काठमाडौं । ‘हामी चन्द्रमामा समेत पुगिसक्यौं तर, क्यान्सरको औषधि अझै पनि पत्ता लाउन सकेनौं, किन ?’ यो प्रश्न जति जायज छ उति नै जटिल पनि । इतिहास पल्टाएर पहिलो पटक क्यान्सर पत्ता लागेको समयसम्म पुग्न खोज्दा हामी सोझै ३००० विसीको सेरोफेरोमा पुग्नुपर्ने हुन्छ । यति लामो इतिहास बोकेको प्राणघातक रोगको औषधि आखिर किन पत्ता लाग्नै सकेको छैन ? क्यान्सरको औषधिजस्तै यस प्रश्नको उत्तर पनि यकिनसाथ भन्न सकिएको छैन । समयसँगै यसका उत्तर परिमार्जित हुँदै आएका छन् ।
नेपालमा क्यान्सरको अवस्था
क्यान्सर अर्थात् कोषिकाहरूको अनियन्त्रित विकास हुनु वा कोषिकाहरू बढेर एक ठाउँबाट अर्को ठाउँमा सर्नु । समयमा उपचार नगर्ने हो भने यसले मानिसको ज्यानसमेत लिन्छ ।
अविकसित र विकासोन्मुख देशहरुमा क्यान्सरको जोखिम बढ्दो छ । नेपालमा हरेक वर्ष करिब २५ देखि ३० हजारको हाराहारीमा क्यान्सरका बिरामीहरु अस्पतालसम्म पुग्ने गरेको तथ्याङ्कले देखाउँछ ।
विश्व स्वास्थ्य संगठनको ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’को तथ्याङ्कअनुसार सन् २०१८ मा नेपालमा क्यान्सरबाट तीन हजार ६ सय ६५ जनाको मृत्यु भयो ।
नेपालमा क्यान्सरको अवस्था जति डरलाग्दो छ त्यसको उपचार प्रक्रिया उत्तिकै जटिल । एकातिर पैसावाला र पहुँचवालाहरु देशविदेशका दक्ष, अनभवी डाक्टर कहाँ पगेर मृत्युको मुखबाट समेत फर्किन्छन् भने अर्कातिर गरिब, निमुखाहरुले भएको घरजग्गा समेत बेचेर सडकमा ओर्लनुपर्ने अवस्था आउँछ ।
नेपालमै रहेको नेसनल क्यान्सर रजिष्ट्रीले हरेक वर्ष नेपालका करिब १ दर्जन अस्पतालबाट क्यान्सर रोगीहरुको तथ्याङ्क संकलन गर्छ । सोको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष करिब १० हजारको हाराहारीमा क्यान्सरका बिरामी दर्ता हुने गर्छन् । दर्ता नभएको सङ्ख्या करिब २० देखि ३० हजार हुनसक्ने अनुमान छ ।
क्यान्सरको इतिहास
इजिप्टमा भएका मानव अवशेषहरुमा पाइएको ट्युमर नै क्यान्सरको सबैभन्दा पुरानो प्रमाण भएको बताइन्छ । इजिप्टका ऐतिहासिक हस्तलिपिहरुमा पनि यस बारेमा उल्लेख गरिएको छ । क्यान्सर भन्ने नाम नै प्रयोग नगरिएपनि प्राचीन इजिप्सियन पाठ्यक्रमहरुमा ८ प्रकारका ट्युमरका बारेमा लेखिएको पाइएको छ । सो पुस्तकहरुमा एड्विन स्मिथ प्यापिरसको नामले व्याख्या गरिएको यस रोगलाई पहिलो पटक ‘क्यान्सर’ नाम दिने व्यक्ति हिपोक्रेट्स हुन् जसलाई ‘फादर अफ मेडिसिन’ भनेर पनि चिनिन्छ । हिपोक्रेट्सले अल्सर गराउने र नगराउने दुई किसिमका ट्युमरलाई कार्सिनोस र कार्सिनोमा नाम दिएका थिए । ग्रिक भाषामा क्यान्सरको अर्थ हो, गंगटा । गंगटाको हातखुट्टाजस्तै आकार लिएर फैलिने भएकाले यस रोगलाई क्यान्सर नाम दिइएको थियो ।
किन पत्ता लाग्न सकेको छैन क्यान्सरको उपचार ?
मानिसलाई संसारकै पहिलो एटम बम बनाउन ३ वर्ष मात्र लागेको थियो तर, एउटा रोगको औषधि पत्ता लगाउन यतिका समय लाग्नु स्वभाविक हो ? अनुसन्धानकर्ता तथा चिकित्सकहरु यसो भन्छन्ः
क्यान्सर नाम एक, स्वरुप अनेक
क्यान्सर उतिनै प्रकारको हुन्छ जति यसबाट संक्रमित मानिसहरु छन्, भन्छिन् डा.जोएस ओहम । उदाहरण दिँदै उनी भन्छिन्, मानौं जुम्ल्याहा दिदीबहिनीलाई ब्रेस्ट क्यान्सर छ, उनीहरुको डिएनए पनि उस्तै हुन्छ र उस्तै जिनेटिक म्युटेसन भएर जन्मिएका हुन्छन् । तर, एकजनाको शरीरले उपचारलाई सकरात्मक ढङ्गले प्रतिक्रिया दिइरहेको हुन्छ भने अर्कोकोले हुँदैन । यस्तो अवस्थामा एकजना बाँच्छन् र अर्को मर्न पनि सक्छन् ।
भलै ती दिदीबहिनी एउटै डीएनएको साथ जन्मिएका थिए तर, जीवनकालमा उनीहरुमा फरक फरक वातावरणीय कारकहरुको प्रभाव परेको हुन सक्छ जस्तै कीटनाशक औषधि, भाइरल संक्रमण, धुम्रपान, अस्वस्थ्यकर खाद्य पदार्थ वा पीडादायी अनुभवहरू(जसले सामान्य जीनलाई चालू वा बन्द गर्न सक्दछ) । यही कारणले उनीहरुमा क्यान्सरको जोखिम कम वा बढी भएको हुन सक्छ ।
डिएनएमा आउने परिवर्तनले मानव शरीरमा क्यान्सरका कोषिकाहरु उत्पन्न गर्दछ । सोही परिवर्तनका कारण ती कोषिकाहरु तीव्र गतिमा असामान्य ढङ्गले बढ्दै जान्छन् । यो परिवर्तन त्यो बिन्दूसम्म पुग्छ जहाँ सबै कोषहरु एकअर्का भन्दा फरक हुन पुग्छन् ।
यसो हुँदा ट्युमरको डिएनए स्वयम संक्रमित व्यक्तिको डिएनएसँग समेत मिल्दैन । अन्य संक्रमित व्यक्तिको डिएनएसँग मिल्ने त झन् कुरै भएन ।
एउटै ट्युमरमा फरक कोषहरु
यस्तो अवस्था प्राय पाठेघरको क्यान्सर, ब्रेस्ट क्यान्सर लगायतका क्यान्सरहरुमा देखापर्ने गरेको छ । एउटै ट्युमरमा फरक कोष हुँदा कुनै थेरापी वा उपचारले एक किसिमको कोषमा काम गर्छ भने त्यही ट्युमरको अर्को कोषमा नगर्न सक्छ । जसकारण ती कोषहरु फेरि बढ्दै जाने र नयाँ टयुमर पलाउने सम्भावना बढी हुन्छ ।
डा.ओहम भन्छिन्, ९९ प्रतिशत कोषमा काम गरेतापनि बाँकी एक प्रतिशत कोषहरु फेरि उस्तै ट्युमर जन्माउन सक्षम हुन्छन् ।
क्यान्सरका कोषहरु समयसँगै परिवर्तन हुन्छन्
कहिलेकाहीँ प्रभावकारी सावित भइरहेको औषधि वा उपचारविधिले एक्कासी काम नगर्न सक्छ । क्यान्सरका कोषहरुले समयसँगै त्यस विधिसँग प्रतिरोध गर्दै बाँच्न सिक्ने भएकाले त्यसो हुन्छ ।
डाक्टरको सल्लाह अनुसार कहिलेकाहीँ एउटा उपचार विधिबाट अर्कोमा जान पनि सकिने ओहम बताउँछिन् ।
यसको अर्थ क्यान्सरको उपचार पत्ता लगाउन असम्भव नै हो त ?
यस विषयमा डा.ओहम भन्छिन्, उपचार पत्ता लागिसकेको छैन तर, प्रगति हुँदैछ । उनका अनुसार विगतको तुलनामा धेरै नयाँ थेरापी र उपचार विधिहरु अभ्यासमा आएका छन् जुन सफल पनि भएका छन् ।
केही वर्ष अघिसम्म उपचार गर्नै नसकिने क्यान्सरका केसहरुलाई अहिले निको समेत पार्न सक्नुले पनि यो प्रमाणित गरेको ओहमको भनाइ छ ।
यद्यपि, पूर्णरुपमा निको भएतापनि क्यान्सरका केही कोषहरु बिरामीको शरीरमा रहिरहने बताउँछन् चिकित्सक । जसको अर्थ हो, सो व्यक्तिमा फेरि क्यान्सर बल्झिने सम्भावना हुन्छ जुन उपचार भएको ५ वर्षभित्रमा भइसक्ने चिकित्सकहरुको भनाइ छ । कहिलेकाहीँ ५ वर्षपछि पनि नआउला भन्न सकिन्न ।
कि फसेको हो मेडिकल माफियाको चंगुलमा ?
औषधि उत्पादक कम्पनी देखि नेता, लगानीकर्ता, चिकित्सक आदिको साँठगाँठ हुने, जानीजानी कुनै रोगको औषधि पत्ता नलगाउने, बजारमा रोगको उपचार नै पत्ता नलागेको भ्रम फैलाउने, रोकथामका लागि महंगो उपचार पद्धति अपनाउन बिरामीलाई बाध्य बनाउने, उपचार पद्धति चरणवद्ध रुपमा अपनाइरहनुपर्ने बनाउने, त्यसको फाइदा सबैले मिलीजुली खाने… यो सिलसिला कुनै थ्रिलर चलचित्रको कथावस्तु जस्तो लाग्न सक्छ । तर यही कथाजस्तो लाग्ने दृश्य हाम्रो वास्तविकता रहेछ भने ?
पिटर गोत्चे नामक एक लेखकले आफ्नो पुस्तक ‘डेड्ली मेडिसिन एण्ड अर्गनाइज्ड क्राइमः हाउ बिग फार्मा ह्याज करप्टेड हेल्थकेयर’मा स्पष्ट लेखेका पनि छन् कि हाम्रो स्वास्थ्य क्षेत्र यस्तै प्रवृत्तिका कारण आफै बिरामी परेको छ ।
गोत्चेले पुस्तकमा ठूल्ठूला फर्मासिउटिकल्स तथा औषधि उत्पादक कम्पनीहरुले कसरी स्वास्थ्य क्षेत्रमाथि आफ्नो पकड बनाएका छन् भनेर निर्वाध रुपमा लेखेका छन् ।
उनको पुस्तकमा कसरी डाक्टर, बुद्धिजिवी, पत्रकार, संघसंस्था, विश्वविद्यालयका विभाग, नेता लगायत व्यक्ति तथा क्षेत्रहरुसँग ठूला औषधि उत्पादक कम्पनीहरुले ‘सेटिङ’ मिलाएका हुन्छन् भनेर प्रष्टै खुलाशा गरिएको छ ।
के क्यान्सरको औषधि तथा उपचार पनि यही भूमरीमा अल्झिएको हो त ? विषय सोच्न लायक छ ।
क्यान्सरका केही उपचार विधिहरु तल उल्लेख गरिएको छः
इम्युनोथेरापी(प्रतिरोधात्मक विधि)
खोप
टि सेल थेरापी
मोनोक्लोनल एन्टीबडी
इम्युन चेकप्वाइन्ट इन्हिबिटर्स
जीन थेरापी
भाइरो थेरापी
हार्मोन थेरापी
नानो पार्टिकल्स
क्यान्सरसँग सम्बन्धित केही भ्रम र यथार्थः
चन्द्रमामा पुग्न सक्ने हामीले अहिलेसम्म क्यान्सरको औषधि पत्ता लगाइसक्नुपर्थ्यो
क्यान्सरको औषधि पत्ता लगाउनु अन्तरिक्षको अध्ययन भन्दा जटिल भएको छ । क्यान्सरको प्रकृति मान्छे अनुसार फरक हुने र समय अनुसार क्यान्सर लागेका कोषिकाहरुमा पनि परिवर्तन आइरहने भएकाले चिकित्सकले कुनै एक पद्दति जानेर वा अपनाएर क्यान्सर निको पार्न सम्भव नै हुँदैन ।
नियमित चेकजाँच र आधुनिक प्रविधिले सबै क्यान्सर पहिलो चरणमै पत्ता लाग्छ
नियमित चेकजाँचले शुरुवाती चरणमै क्यान्सर पत्ता लाग्न सहज हुने भएतापनि यसको ग्यारेन्टी हुँदैन ।
क्यान्सर पीडादायी हुन्छ
कुनैकुनै क्यान्सरले पीडा दिँदैनन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो । अन्तिम चरणमै पुगेको क्यान्सर छ भने पनि चिकित्सकहरुको प्राथमिकता बिरामीको दैनिक जीवनमा आँच नआओस् भनेर कम्तीमा दुखाइ कम गर्ने हुन्छ ।
शल्यक्रिया गर्दा क्यान्सर झन् फैलिन्छ
शल्यक्रियाले झनै क्यान्सर बढाउँछ भनेर अहिलेसम्म कुनै प्रमाण छैन । यही अफवाहको आधारमा शल्यक्रिया नगरेर क्यान्सरलाई झन् बढ्ने मौका दिनुहुन्न ।
शल्यक्रिया गर्नुअघि भन्दा गरेपछि निको हुने प्रक्रियामा झनै पीडा हुने भएकाले यस्तो गलत बुझाइ रहन गएको हुनसक्छ ।
एकै खालको क्यान्सर हुनेहरु उस्तै उपचार पद्धतिबाट निको हुन्छन्
भलै एकै प्रकारको क्यान्सर होस् तर, उपचार प्रक्रिया भने मानिसको शरीर, खानपान, आनीबानी, रहनसहन आदि अनुसार भिन्नभिन्नै हुनसक्छ ।
(एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया