बेइजिङ । चीनको सिचुआन प्रान्तको मियानयाङ विमानस्थलमा एक अनौठो घटना घटेको समाचार बाहिर आएको छ । एक व्यक्तिले विमानले उडान भर्नभन्दा ठीक अघि आपत्तकालिन द्वार खोलिदिएका छन् ।
चिनियाँ मिडियामा प्रकाशित समाचारमा यी व्यक्तिको थर ‘चेन’ भनेर उल्लेख गरिएको छ । गर्मी लागेर हावा खानका लागि उनले सो ढोका खोलेको बताएका छन् ।
प्रहरीले उनलाई हिरासतमा लिएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार हाइनान टापूबाट फर्किरहेका चेनले आफूलाई गर्मी लागेको झ्याल खोल्न खोजेका थिए । तर, त्यो झ्याल नभएर आपत्कालिन द्वार थियो । उनले बल लगाउने बित्तिकै पूरै प्यानल खसेको थियो । साथै, आपत्तकालिन स्लाइड पनि बाहिर निस्केको थियो ।
घटनापछि विमानले केहीबेर रोको थियो भने प्रहरीले चेनलाई १५ दिनका लागि हिरासतमा पठाएको छ । विमानमा भएको नोक्सानीको भरपाईका लागि उनीमाथि ११ हजार डलर जरिवाना पनि लगाइएको छ ।
मिडिया रिपोर्टमा विमान कम्पनीको नाम पनि उल्लेख गरिएको छैन । सुरक्षा एजेन्जीहरुले पनि यो घटनाको जाँच गरिरहेको बताइएको छ । यो घटना अनौठो लागेपनि यस्तै घटना सन् २०१६ को अप्रिलमा सेनझेन विमानस्थलमा पनि भएको थियो ।
पहिलो पटक विमानमा यात्रा गरिरहेका ३० वर्षीय बुलडोजर ड्राइभरले पनि आपत्तकालिन द्वार खोलेका थिए । उनले पनि हावा खानका लागि ढोका खोलेको बताएका थिए । उनलाई एक हप्ता हिरासतमा राखेर ५ सय युआन जरिवाना गरिएको थियो ।
गत वर्ष पनि एक व्यक्तिले आपत्तकालिन द्वारमा हात अड्याएर राख्दा यस्तै घटना भएको थियो । उनलाई १० दिन हिरासतमा राखिएको थियो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया