमा रहेको छ ।
गत वर्ष ९० रुपैयाँ रहेको आन्तरीक हवाई इन्धनको मूल्य हाल ६५ रुपैयाँ रहेको छ ।
खाना पकाउने ग्याँसको मूल्य र आपूर्ती स्थिर रहेको मन्त्रालयले बताएको छ । नेपालमा मासिक ४० हजार मेट्रिक टन ग्याँसको खपत हुने गरेकोमा हाल ४० हजार मेट्रिक टन भन्दा केहि बढिनै आयात भइरहेको छ । चाडबाड र जाडो महिनाको समयमा ग्याँसको खपत बढ्ने भएता पनि इण्डियन आयल कर्पोरेशनसँग मासिक ४५ हजार मेट्रिक टन ग्याँस उपलब्ध गराउन सम्झौता भएको छ साथै विद्युत आपूर्तीमा सुधार भएका कारण पनि खाना पकाउने ग्याँसको अभाव नहुने जानकारी मन्त्रालयले दिएको छ ।
सहुलियत मूल्य पसल
बजार मूल्यलाई निश्चित सीमाभित्र राख्न र आम जनतालाई आसन्न चाडपर्वहरुमा सहुलियत मूल्यमा खाद्यान्न, नून, चिनी एवंदुग्ध पदार्थहरु उपलबध गराउन यही असोज १५ गते देखि आगामी मंसीर ६ गतेसम्मका लागी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«ड्रिङ कर्पोरेशन र दुग्ध विकास संस्थाको सहभागितामा ७७ स्थानमा सहुलियत पसल सञ्चालन गरिएको छ । यसले एकातिर चाडबाडका समयमा ती वस्तुहरुको मूल्य अस्वाभाविक रुपमा बढ्न नदिन सन्र्दभ मूल्य प्रदान गर्दछ भने अर्कातिर आम उपभोक्ताले सहुलियतदरमा खाद्यान्न लगायतका वस्तुहरु प्राप्त गर्न सक्ने छ । यी पसलहरुमा चिनी प्रति किलोग्राम ७० रुपैयाँमा विक्रि भइरहेको छ ।
विगतमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ कर्पोरेशन र दुग्ध विकास संस्थानका उत्पादन र वस्तुहरु आ आफनो बिक्रि कक्षबाट मात्र बिक्रि वितरण हुँदै आएकोमा हाल एक आर्काका उत्पादन सबै विक्रि कक्षबाट बिक्रिहुने व्यवस्था मिलाइएको छ ।
बजार अनुगमन
आसान्न चाडबाडको समयमा खाद्य पदार्थमा हुनसक्ने मिसावट, मूल्यवृद्धि र कृत्रिम अभावजस्ता क्रियाकलापलाई निरुत्साहित गर्न बजार अनुगमनलाई तीब्र पारिएको मन्त्रालयले जनाएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागमा कार्यरत कर्मचारी अपुग हुने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट थप कर्मचारी काजमा ल्याई अनुगमनान खटाइएको छ ।
‘कोभिड – १९’ को संक्रमणबाट मन्त्रालय र विभागका कर्मचारी समेत प्रभावित भएता पनि अनुगमनमा कमी आउन नदिने प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ । प्रदेश र स्थानीय तहमा अनुगमनलाई प्रभावकारी बनाउन समन्वय गरिएको र सुरक्षाकर्मीका लागी गृह मन्त्रालयमा आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस्तो अनुगमन चाडबाडकाो समयमा मात्र सिमित नगरी वर्षैभरि निरन्तरता दिएको बताउँदै काठमाडौं उपत्यका बाहिर पनि अनुगमन तिव्र बनाइएको जानकारी दिएको छ ।
हालै केही म्याद नाघेका केही खाद्यवस्तुको रि लेबलिङ गरी बजारमा विक्रि वितरणका लागी पठाउने गरेका केहि व्यापारीक फर्मलाई कारबाहिको दायरामा पनि ल्याइएको छ ।
खाद्यान्न सम्बन्धी अन्य व्यवस्था
धानबाली भित्राउने समय नजिकिंदै गरेको र सो समयमा धानको मूल्यम गिरावट आउने भएकाले किसानहरुले आफनो फसलको उचित मूल्य नपाउने विगतको अनुभवलाई दष्टिगत् गरी यस वर्ष धानबाली लगाउनु पूर्व नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ । यस अनुरुप खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदको प्रक्रिया शुरु गरेको छ ।
कम्पनीको आफनै गोदाम एंव कृषि तथा पशुपन्छी मन्त्रालयको सहयोगमा खरिद गरिएको धानको भण्डारण गर्ने व्यवस्था मिलाइएको जनकारी दिएको छ साथै कम्पनीको स्वामित्वमा रहेको गोदामहरुको मर्मत सम्भार एवं थप भण्डारणको कार्य आगाडि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जानकारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया