तातोपानी नाकाबाट दैनिक ४ कन्टेनर सामान आयात, निर्यातको सम्भावना भने अझै शुन्य !

काठमाडौं । नेपालसँग चीनतर्फ जोडिएको तातोपानी नाका बिहीवारबाट पुनः सञ्चालनमा आएको छ । सिन्धुपाल्चोक जिल्लामा रहेको तातोपानी नाका ०७२ सालमा गएको भुकम्प पश्चात्त समस्याग्रस्त रहेको थियो ।

कहिले भुकम्पको समस्या त कहिले बढिपहिरोको समस्या लगायतले यो नाका धेरै पटक खुल्दै बन्द हुने गर्दै आएको छ । पछिल्लो समय कोभिडका कारण बन्द रहेको तातोपानी नाका बिहीवारबाट पुन सुचारु भएको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ शुरु भएयता हालसम्म तातोपानी नाका तिन पटक बन्द भएको छ भने तिनै पटक खुलेको पनि छ । पटक पटक खुल्दै बन्द भएको यस नाकामा चालु आर्थिक वर्ष (आव) को पहिलो ३ महिना अर्थात् श्रावण, भदौ र असोजमा २५ करोड ९४ लाख ५२ हजार रुपैयाँ बराबरको सामान आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ ।

कोरोना संक्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ ब्यापारीले नेपाली ब्यवसायीका सामान नेपाल पठाउन थालेका हुन् ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताए । श्रमीकहरुलाई स्वास्थ्य मापदण्ड सहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने व्यवस्था मिलाइएको पनि प्रमुख खत्रीले बताए ।

प्रमुख खत्रीका अनुसार बिहीवारबाट नाका शुरु भए पश्चात्त दैनिक रुपमा ४ कन्टेनर सामान चीनबाट आयात भइरहेको छ । तातोपानी नाका पटक पटक खुल्ने बन्द हुने गर्दा पनि यस नाकाबाट हालसम्म कुनै निर्यात भने हुन सकेको छैन्न् ।

तातोपानी नाकामा सामान लोड गर्ने नेपाली श्रमीकलाई क्वारेन्टाइनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?