काठमाडौं । एक नयाँ अनुसन्धानले पत्ता लगाए अनुसार हप्ताको केही दिन मात्रै १० मिनेटसम्म फोनमा कुराकानी गर्नाले पनि एक्लोपन कम हुन्छ ।
अनुसन्धानका लागि छानिएका २४० जनामध्ये आधासँग एक महिनासम्म फोनमा छोटो कुराकानी गरियो । उनीहरुले औसतमा २० प्रतिशत एक्लोपन महशुस गर्न कम भएको बताए ।
सञ्चार कलामा तालिमप्राप्त स्वयम्सेवकहरुले गर्ने उक्त कुराकानीमा सक्रिय भएर सुन्ने र जे विषयमा गफ भइरहेको हो त्यस बारेमा प्रश्नहरु गर्ने टेक्निक अपनाइएको थियो ।
‘मिल्स अन ह्वील्स’ नामक कम्पनीका ग्राहकरुलाई अध्ययनमा समावेश गरिएको थियो जसमा कुराकानीको नेतृत्व पनि उनीहरुलाई नै गर्न दिइन्थ्यो । के विषयमा बोल्ने भनेर पनि उनीहरुले नै निर्धारण गर्ने गर्दथे । यसरी विषय छनोटको अधिकार देखि लिएर कुराकानीको नेतृत्व पनि उनीहरुले नै गर्न पाउनुले सहभागीहरुलाई आफ्नो नियन्त्रण कायम भएको अनुभूति गराउँथ्यो । जीवनका अन्य पक्षहरुमा आफ्नो केही जोर नचलेपनि कम्तीमा कुराकानीमा नियन्त्रण रहने अनुभूति उनीहरुले गर्न पाउने विज्ञ बताउँछन् ।
अनुसन्धान शुरु भएपछिको पहिलो हप्ताको पाँच दिन सहभागीहरुले चाहेको समयमा नै स्वयम्सेवकले फोन गरे । त्यसपछिका दिनमा सहभागीहरुले हप्तामा दुई पटक मात्रै फोन गर्ने कि पाँच पटक भनेर आफूलाई पायक पर्ने हिसाबले विकल्प चुने ।
पहिलो हप्ता १० मिनेट भन्दा बढी समयसम्म फोनमा कुरा भयो । त्यसपछि बाँकी दिनहरुमा भने १० मिनेट भित्र कुराकानी टुङ्ग्याइन्थ्यो । जसमा सहभागीहरुले आफ्नो व्यक्तिगत जीवनका बारेमा बताउनुका साथै स्वयंसेवकहरुको बारेमा पनि सोध्ने गर्दथे ।
अध्ययनको प्रभावकारिता मापन गर्नलाई अघि र पछिका दुई अवस्था तुलना गरिएको थियो । नतिजामा प्रशंसनीय अन्तर पाइयो । एक्लोपन मापन गर्ने एकदेखि नौ सम्मको स्केल जहाँ १ सबैभन्दा कम र ९ सबैभन्दा बढी हो, मापन गर्दा अध्ययनको शुरुवातमा ६.५ नतिजा आएको थियो भने उक्त अनुसन्धानपश्चात् नतिजा ५.२ मात्र आयो । कतिसम्मको परिवर्तन स्वास्थ्यको दृष्टिकोणले सही हो भनेर नतोकिएको भएतापनि यस गिरावटले यही प्रष्ट्याएको छ कि सो अनुसन्धानले सहभागीहरुमा गहिरो प्रभाव पार्न सफल भयो ।
अध्ययन शुरु हुनुअघि र अन्त्यमा सहभागीहरुको एन्जाइटी र डिप्रेसनको मात्रा समेत मापन गरिएको थियो । जसमा पनि भारी मात्रामा गिरावट आएको पाइयो । फोनमा कुराकानी गर्नुअघि र पछिको अवस्थामा ३० प्रतिशत भिन्नता पाइएको थियो ।
यस नतिजाले विज्ञहरुलाई समेत अचम्ममा पा-यो किनकी उनीहरु एक्लोपनसँग सम्बन्धित अनुसन्धान गर्दै थिए तर यसले अप्रत्यक्ष रुपमा अन्य मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पारेको थियो ।
समाजमा यस्ता समस्यासँग लड्ने आआफ्नै तरिकाहरु हुन्छन् । तर, ‘मेडिकल्ली प्रुभन’ अर्थात् अनुसन्धान मार्फत् पाइएका नतिजा र त्यसको आधारमा सुझाइएका उपायहरु भने कमै रहेका छन् ।
यस अनुसन्धानले बोलचाल, कुराकानी, अन्तरक्रियालाई मानसिक समस्याको मूख्य ओखतीका रुपमा प्रमाणित गरेको छ । आफूलाई समस्या छ भने वा मानसिक विचलन बढेको अवस्थामा सबैभन्दा भर लाग्ने मान्छेसँग कुरा गर्दा, मनको बह पोख्दा त्यसको असर कम हुँदै जाने विज्ञहरु बताउँछन् ।
बढ्दो तनावलाई कसरी व्यवस्थापन गर्ने ?
अहिले प्रायजसो व्यक्ति तनावको शिकार बन्न पुगेको छ । प्रतिस्पर्धा, जीवनशैली, भागदौड, रहनसहन नै यस्तो छ कि व्यक्ति नचाहँदा नचाहँदै आफ्नै मस्तिष्कको दास हुनपुग्छ । त्यसैले, तनावले व्याप्त मस्तिष्कलाई कसरी शान्त पार्ने भन्ने बारेमा मनोविदको परामर्श यस्ता छन्ः
भलै तनावले मस्तिष्कमा डेरा जमाउँछ तर यसमा धेरैथोर प्रभाव हाम्रो खानपिनले पनि पारिरहेको हुन्छ । त्यसैले, धेरै अमिलो, पिरो, गुलियो, जंक फूड आदको सेवन नगर्ने । शुद्ध, सादा, शाकाहारी खानेकुराको सेवन गर्ने ।
जाँडरक्सी, चुरोट लगायत मादक पदार्थले तनावमुक्त बनाउने जस्तो लागेपनि त्यो क्षणिक हो । दीर्घकालीन रुपमा यसले झनै तनाव थपिदिन्छ । त्यसैले यस्ता चीजबाट टाढै रहने ।
योग, ध्यानमा मन लगाउने
संगीत, नृत्य, चलचित्र, चित्रकला आदिजस्ता कलात्मक कार्यमा मन भुलाउने
आफूनिकट व्यक्तिसँग आफ्नो अनुभूतिका बारेमा बताउने
कहिलेकाहीँ घुम्न निस्किने, भौतिक भन्दा प्राकृतिक वातावरणमा रमाउने प्रयास गर्ने
स्वस्थ र शान्त शरीर तथा मस्तिष्कका लागि खाना, रहनसहन जति महत्वपूर्ण छ उतिकै महत्वपूर्ण छ निन्द्रा पनि । त्यसैले, दैनिक ८ घण्टा निन्द्रा पु-याउनुपर्दछ । यदि राति निन्द्रा नै लाग्दैन भने के गर्ने ? प्रश्न उठ्न सक्ला । यस्तो अवस्थामा निम्न उपायहरु अपनाउन सकिन्छः
– गहिरो निन्द्राका लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् ।
– सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् ।
– बिहान चाँडै उठ्ने र मर्निङ वाकमा निस्कने गर्नुहोस् ।
– गहिरो निद्राका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवम् ढाड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन ।
– सिरानी धेरै अग्लो वा होंचो हुनु हुँदैन । सम्भव भएसम्म खुट्टाको भागलाई टाउको भन्दा थोरै उच्च बनाउनुहोस् ।
– सुत्नासाथ निद्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् ।
– मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहो¥याउनुहोस् ।
सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् ।
– सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ ।
– सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं ।
– धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया