काठमाडौं । एउटा बुद्धिमान व्यक्तिले ठूल्ठूला काम गर्दैन बरु साना कामलाई ठूलो तरिकाले गर्दछ भन्ने भनाइ हामीले बेलाबेलामा सुन्दै आएका छौँ । साना काम ठूलो तरिकाले गर्नु भनेको के हो त ? ठ्याक्कै उदाहरण दिनुपर्दा यो वाक्यको पुष्टि गरेको छ ‘अन्ट्रोप्रेनरसीप’ले ।
अहिले जमाना नै ‘स्टार्ट अप’को छ । विशेष गरी युवा पुस्ता ‘स्टार्ट अप’तर्फ आकर्षित भएका छन् । १० देखि ५ बजेसम्मको पट्यारलाग्दो जागिरमा आफूलाई सीमित गर्न नचाहने र नयाँ नयाँ सम्भावना र अवसरको खोजी गर्ने महत्वकांक्षा बोकेका युवाहरु सामान्य लाग्ने कामलाई नै सिर्जनात्मक ढंगले गरेर लाखौँ लाख आम्दानी गरिरहेका छन् । अहिले प्रचलनमा रहेका स्टार्ट अपहरुको विशेषता नै यही हो कि ती भयंकर अचम्मको ‘आइडिया’मा आधारित छैनन् बरु दैनिक जीवनमा आवश्यक पर्ने सेवालाई जतिसक्दो सहज र सिर्जनात्मक ढंगले प्रदान गर्ने लक्ष्य लिएर शुरु गरिएका छन् ।
नेपालमा पनि स्टार्ट अपको सम्भावना फस्टाउँदो छ । केही वर्ष यता उल्लेख्य सङ्ख्यामा स्टार्ट अपहरु स्थापना भएका छन् । तीमध्ये केही हुन्ः
टूटलः शिक्षित भट्टद्वारा सन् २०१७ मा स्थापित टूटल नेपालकै पहिलो ‘राइड शेयरिङ’ सेवा हो । काठमाडौंस्थित यस कम्पनीले ‘राइडर’हरु खटाएको हुन्छ जसले निश्चित शुल्क लिएर कम्पनीको सेवा क्षेत्र भित्रका जुनसुकै स्थानमा व्यक्तिलाई ल्याउने र पु¥याउने काम गर्दछन् ।
अफरिङ ह्यापिनेसः उपहार बनाउने, पु¥याउने देखि लिएर सरप्राइज इभेन्टको योजना बनाउने र आयोजना गर्ने यो कम्पनी नेपालमै आफ्नो प्रकारको पहिलो स्टार्ट अप हो । सन् २०१७ मा ४ जना पौरखी युवाहरुको समूहले स्थापना गरेको यस कम्पनीले अहिलेसम्म हजारौँ ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको छ । अफरिङ ह्यापिनेसले विशेष दिन वा अवसरमा ग्राहकहरुले चाहेको व्यक्तिसम्म उपहार पु-याइदिएर वा सरप्राइज दिएर सेवा पु¥याइरहेको छ ।
फूडमाण्डुः फूडमाण्डु खाना ओसारपसार गर्ने नेपालको पहिलो कम्पनी हो जसले काठमाडौंका १ सय भन्दा बढी रेस्टुरेन्टहरुबाट खाना लिएर ग्राहकसम्म पु¥याउने काम गरिरहेको छ । सन् २०११ बाट शुरु गरिएको यस कम्पनीका संस्थापक हुन् मनोहर अधिकारी ।
यूजी केक्सः सन् २०१२ देखि सेवा पु-याइरहेको यूजी केक्सलाई सन् २०१७ मा न्यू बिज्नेस एजद्वारा नेपालको सर्वोत्कृष्ट स्टार्ट अप कम्पनीका रुपमा पुरस्कृत गरिएको थियो । यूजी केक्सममार्फत् ग्राहकहरुले आफ्नो इच्छाअनुसारको फ्लेभर र आकार तथा स्वरुपमा केक बनाएर आफूले चाहेको स्थानसम्म ‘डेलिभरी’ समेत गराउन सक्छन् । यस कम्पनीकी संस्थापक हुन् निकिता आचार्य ।
हाम्रो पात्रोः सन् २०१० मा शंकर उप्रेतीद्वारा स्थापित हाम्रो पात्रो एउटा डिजिटल क्यालेन्डर हो । गूगल प्लेस्टोरमा भने यो सन् २०१२ देखि मात्र उपलब्ध हुन थालेको हो । ५ मिलियन भन्दा बढी पटक डाउनलोड गरिएको पहिलो र एक मात्र नेपाली एप हो हाम्रो पात्रो । अहिले यस एपमार्फत् तिथि, मिति मात्र होइन समाचार, भिडियो, राशिफल, कुण्डली थाहा पाउने देखि लिएर विविध सुविधाहरु प्राप्त गर्न सकिन्छ ।
इसेवाः नेपालको पहिलो डिजिटल वालेट हो इसेवा । यसबाट पैसा पठाउने, पाउने साथै तिर्ने लगायतका सुविधाहरु उपलब्ध छन् । खानेपानी, बिजुली, इन्टरनेटको बिल तिर्ने देखि लिएर हवाइजहाजको टिकट बुक गर्ने, सामान लिएको ठाउँमा तिर्ने, रिचार्ज गर्ने आदि जस्ता कामहरु इसेवा मार्फत् गर्न सकिन्छ ।
स्मार्ट धोबीः खासमा सुजन चौंलागाईको लन्ड्री सेवाको नाम ‘स्मार्ट क्लिन एण्ड ड्राइ अनलाइन लन्ड्री सर्भिस’ हो । तर, धोबीको परम्परागत स्वरुपलाई बदलिदिएर यस कामलाई व्यावसायिक रुप दिएकोमा उनलाई मानिसहरुले ‘स्मार्ट धोबी’ भनेर चिन्दछन् । वि सं २०७५ वैशाखमा बौद्धस्थित नयाँ बस्तीको एउटा सटरमा शुरु गरेको लुगा धोइदिने सेवाले अहिले सुजनलाई मनग्य आम्दानी दिलाइरहेको छ । जस्तोसुकै कामलाई पनि सिर्जनशील र समयसापेक्ष रुपमा गरियो भने पूरा हुन्छ भन्ने कुरा उनको जीवनबाट प्रमाणित हुन्छ ।
यिनका अतिरिक्त फूडमारियो, कायो, मसाला बिड्स, खल्ती एप, मेरो अफिस, अर्बान गर्ल, कारखाना, मिच्चा आदिजस्ता कम्पनीहरु पनि नेपालस्थित स्टार्टअपका केही उदाहरण हुन् ।
यसरी फस्टाएका स्टार्ट अपहरुको सफलता देख्दा धेरैलाई अहिलै जागिर छाडेर आफ्नै व्यवसाय शुरु गरौं जस्तो लाग्न पनि सक्छ । तर यी सफलताका कथाहरुका पछाडि सबैसँग आआफ्नै किसिमका संघर्षका कथाहरु पनि छन् । शून्यबाट शुरु गरेर विभिन्न आरोह अवरोह पार गर्दै सफलताको चुचुरोमा पुग्नु चानचुने कुरा होइन । त्यसका आफ्नै चुनौतीहरु छन् ।
अत्याधिक प्रतिस्पर्धाः समयको बन्धनमा बाँधिन नचाहने आजका युवाहरु पढाइ छाडेर भएपनि आफ्नै व्यवसाय शुरु गर्न तत्पर छन् । त्यसैले बजारमा नयाँनयाँ आइडिया आइरहेका छन्, नौला प्रयोगहरु अभ्यास भइरहेका छन् । यस्तो हुनाले व्यापक प्रतिस्पर्धा बढाउँछ । योजनाहरुको भीडले गर्दा कहिलेकाहीँ लायक आइडियाले समेत स्थान पाउँदैन ।
उच्च अपेक्षाः हरेक स्टार्टअप शुरु गर्ने व्यक्तिको केही न केही लक्ष्य हुन्छ । कहिलेकाहीँ उनीहरु आफ्नो व्यवसायको प्रकृति र स्तर नबुझी उच्च अपेक्षा राख्न पुग्छन् । कम मिहिनेतमा बढी प्रतिफल पाउने, सफलता पाउन हतारिने, आत्तिने जस्ता प्रवृत्तिहरुले गर्दा राम्रा स्टार्टअपहरु पनि डुब्न सक्छ ।
उपयुक्त कर्मचारी नपाउनेः स्टार्टअप शुरु गर्नुअघि संस्थापकहरुले निश्चित लक्ष्य निर्धारण गरेका हुन्छन् । ‘टार्गेट’ सेट गरेका हुन्छन् । तर, उनीहरुले नियुक्त गर्ने कर्मचारीले त्यसको मर्म नबुझेमा फेरि कम्पनीको आत्मा नै मर्छ । आफ्नो योजनालाई बुझ्ने र त्यस्तै किसिमको विधामा रुचि राख्ने खालका कर्मचारी भेट्न निकै मुस्किल छ ।
साइबर सुरक्षाः प्राय सबै स्टार्टअपहरुले आफ्नो सेवा तथा सुविधा डिजिटल माध्यमबाट प्रदान गर्न थालेका छन् । सेवाग्राही वा ग्राहकले आफ्नो कतिपय व्यक्तिगत जानकारीहरु सेवा उपभोग गर्ने क्रममा डिजिटल माध्यममै पठाइदिन्छन् । यसले सूचना तथा जानकारीहरु चोरी हुनसक्ने जोखिम बढाउँछ ।
ग्राहकको विश्वास जित्नः ग्राहक भनेका जुनसुकै व्यवसायका आत्मा हुन् । झन् स्टार्टअपका लागि त ग्राहक नै मूख्य तत्व हुन् जसले भनेर, अरुमाझ सो कम्पनीको व्याख्या गरेर, सामाजिक सञ्जाल मार्फत् प्रचार गरेर पनि कम्पनीको साख जोगाइरहेका हुन्छन् । यसका लागि संस्थाले पनि ग्राहकलाई आफूप्रति विश्वास दिलाउन सक्नुपर्छ जुन सहज काम पक्कै होइन ।
त्यसैले मार्केटमा जानुपहिले पर्याप्त अनुसन्धान, ज्ञान, पूर्ववत् बिजजनेसका केही अनुभव जानेर सुनेर बुझेर मात्रै बजारमा पस्नु राम्रो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया