जलवायु परिवर्तनका यस्ता ५ सूचक जसले दिँदैछन् प्राकृतिक विपत्तिको सङ्केत

अप्रत्यासित डढेलोदेखि प्रचण्ड गर्मी जस्ता समस्याको कारण यस्तो...

काठमाडौं । अमेरिका र अस्ट्रेलियाको अप्रत्यासित डढेलोदेखि साइबेरियाको प्रचण्ड गर्मीसम्म, सन् २०२० मा जलवायु परिवर्तनको प्रभाव विश्वका विभिन्न कुनामा भिन्नभिन्न स्वरुपमा देखिए । ती प्रभावहरु सन् २०२१ मा देखिँदैनन् भन्न सकिन्न ।

जलवायुका यस्ता ५ सूचक छन् जसको वर्तमान अवस्थाबाट हामीले सन् २०२१ मा जलवायु परिवर्तनले कस्तो मोड लिन सक्छ भन्ने कुरा पूर्वानुमान गर्न सक्छौं । ती सूचकहरु यसप्रकार छन्ः

कार्बन डायअक्साइडको मात्रा बढेको बढ्यै

वर्ष २०२० को मे महिनामा ४१७ पार्ट्स पर मिलियन(पिपिएम) पुगेको कार्बन डायअक्साइड(सिओटु)को मात्राले नयाँ कीर्तिमानी कायम ग-यो ।
यसअघि सिओटुको मात्रा ४०० पार्ट्स पर मिलियनको दाँजोमा पुगेको आजभन्दा ४ मिलियन वर्षअघि पिलोसिन युगमा मात्र थियो । त्यसवेला पृथ्वीको तापक्रम अहिलेभन्दा २–४ डिग्रीले तातो थियो र समुद्री सतह अहिलेभन्दा १०–२५ मिटर उच्च थियो ।

विश्व मौसम विज्ञान संस्थाका अनुसार लकडाउनले कार्बन डायक्साइडको उत्पादनमा पारेको प्रभाव यति न्यून थियो कि हरेक वर्ष हुने सिओटु उत्पादनको उतारचढावमा यसले खासै फरक पारेन । बढ्दो सिओटु उत्पादनको ग्राफमा केही परिवर्तन आएन ।

जलवायु विज्ञ तथा वातावरण अनुसन्धानकर्ता मार्टिन साइगर्टका अनुसार यदि सबैभन्दा खराब, तल्लो स्तरको नतिजालाई ट्र्याक गर्दै जाने हो भने यस शताब्दीको अन्त्यसम्ममा सिओटुको मात्रा ८०० पिपिएम पुग्नसक्ने अनुमान छ । साइगर्ट भन्छन्, ‘यो ५५ मिलियन वर्षयता कहिल्यै भएको थिएन । त्यसताका पृथ्वीमा बरफ नै थिएन र तापक्रम पनि अहिले भन्दा १२ डिग्री सेल्सियस बढी थियो ।’

अहिलेसम्मकै गर्मी भएको समयमा बाँचिरहेका छौं हामी

पछिल्लो दशक अहिलेसम्मकै सबैभन्दा तातो समय रह्यो । १९ औं शताब्दीको औसत तापक्रमभन्दा १.२ सेल्सियस बढी थियो सन् २०२० को तापक्रम ।
यूरोपमा पछिल्लो वर्ष इतिहासकै तातो वर्ष भयो भने विश्वमा सन् २०१६ सँग बराबरी हुँदै अहिदेसम्मकै गर्मी वर्ष बन्न पुग्यो ।

प्रायजसो तापक्रममा उच्च वृद्धि हुनुमा ‘एल निनो इभेन्ट’को पनि भूमिका रहन्छ । एल निनो इभेन्ट अर्थात् प्रशान्त महासागरमा केही वर्षमा जम्मा हुने तातो पानीको संग्रह । यसले समुद्री सतहको तापक्रममा वृद्धि ल्याउने गरेको छ जसले पृथ्वीको तापक्रममा पनि प्रभाव पार्दछ ।

तर, २०२० भिन्न रह्यो किनकी यसमा एल निनो होइन ‘ला निना इभेन्ट’ भयो । अर्थात् महासागरमा तातो होइन चिसो पानीको संग्रह बन्यो । यसको अर्थ के हो भने यदि सन् २०२० मा ला निना नभइदिएको भए पृथ्वीको तापक्रम अझै वृद्धि हुनसक्थ्यो । सो वर्ष अझै बढी गर्मी हुनसक्थ्यो ।

तापक्रम वृद्धिले गर्दा नै गत वर्ष अस्ट्रेलिया तथा अमेरिकाको क्यालिफोर्निया र कोलोराडोमा इतिहासमा कहिल्यै नभएका विध्वंशकारी डढेलोहरु पनि भए ।

आर्कटिक क्षेत्रमा ढिलो जम्न थाल्यो बरफ

तापक्रम वृद्धि भएको भनेर आर्कटिकमा जति शायदै अन्त कतै अनुभव होला ।

२०२० को जुनमा पूर्वी साइबेरियाको तापक्रम ३८ सेल्सियससम्म मापन गरिएको थियो । यो आर्कटिक क्षेत्रमा मापन गरिएको अहिलेसम्मकै उच्च तापक्रम हो ।
तातो हावाको लहरले यस क्षेत्रका समुद्रको बरफ पग्लिने क्रम तीव्र गतीमा बढ्यो जसले गर्दा यसपालि आर्कटिक जम्ने प्रक्रियामा २ महिना ढिलाइ भयो ।

बरफ पग्लिनु जलवायु परिवर्तनको लक्षण मात्र नभएर एउटा कारण पनि हो । उज्यालो सेतो समुद्री बरफमा ठोक्किएर घामको किरण फेरि अन्तरिक्षमै फर्किने गर्दछन् । यस अर्थमा समुद्री बरफ समुद्रको ‘रिफ्लेक्टिभ ज्याकेट’ पनि हो । यद्यपि आर्कटिक क्षेत्र विश्वको तुलनामा दोब्बर छिटो तातिरहेको छ । यसो हुँदा त्यहाँका बरफहरु गर्मी महिनामै पग्लिसक्छन् र घामको किरण प्रतिबिम्बित गर्ने सुरक्षा कवच नै रहँदैन । परिणामस्वरुप, गाढा, अँध्यारो रंगको पानीले धेरै तातो सोस्छ र पृथ्वीको तापक्रममा झन्झन् वृद्धि हुँदै जान्छ ।

धेरै वर्षदेखि जम्मा भएको बाक्लो बरफसँग मौसमी बरफभन्दा बढी प्रतिबिम्बित गर्ने क्षमता हुन्छ । तर सन् १९७९ देखि २०१८ को अवधिमा आर्कटिक महासागरमा ५ वर्ष भन्दा बढी उमेरको बरफको मात्रा ३०% देखि घटेर २% सम्म झरेको थियो ।

त्यसैले आर्कटिक महासागरमा बरफको मात्रा घट्नु पनि ग्लोबल वार्मिङ बढ्नुको एउटा कारण भएको बताउँछन् विज्ञहरु ।

पर्माफ्रस्ट पग्लिँदै, ग्रीनहाउस ग्यास निष्कासित हुँदै

पृथ्वीको उत्तरी गोलार्धतिर रहेको पर्माफ्रस्ट द्रूत गतीमा तातिरहेको छ । पर्माफ्रस्ट अर्थात् २ वा सो भन्दा बढी वर्षसम्म निरन्तर ० डिग्री सेल्सियस तापक्रममा रहने जमिन ।

जब सन् २०२० को गर्मी महिनामा साइबेरियाको हवाई तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो तब आर्कटिक क्षेत्रका केही स्थानको तापक्रम ४५ डिग्रीसम्म पुगेको थियो । जसले गर्दा सो क्षेत्रका पर्माफ्रस्ट द्रूत गतीमा पग्लिन थाल्यो ।

पर्माफ्रस्टले सिओटु, मिथेन जस्ता ग्रीनहाउस ग्यासहरु थुप्रो मात्रामा एकत्रित गरेको हुन्छ । साइबेरिया, क्यानाडा, आर्कटिक क्षेत्र, ग्रीनल्याण्ड आदिजस्ता स्थानमा भएको पर्माफ्रस्टले करिब १६ सय बिलियन टन कार्बन जम्मा गरेको छ जुन वायुमण्डलमा भएको कार्बनको मात्रा भन्दा लगभग दोब्बर हो । यसले कार्बनलाई मिथेनको रुपमा भण्डारण गरेको हुन्छ जसको ग्लोबल वार्मिङ प्रभाव कार्बन डायक्साइड(सिओटु)को भन्दा ८४ गुणा बढी छ ।

त्यसैले पर्माफ्रस्ट पग्लिँदै गर्दा त्यसमा जम्मा भएका ग्यासहरु वायुमण्डलमा मिसिँदै जान्छन् । र यसले जलवायु परिवर्तनमा वृद्धि गराउँछ ।
वर्ष २०२० को मे महिनामा रसियन आर्कटिक क्षेत्रमा इन्धनको ट्यांकी ‘लिक’ हुँदा २० हजार टन डिजेलको चुहावट भइ नदीमा मिसिएको घटना पनि पर्माफ्रस्ट पग्लिनुकै असर भएको बताइएको छ ।

वृक्षरोपण गर्नु भन्दा शुरुमा वनविनाश हुनै नदिनु उचित

सन् १९९० देखि विश्वले १७८ मिलियन हेक्टर जंगल गुमाएको छ । यो क्षेत्रफल लिबिया बराबर हो । बितेका ३ दशकमा वन विनाशको गती केही सूस्त भएतापनि यो बढ्दो जलवायु परिवर्तनलाई रोक्न पर्याप्त नभएको विज्ञहरु बताउँछन् ।

सन् २०१५ देखि २०२० सम्ममा वार्षिक वन फँडानी दर १० मिलियन हेक्टर रह्यो जुन त्यसभन्दा अघिल्लो ५ वर्षको अवधि अर्थात् २०१० देखि २०१५ मा भएको १२ मिलियन हेक्टर भन्दा कम हो ।

विश्वव्यापी रुपमा वनजंगलको क्षेत्रफल घटिरहेको विज्ञहरुको दाबी छ । विशेष गरी दक्षिण अमेरिका र अफ्रिकामा ट्रपिकल वनको सङ्ख्या घटिरहेको छ भने एशिया तथा यूरोपमा वृक्ष रोपण तथा प्राकृतिक तरिकाबाट टेम्परेट वनको सङ्ख्या बढिरहेको छ ।

सन् २०२० मा अमेजन वनको फँडानी पछिल्लो १२ वर्षकै उच्च रह्यो ।

जमिनमा हुने ४५ प्रतिशत कार्बन वनका रुख तथा माटोले सोस्ने गरेका छन् । माटोमा रुखबिरुवा तथा वायुमण्डलमा भन्दा बढी कार्बन रहेको हुन्छ । त्यसैले जब रुखबिरुवा काटिन्छ वा नष्ट गरिन्छ तब माटोलाई धक्का पुग्छ र त्यसमा भएको कार्बन निष्कासन हुन्छ ।

विश्व अर्थ फोरमले यस वर्ष कार्बन सोस्नका लागि १ ट्रिलियन वृक्षरोपण गर्ने अभियान नै शुरु ग-यो । तर विज्ञहरु भन्छन्, ‘नयाँ बिरुवा रोप्ने भन्दा पनि भएकै बिरुवाहरुको संरक्षण गर्नमा जोड दिनुपर्छ ।’ उनीहरुका अनुसार हरेक पटक पर्यावरणमा धक्का पुग्दा ठूलो परिमाणमा कार्बन निष्कासन हुन्छ ।

वनजंगललाई प्राकृतिक रुपमै उब्जन दिनु र ठूलो क्षेत्रफलमा यसलाई फैलिन दिनु नै कार्बन उत्सर्जन न्यूनीकरण गर्ने र जैविक विविधतालाई उजाँगर गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको विज्ञहरुको भनाइ छ ।

***

तसर्थ, यी ५ जलवायु सूचकहरुको वर्तमान अवस्थाले हाम्रो वातावरणमा पारेको प्रभाव मात्र होइन यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर उपाय पनि प्रष्ट्याइदिएको छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?