काँग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन : गुट अन्त्य गराउन केन्द्रित

नुवाकोट, ५ चैत । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी तीव्र बनाइएको छ ।सम्मेलन यही चैत ७ गतेदेखि ९ गतेसम्म नुवाकोट र रसुवामा संयुक्तरुपमा हुन लागेको हो । सम्मेलनको आवश्यक तयारी पूरा भएकाले केही आन्तरिक व्यवस्थापनको काम मात्र बाँकी रहेको काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक एवं काठमाडौँ कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।उनको अनुसार काँग्रेस जिल्ला कार्यसमिति नुवाकोट र कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका पदाधिकारीको संयुक्त बैठकले भेला तयारीको लागी विभिन्न समिति गठन तथा कार्य जिम्मेवारी प्रदान गरी तयारी तीव्र बनाइएको छ ।काँग्रेस जिल्लाका कोषलाई पारदर्शी, समृद्धि, सुदृढ र जवाफदेही बनाउन भेला केन्द्रित हुने पुडासैनीले बताए । “पछिल्ला निर्वाचनले पार्टी कमजोर भइरहेको समयमा हुन लागेको भेलाले बलियो बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”सम्मेलनअन्तर्गत काँग्रेस नुवाकोटको पार्टी कार्यालय विदुरमा चैत ७ गते पार्टीको केन्द्रीय नेता सम्मिलित उद्घाटन समारोह र ८ गते बन्दसत्रसहित प्रशिक्षण तथा ९ गते रसुवाको स्याफ्रुबेँसीमा भेलाको समीक्षा बैठकसहित पत्रकार सम्मेलन हुने रसुवा कोषाध्यक्ष पदम न्यौपानेले बताए ।सम्मेलनमार्फत वर्तमान सन्दर्भमा काँग्रेसको कमजोर अवस्था र कार्यकर्तामा छाएको निरासाको समीक्षा हुने तनहुँ कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए । “उद्घाटन समारोहमा एकै स्थानमा भेला हुने शीर्ष नेताले पार्टी एक भएको सन्देश दिन्छ ।”सम्मेलन तयारीको लागि नुवाकोट र रसुवा पार्टी कार्यसमिति परिचालन भइरहेको नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?