आज महाशिवरात्री पर्व : देशभरका शिवालयमा घुइँचो, नगर्नुहोस् यी गल्ती

काठमाडौं । आज महाशिवरात्री पर्व देशभर मनाइँदैछ । हिन्दूहरुको महत्वपूर्ण चाडमध्ये एक मानिने यो पर्व फागुन कृष्ण चतुर्दशीका दिन मनाइने गरिन्छ । यस दिन रातभरि जागा रहेर, भजनकीर्तन गरेर, धुनी बालेर शिवको पूजाआराधना गर्ने चलन रहेको छ । कोही भने यसदिन उपवास पनि बस्ने गरेका छन् । बिहानै उठेर नुहाइधुवाइ गरी शिवलिंगमा बेलपत्र, जल, दुध अर्पण गरे शिवको पूजा सार्थक हुने हिन्दू मान्यता रहिआएको छ ।

महाशिवरात्री किन र कहिलेदेखि मनाइयो भन्ने विषयमा विभिन्न प्रकारका किंवदन्तीहरु छन् ।

तीमध्ये केही धार्मिक विश्वास यस प्रकार रहेका छन्ः

यस दिन भगवान शिवको उत्पति भएको सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुको साझा मान्यता रहिआएको छ ।

एक पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्किएको विषलाई भगवान शिवले यसैदिन पिएका थिए । त्यही विष पिउँदा उनको कण्ठ अर्थात् गला नीलो रङको भएकाले उनलाई नीलकण्ठ नामले पनि पुकारिन्छ ।

शिव पुराणको ईशान संहितामा बताइएअनुसार फागुन कृष्ण चतुर्दशीको रात्रिमा भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए ।

***

यसैबीच हिन्दूहरुको महत्वपूर्ण धार्मिकस्थल मानिने पशुपतिनाथमा यस पर्वको छुट्टै उल्लास हुने गर्दछ । छिमेकी राष्ट्र भारतबाट हजारौंको सङ्ख्यामा तीर्थालुहरु भित्रिन्छन् । योगी, सन्त, बाबाहरुको घुइँचो लाग्छ । देशविदेशबाट तीर्थालु तथा पर्यटकहरु दर्शनका लागि आउने गर्दछन् । पशुपति परिसर कुनै रमणीय मेलाजस्तै झलमल्ल सजिएको हुन्छ ।

भोलि काठमाडौंका यी क्षेत्रको सवारी रुट बन्द

सवारीसाधनको घुइँचोले पूजाआराधनामा कुनै असर नपरोस् भनेर भोलि(बिहीवार) पशुपति वरपरका क्षेत्रमा सवारी रुटहरु बन्द गरिनेछ ।
पशुपतिमा हुने भीडभाडलाई मध्यनजर गर्दै केही क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्न नदिने भएको हो । महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्लेख गरेको छ । चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय गरे पनि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको छ ।

चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने महाशाखाको सूचनामा उल्लेख छ ।

यसदिन भगवान शिवको पूजाआराधना गर्दा केही कुरामा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । ती कुराहरु मूलत भगवानलाई चढाउने चिजहरु नै हन् ।

१. तुलसीको पात नचढाउनुः

भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामाग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णुनिकट मानिन्छ, जसलाई शिवले स्वीकार गर्दैनन् । यसर्थ शिवको उपासनामा तुलसी चढाउनु वर्जित गरिएको छ ।

२. तिलः

सेतो होस् वा कालो तिल वा तिलबाट बनेका प्रसाद, लड्डु, तिलका दाना तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई चढाउन वर्जित छ । तिल भगवान विष्णुको मयल(मैलो)बाट उत्पन्न भएको मानिन्छ । यो चढाउँदा तपाईको पूजा पूर्ण हुन्न ।

३. बेसारः

भगवान शिवको पूजाआराधनाका क्रममा बेसार पनि चढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ । बेसार चढाएमा व्रतालुलाई परिपक्व निर्णय क्षमतामा कमजोरी उत्पन्न हुन्छ ।

४. धुप र उज्यालोः

अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पूजा गर्नु गलत मानिने गरिन्छ । त्यसैले पूजा गर्दा जोर बत्ती र धुप बालेर शिवलाई प्रसन्न पार्न सकिन्छ ।

५. नरिवलः

सुन्दा छक्क पर्नुभयो होला । तर भगवान शिवलाई नरिवलको जल चढाउनु हुँदैन । बरु नरिवल चढाउन सकिन्छ । विधि नपु¥याइ काम गरेमा धनहानी हुन्छ ।

६. अक्षताः

भगवान शिवलाई अक्षता अर्थात् रातो रङमा मुछिएको चामल चढाउनु हुँदैन ।

७. कनिकाः

टुक्रिएको चामल अर्थात् कनिका शिवलाई अर्पण गर्न वर्जित छ । यसो गर्दा तपाईलाई पूण्य प्राप्ती हुँदैन ।

८. शंखः

भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले बध गरेकोले यसलाई असुरको प्रतीक मानिन्छ ।

९. कालो वस्त्रः

कालो वा निलो रङको वस्त्र पहिरिएर शिव पूजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।

१०. प्रसादः

शिवलिंगमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दुर्भाग्य निम्तिन्छ । बरु बाहिर थालीमा बाँकी राखेर ग्रहण गर्न सकिन्छ । केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन ।

११. अभिषेक गर्दा दिनुपर्छ ध्यानः

शिवको अभिषेक गर्दा हमेशा सुन, चाँदी वा काँसबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ । स्टील वा प्लास्टिकका भाडा शिव पूजाका क्रममा उत्तम मानिँदैन ।

१२. शिवलिंगमा पूजा गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।

१३. बेलपत्रः शिवलाई तीनवटा पात स्पष्ट भएको, नच्यातिएको बेलपत्र घोप्टाएर मात्र अर्पण गर्नुपर्छ ।

१४. सेतो रंगको मात्र फूलः शिवको उपासनामा केवल सेतो रंगको मात्र फुल अर्पण गर्नुपर्दछ । किनकी सेतो रंग भगवान शिवको प्रिय रंग हो ।

१५मन्त्रः

शिवको आराधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ‘ॐ नमः शिवाय’ मन्त्रको जप गरे अरु कुनै मन्त्रको उच्चारण गर्नुपर्दैन । घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा भगवानले स्वीकार गर्दैनन् ।

१६. गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस् । यसलाई अपराध मानिने गरिन्छ । कसैलाई डर, धाक, धम्की, असामाजिक काम गरेको पैसाले तपाईलाई सराप्छ र सजाय दिनेछ ।

१७. शवको स्पर्श गरेपछि वा मलामी गएर आएको व्यक्तिले स्नान नगरी पूजा गर्नु हुँदैन । त्यस्तै सम्भोग गरिसकेपछि स्नान नगरी पूजा गर्नुहुँदैन । यसलाई अपराध मानिने गरिन्छ ।

१९. क्रोधः रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन । यतिमात्रै होइन तपाईले रिसाएर कसैको लागि नराम्रो चिताउनुभयो भने भगवानले तपाईलाई थप सजाय दिनेछन् ।

२०. दुधः भगवान शिवलाई उमालिएको दूध चढाउनु हुँदैन । उमालिएको दुधबाट शिवको अभिषेक गर्नु हानिकारक मानिन्छ । शिवलिंगको अभिषेक सदैव चिसो पानी वा काँचो दूधबाट गर्नुपर्दछ । तर पूजाआजाका क्रममा दूध अनिवार्य चाहिन्छ ।

यस वर्षको महा शिवरात्रीमा विषेश संयोग परेको छ । १०१ वर्षपछि यस्तो संयोग परेको ज्योतिषीहरुले बताएका छन् ।

ज्योतिषीहरुका अनुसार भोलि महा शिवरात्रीको दिन ‘शिव योग’, ‘सिधियोग’ र ‘घोधा योग’ जुरेका कारण १०१ वर्षपछि यस्तो शुभ रहेको छ । यस्तो संयोगका दिन गरिएको पूजा निकै कल्याणकारी मानिने गरिएको छ ।

महाशिवरात्रिको पूजा विधि:

बिहान सबेरै उठ्नुहोस् र नुहाउनुहोस् । यस पछि माटोको भाँडोमा पानी वा दूध भर्नुहोस् र यसमा बेलपत्र राख्नुहोस् । धतुरो र फूलहरू राख्नुहोस् । चामल आदि थप्नुहोस् । यदि तपाईं शिव मन्दिरमा जान सक्नुहुन्न भने तपाईं घरमा माटोको शिवलिंग बनाएर पूजा गर्न सक्नुहुन्छ। शिव पुराण पढ्नुहोस् र महामृत्युंजय मन्त्र वा शिवको पंचक्ष मंत्र,ऊँ नमः शिवाय जप गर्नुहोस् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि,मोहरात्रि,सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णन गरिएको छ । विशेषगरी शिवरात्रि भगवान शिवको प्रमुख पर्व हो । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरू शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध,धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंन्त्र जप्ने गरेमा पृथ्वीमा सबै कुराले सम्पन्न भई मरेपछी यमलोक जानु नपर्ने र मोक्ष प्राप्ती हुने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको को दिनको रुममा मनाईन्छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनि शास्त्रमा लेखिएकोछ । शिवरात्रीमा ठूला साना मन्दिरहरू जस्तै काठामाडौँमा पशुपति धाम,पुर्वको पशुपति खोटाङ जिल्लाको हलेसीमा भक्तजन जम्मा भई धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भव मूर्तिलाई महले स्नान गराइन्छ ।

शिवमहापुराण्को कोटिरुद्रसंहितामा शिवरात्रिको महत्व बताउँदै भनिएकोछ–मानिसहरुको हित गर्ने शिवरात्रिसमान अन्य कुनै व्रत छैन । यसबाट मानिसहरुले धर्म प्राप्त गर्दछन् । निष्काम काम गर्ने अथवा सकाम काम गर्ने सबै प्रकारका भक्तहरु यसबाट लाभन्वित हुन्छन् । ब्राह्ण,क्षत्रिय,वैष्य र शूत्र यी चार वर्ण एंव ब्रहचर्य,गार्हस्थ्य,वानप्रस्थान र संन्यास यी चार आश्रमका मानिसहरुले श्रद्धापुर्वक शिवरात्रिव्रत सम्पन्न गरेमा उनीहरु वर्ण र आश्रमसम्मत आ–आफ्नो उदेश्य सफल तुल्याउन समर्थ हुन्छन् । यो व्रत नारी,बालक,बालिक र अन्य सबैले श्रद्धापुर्वक गर्नुपर्दछ । यस व्रतबाट बिभिन्न प्राणीहरु,मानवजाति,देवता,पितृ ,ऋषि–महर्षि सबैको कल्याण हुन्छ ।

माधवद्धारा उद्धृत ईसानसंहिताको वचनमा भनिएकोछ –जुन दिन आधारातमा चतुर्दशी भेटिन्छ त्यसै दिन शिवको कृपा चाहने मानिसले शिवरात्रिव्रत गर्नुपर्दछ । आधारातपछि र आधारातभन्दा पहिले चतुर्दशी हुँदा नित्य चतुर्दशीव्रत गर्नुपर्दछ । स्कन्दपुराणमा भनिएकोछ आमावास्वायुक्त चतुर्दशीमा शिवरात्री मनाउदा पापहरुको भागिदार हुने र यसको प्रायश्चित पनि देखिदैन ।
शिवरात्रीमा पुरुष वा नारीले भक्तिपूर्वक शिवरात्रीका दिन महादेवको पूजा गर्नुपर्दछ । शिवरात्रिव्रत संयोगपृथक्त्वन्यायमा भनिएकोछ– शिवरात्रीमा परात्पर त्रिभुवनका स्वामी रुद्ररुप ईशको जसले पूजा गर्दैन त्यो मानिस हजारौं हजार जन्मसम्म संसारमा घुमिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?