काठमाडौं । लिली सिंह (आइआइ सुपरवुमनी), प्यूडिपाइ, डूड पर्फेक्ट, मिस्टर बिस्ट लगायतका नामहरु त सुन्नु नै भएको होला । उनीहरु ‘यूट्युब’ सेलिब्रेटी हुन् । युट्यूबले उनीहरुलाई विश्वमा चर्चित बनाएको छ । करोडौं फ्यान दिलाएको छ । उनीहरुको जीवनस्तर कुनै फिल्म स्टारको भन्दा कम छैन । उदाहरण हेर्न टाढा जानै पर्दैन हाम्रै छिमेकी मुलुक भारतमा पनि भुवन बम, आशिष चाञ्चलानी, प्राजक्ता कोहली लगायतका यूट्युबरहरुले यूट्युबमार्फत् छुट्टै छवि बनाइसकेका छन् ।
अहिलेको समयमा यूट्युब एउटा आकर्षक ‘करियर’ बनेको छ । हुन पनि विश्वभरिका दर्शकसम्म पहुँच, समयको पावन्दी नहुनु, आफ्नो कल्पनाशक्तिको भरपुर प्रयोग गर्न पाउनु, आफ्नो सामथ्र्यले भ्याएसम्म काम गर्न पाउनु, रोक्नेटोक्ने, हक जमाउने कोही नहुनु आदिजस्ता कुराहरुले पनि यस क्षेत्रप्रति विशेष गरेर युवा वर्गको चासो बढेको छ ।
आफ्नो प्रतिभा र सिर्जनशीलतालाई प्रस्तुत गरेर पैसा कमाउन पाउनु त हामी सबैको ‘ड्रिम जब’ होइन र ? तर यूट्युबमा हुने सबैले पैसा कमाउँछन् त ? विभिन्न भूगोल, संस्कृति, परवेश, योग्यता बाट स्वतन्त्र रुपमा आएका व्यक्तिहरुसँग खुल्ला ‘डिजिटल’ मञ्चमा प्रतिस्पर्धा गर्न कतिको गाह्रो होला ?
त्यसैले हरेक पेशाको जस्तै चुनौती यस पेशामा पनि छ । आज हामी यस पेशाका केही फाइदा र बेफाइदाका बारेमा प्रष्ट्याउने छौंः
आफ्नो रुचिलाई पछ्याउने उर्जा दिन्छ
संसारमा कति त्यस्ता व्यक्तिहरु होलान् हो आफूलाई इच्छा नभएको काम गरिरहेका छन् ? किन ? पेट पाल्न ।
विद्यार्थीलाई सानैदेखि ‘स्कोप’ भएको विषय पढ्न किन सुझाइन्छ ? पैसा कमाउन ।
पैसा कमाउनेहरुको भीडमा कतिजना ‘कस्तूरी मृग’हरु आफ्नो प्रतिभा(कस्तूरी)लाई कुल्चेर सँगसँगै दौडिरहेका होलान् ? तिनै कस्तुरी मृगहरुले आफ्नो प्रतिभा प्रष्फुटन गर्ने मौका पाउँछन् यूट्युबबाट । यदि च्यानलका फलोअर्स कम छन् र यसबाट पैसा कमाउन सकिँदैन भनेपनि कम्तीमा आफ्नो रुचिलाई पछ्याइराख्ने अवसर चाहिँ पाउँछन् उनीहरुले । अनि आफ्ना रुचि जस्तै रुचि भएका अन्य व्यक्तिहरुसँग जोडिने मौका पनि पाउँछन् ।
डिग्री चाहिँदैन न त उमेरकै हद तोकिएको छ
यूट्युबर हुनलाई वर्षौंसम्म कलेज धाएर डिग्री हासिल गर्नुपर्छ भन्ने छैन । न त यति उमेर नाघेको हुनुपर्छ वा यति चाहिँ कटेको हुनु हुन्न भन्ने सीमारेखा कोरिएको हुन्छ ।
यूट्युबर बन्नुछ ? आफ्नो मोबाइल फोन झिक्नुस् र भिडियो खिच्न थाल्नुस् ।
अलि व्यवसायिक देखिनुछ भने डिएसएलआर र भिडियो बनाउन आवश्यक पर्ने सामान किन्नुहोस् र भिडियो बनाउन शुरु गर्नुस् ।
यस मञ्चमा जम्नका लागि प्रतिभा भए पुग्छ । आफ्ना दर्शकहरुलाई कस्तो सामाग्री मनपर्छ भन्ने बुझेर त्यहीअनुसारको भिडियो बनाउँदै जाँदा च्यानलको वृद्धि हुँदै जान्छ । कतिपय गायक, संगीतकर्मी, डान्सरहरुले यूट्युबमा व्यापक दर्शकहरुको साथ पाएपछि विभिन्न रेकर्डिङ कम्पनी, रियालिटी शो लगायत ठूला प्लेफर्ममा अवसर पनि पाएका छन् ।
जहाँ आफू त्यहीँ अफिस
यूट्युबमा भिडियो बनाउनलाई कार्यालय, कर्मचारी आदि हुनुपर्छ भन्ने छैन । संरचनाको आवश्यकता नै पर्दैन । आफ्नै कोठा, छत, भान्सा, बैठक कोठा, घर वरिपरि लगायत आफूलाई पायक पर्ने ठाउँमा भिडियो बनाउन सकिन्छ ।
धेरै पैसा लगानी गरेर नयाँ, महंगा ठाउँहरुमा जाने भन्दा पनि आफैसँग भएको स्रोत तथा साधनलाई भरपुर प्रयोग गरेर भएको ठाउँलाई राम्रो बनाउन सकिन्छ ।
आफ्नो ब्राण्डको छुट्टै कार्यालय होस् भन्ने हिसाबले राम्रो आम्दानी हुन थालेपछि अफिस बनाउनु पनि उचित हुन्छ तर, यसैका लागि हतार गर्नुपर्छ भन्ने बाध्यता छैन ।
चाप हुँदैन
यूट्युबमा निकै प्रतिस्पर्धा छ । जो, जहाँबाट, जसरी पनि सामेल हुन मिल्ने खुल्ला नीतिका कारण आजकल धेरैजनाले यूट्युबलाई आफ्नो व्यवसाय बनाएका छन् । त्यसैले ती सबैको बीचमा आफूलाई अलग सावित गर्न, उत्कृष्ट सावित हुन त्यति सजिलो चाहिँ छैन । यद्यपि, यहाँ टिक्नलाई आफ्ना दर्शकहरुको इच्छा बुझे पुग्छ ।
बिरामी हुँदा विदा नपाइने हो कि या ‘डेडलाइन’ आइसक्दा पनि पेपरवर्क नसकिने हो भन्ने तनाव हुँदैन यूट्युबरहरुलाई । समयमा काम नसकिँदा गाली खानुपर्दैन । फेरि अन्य क्षेत्रमा काम गरिरहेकाहरुले पनि हप्ताको एउटा वा महिनाको एउटा भिडियो बनाएर यूट्युबमा हाल्न सक्छन् ।
यूट्युबको काम असाध्यै लचिलो हुने गर्दछ । बिहान ९ देखि ५ सम्म डेस्कमा बसेर गर्नुपर्ने पट्यार लाग्दो कामबाट छुटकारा दिन्छ यूट्युबले । आफूलाई पायक पर्ने समयमा, आफ्नो मुड र परिस्थिति हेरेर मात्र काम गर्न मिल्छ ।
अब यूट्युबका केही बेफाइदाहरु पनि हेरौं ।
लगानी बढी, उपलब्धि शून्य
एकल व्यक्तिको लगानीमा यूट्युब च्यानल खोल्ने हो र त्यसमा पनि अझै स्तरीय कार्यक्रम पस्किन चाहने हो भने लगानी अलि बढी गर्नुपर्ने हुनसक्छ । प्राय राम्रो स्टुडियो निर्माण, क्यामेरा तथा साउन्डका राम्रा सामानहरु प्रयोग गर्ने भनेकै कम्पनीले लगानी गर्दा हो । कम्पनीले दीर्घकालीन योजना बनाएर विभिन्न किसिमका शो तथा श्रंखलावद्ध कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले एकैपटक धेरै लगानी गर्दछ ।
यद्यपि एकल व्यक्तिका लागि यो गाह्रो हुनसक्छ । आफूलाई भिडियो खिच्न, सम्पादन गर्न आउँदैन भने यसका लागि छुट्टै जनशक्ति नियुक्त गर्नुपर्ने हुन्छ ।
फेरि यतिको लगानी गरेर बनाएको कार्यक्रम चल्छ भन्ने पनि छैन । डिजिटल प्लेटफर्महरु अप्रत्याशित किसिमका जो हुन्छन् ।
निरन्तरता, स्थिरता र धैर्यता
यूट्युबमा जान चाहनेहरुका लागि सबैभन्दा महत्वपूर्ण पाठ के हो भने– यस क्षेत्रमा निरन्तरता, स्थिरता र धैर्यता कायम गर्न सक्नुपर्दछ ।
भिडियो सामाग्रीहरु हालिरहने र अघिल्ला सामाग्रीको तुलनामा गुणस्तर पनि नखस्किने हो भने च्यानलप्रति दर्शकहरुको चासो बनिरहन्छ । भलै राम्रो होस् तर एकपटक भिडियो हालेर धेरै लामो समयसम्म गुमनाम रहँदा दर्शकहरुले बिर्सिन सक्छन् । फेरि, निरन्तर भिडियो हालिरहे पनि त्यसमा केही भिन्नता पाइएन, गुणस्तर पनि झन् खस्किँदै गयो भने पनि दर्शकहरुले तपाईको च्यानल ‘अनसस्क्राइब’ गर्न समय लगाउने छैनन् ।
त्यस्तै, अर्काकोमा जागिर खाएर महिना कट्नासाथ तलब थाप्ने बानी भएकाहरुलाई यूट्युब अलि झन्झटिलो लाग्न सक्छ । शुरुशुरुमा यसमा धेरै समय लगानी गरेर शून्य प्रतिफल पाउँदा मान्छे हतोत्साहित हुनसक्छ ।
एक तथ्याङ्क अनुसार हरेक मिनेट यूट्युबमा ३०० घण्टा भन्दा बढी भिडियो अप्लोड गरिन्छन् । यति धेरै विकल्पहरुमा दर्शकले कसको भिडियो हेर्ने, कसको नहेर्ने ?
त्यसैले कहिलेकाहीँ ‘ट्रेन्ड’ लाई पछ्याएर बनाएको भिडियो पनि नचल्न सक्छ । अतः यूट्युबर बन्न चाहनेहरुले धैर्य हुनैपर्ने हुन्छ ।
आइडिया आफ्नो, लोकप्रिय अरु ?
यूट्युब एउटा खुल्ला मञ्च हो । यसका प्रयोगकर्ता व्यापक छन् । यस भवसागरबाट कसैले एक चिम्टी सामाग्री उठाएर आफ्नो तरिकाले प्रयोग ग¥यो भने पत्तो पाइँदैन । कतिले त अर्काको भिडियो कन्सेप्ट पनि चोरिरहेका हुन्छन् ।
कहिलेकाहीँ कुनै यूट्युबरले एउटा साधारण भिउज भएको भिडियोको आइडिया चोरेर अर्को भिडियो बनाउँछन् र त्यही भिडियो भाइरल भइदिन्छ ।
यसरी आफ्नो आइडियामा अरु लोकप्रिय बन्दा ‘ओरिजिनल’ भिडियो निर्माण गर्ने व्यक्ति अन्यायमा पर्दछ ।
नेपालमा क्लाईमेक्समा नपुगी क्रेज किन घट्यो ?
जस्तोसुकै ठाउँ, समय, व्यक्तिले समान ‘प्लेटफर्म’ पाउने यूट्युबमा नेपालीहरुको चहलपहल किन कम ? भन्ने प्रश्न नउठ्ने होइन । नेपाली यूट्युबरहरु अझै पनि ‘सेलिब्रेटी’को हैसियतसम्म किन जाग्न सकेका छैनन् होला त ?
किनकी नेपाली यूट्युबरहरुले यूट्युब बुझेका छैनन् ।
धेरैलाई लाग्छ यूट्युबमा हँसाउने, मनोरञ्जनात्मक, उच्छृंखल, उत्तेजनात्मक सामाग्री मात्रै हेरिन्छन् । त्यसैले शुरुवातदेखि नै नेपालमा यूट्युब कल्चर नै धमिलियो । अश्लील सामाग्री बेचेर दर्शक कमाउने होडबाजी चल्न थाल्यो । दुख, पीडा, भोगाइ जस्ता मानव संवेदनाको धज्जी उडाउन थालियो । मान्छेको आँसु बेच्न थालियो । भाइरल हुन साना बच्चादेखि वृद्धवृद्धासम्मलाई ‘दुरुपयोग’ गर्न थालियो ।
हातमा क्यामेरा र माइक्रोफोन बोकेर जसले पनि ‘पत्रकार’को लेप लगाउन थाले । आचारसंहिता मजाक बन्यो । व्यवसायिकता माथि त व्यङ्ग्य नै भयो ।
यूट्युबको ‘स्वतन्त्रता’लाई मनलाग्दी गर्न दुरुपयोग गरियो । कमिलाको ताँतीमा जसरी अगाडिको कमिलालाई पछाडिका सबै कमिलाले लामवद्ध भएर पछ्याउँछन् त्यसैगरी यही प्याटर्नलाई पछ्याइयो । अनि यही ट्रेन्ड बन्यो । अन्तत्वगत्व, नेपाली यूट्युब चुचुरोमै नपुगी अवरोहणको अवस्थामा पुग्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया