काठमाडौं । शहरका युवामाझ भेप निकै लोकप्रिय बन्दै गएको छ । प्राय किशोरावस्थाका युवाहरुको जमघट हुँदा मस्त भेपको धुवाँ उडाइरहेको दृश्य देखिन्छ । कसैले भेप हानिकारक हुन्छ भन्दा उनीहरु ‘चुरोट जतिको हुँदैन’ भन्दै त्यसको बचाउमा उत्रिएको पनि देखिन्छ । ब्याट्रीबाट सञ्चालित भेपबाट निकोटिनयुक्त सम्मिश्रणको धुवाँ तानिन्छ ।
सामान्यतया भेपमा हुने तरल पदार्थ(इ–लिक्विड) प्रोपाइलिन ग्लाइकोल, ग्लिसिरिन, निकोटिन, फ्लेभर र अन्य तत्त्वहरुबाट निर्मित हुन्छ । कुनैकुनै इ–लिक्विडमा भने निकोटिन मिसाइएको हुँदैन । यस प्रक्रियामा ‘धुवाँ’को सट्टा ‘बाफ’ तानिने भएकाले चुरोट जति हानिकारक नभएको अनुमान छ । तर के यो अनुमान सही हो त ?
अमेरिकामा सन् २०१९ को अप्रिलमा पहिलो पटक भेपिङका कारण देखिन थालेको स्वास्थ्य समस्याको ग्राफ सन् २०२० सम्म आइपुग्दा उकालो लागेको छ । अहिलेसम्म भेपिङकै कारण मृत्यु हुने ६० जना पुगेका छन् भने २ हजार ७ सय ११ जना अस्पताल भर्ना भएको तथ्यांक अमेरिकाको रोग नियन्त्रण केन्द्रले देखाउँछ ।
अमेरिकामा भेपका कारण मृत्यु हुनेको सङ्ख्या एकाएक बढ्न थालेपछि भारतले सन् २०१९ मै भेपमा प्रतिबन्ध लगाइसकेको छ । क्यानाडाले पनि छिमेकी मुलुकमा भेपले निम्त्याएको स्वास्थ्य जोखिमलाई मध्येनजर गर्दै आफ्ना देशवासीलाई भेपको प्रयोग नगर्न सुझाएको थियो । उमेर नपुगेकाहरुमा भेपको प्रयोगविरुद्ध जनचेतना जगाउन क्यानाडाले प्रचारप्रसारमा लाखौँ रुपैयाँ खर्च समेत गरेको छ ।
नेपालमा पनि आजभोलि भेपको ‘ट्रेण्ड’ भित्रिएको छ । युवायुवतीले यसलाई ‘स्टाइल’का रुपमा पनि लिने गरेकाले बजारमा यसको माग बढेको हो । भेपको बढ्दो प्रयोग देखेर चिन्ता लिनुपर्ने अवस्था आइसकेको छ ।
यद्यपि महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका श्वासप्रश्वास विभागका चिकित्सक डा.निरज बमका अनुसार हालसम्म भेपिङकै कारण स्वास्थ्य समस्या भएर कुनै पनि बिरामी उनकोमा आएका छैनन् । तर, विशेष गरी युवाहरुले नै यसको प्रयोग गर्ने हुनाले तत्काल कुनै असर नदेखिएपनि पछि उनीहरुको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँदै गएपछि यसको असर देखापर्ने उनले बताए ।
चिकित्सकले पनि एउटा निश्चित मापदण्डअनुसार उपचार गर्ने हुनाले भेपिङ र यसले निम्त्याउने स्वास्थ्य समस्याका बारेमा औपचारिक रुपमा रेकोमेन्डेसन आउन जरुरी भएको पनि उनले बताए ।
चुरोट छोड्ने मनशाय भएकाहरुलाई चुरोटको विकल्पमा भेपिङ सुझाइन्छ । तर, चुरोटजस्तो हानिकारक नहुने भनिएकाले भेपिङलाई सामान्यीकरण गरिनु गलत भएको डा.बमको भनाइ छ । ‘चुरोट छुटाउनलाई निकोटिन रिप्लेसमेन्ट थेरापी जस्ता धेरै उपायहरु छन्।’ डा.बम भन्छन्, ‘भेपिङ उपयुक्त उपाय होइन । ’उनी अगाडि थप्छन्, ‘निकोटिन भएका कुनै पनि चीजको सेवन स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ, यो त प्रतिबन्धित नै हुनुपर्ने हो ।’
जसोजसो समाज आधुनिकीकरणतर्फ लम्किँदैछ उसैउसै भेप जस्ता नयाँनयाँ अभ्यास थपिँदै छन् ।
***
तिनै ‘ट्रेण्ड’को कुरा गर्दा छुटाउनै मिल्दैन, ट्याटू संस्कृति ।
आधुनिक ट्याटू हाम्रो समाजका लागि आगन्तुक संस्कृति हो । भलै सियो वा अन्य धारिलो वस्तुले घोपेर नाम लेख्ने चलन प्राचीन कालदेखि हाम्रो समाजमा पनि पालना गरिँदै आइएको छ तर संरचना र स्वरुपका हिसाबले ‘ट्याटू’ हाम्रा लागि नौलो अभ्यास हो ।
विशेषगरी युवा वर्गमाझ ट्याटू मोह चुलिँदै गएको छ ।
कोही आफ्नो प्रिय मान्छेको नाम खोप्छन् । कोही चाहिँ प्रिय मान्छेसँग मिलेर ‘म्याचिङ’ ट्याटू हान्छन् । कसैलाई सांकेतिक चित्रको सोख हुन्छ । कोही हुबहु अनुहार समेत छाप्छन् । आआफ्नो इच्छा अनुसारको चित्र छाप्न पाइने भएकाले पनि होला ट्याटू यति धेरै फस्टाएको ।
तर हेर्दा जति सुन्दर र आकर्षक देखिन्छ उतिकै पीडादायी हुन्छ ट्याटू हान्ने प्रक्रिया र त्यसका साइड इफेक्ट्स (ट्याटू हानेपछिका असर) पनि ।
ट्याटू हानेको ठाउँमा एलर्जी हुने, छालामा संक्रमण हुने, चिलाउने, पोल्ने आदिजस्ता सामान्य समस्या भइहाले तर, ट्याटूकै कारण कसैको ज्यान गएको छ भन्दा विश्वास गर्नुहुन्छ ?
घटना आजभन्दा ४ वर्ष अघिको हो । अमेरिकाका ३१ वर्षीय यूवाले ‘जिजस मेरो जीवन हो’ भन्ने वाक्य लेख्दै प्रार्थना गरिरहेको हातको ट्याटू आफ्नो दाहिने खुट्टामा खोपे । ट्याटु खोपेको ५ दिनपश्चात् उनी पौडी खेल्न पसेका मात्र के थिए उनको दुवै खुट्टामा अत्याधिक पीडा हुन थाल्यो, ट्याटुको वरिपरि र खुट्टैभरि राता बिमिरा आए र हनहनी ज्वरो आयो । उपचारका लागि अस्पताल पु¥याइएपछि थाहा भयो उनलाई समुद्रबाट हुने संक्रमण भाइब्रियो भल्निफिकस भएको रहेछ । त्यसको २ महिनापश्चात् उनको मृत्यु भयो । पौडी खेल्दा उनको ट्याटुबाट सो संक्रमण फैलिएको चिकित्सकको ठम्याई छ ।
अत्याधिक ट्याटू खोप्नाले शरीरको तापक्रममा असर पु¥याउने देखि सफा नगरिएका सूईं वा उपकरणको प्रयोगले एचआइभी एड्स, हेपटाइटिस जस्ता रोगहरु संक्रमण हुने जोखिम रहन्छ ।
***
ट्याटू जतिकै पीडादायी ‘ट्रेण्ड’ हो पियर्सिङ पनि ।
नाक, कान छेडेर गहना लगाउनुलाई सुन्दरताको प्रतीक भनेर हिन्दू परम्पराले नै परिभाषित गरेको छ । हाम्रो समाजमा यसलाई नारीको श्रृंगारसँग जोडिन्छ ।
यद्यपि पश्चिम संस्कृतिको प्रभावसँगै अहिले नारी तथा पुरुष दुवैले शरीरका विभिन्न अंग छेड्ने चलन भित्रिएको छ । युवापुस्ताले कान, नाक मात्र नभएर आँखी भौं, ओंठ, नाभी लगायत अंगहरु आकर्षक बनाउनका लागि छेड्ने गरेका छन् । छेडेर त्यसमा विभिन्न किसिमका धातूबाट बनेका कुण्डल, जस्ता गरगहना वा एक्सेसरिज लगाउने गरेका छन् ।
कसैले भने धर्म, परम्परालाई निरन्तरता दिने क्रममा शरीर छेड्ने गर्दछन् ।
छाला तथा सौन्दर्य विशेषज्ञ प्रो डा. धर्मेन्द्र कर्णका अनुसार छालालाई धारिलो वस्तुले छेडेर त्यसमा कुनै धातूबाट निर्मित वस्तु लगाउनु भनेको आफैमा जोखिमपूर्ण काम हो । कसैलाई कुनै धातूबाट एलर्जी हुने, टिटानस, एड्स, हेपटाइटिस आदिजस्ता रोगको संक्रमण हुने, छेडेको ठाउँबाट विस्तारै अन्यत्र संक्रमण फैलिने आदिजस्ता समस्या देखापर्न सक्ने भएकाले यो काम अत्यन्तै संवेदनशील भएको डा.कर्णको भनाइ छ ।
कान छेडेको केही दिनमा इङ्ग्ल्याण्डकी १५ वर्षीया डान्सर ग्रेस इथरिंगटनको खुट्टाको बुढी औँलामा दुखाइ शुरु भयो । विस्तारै दुखाइ पूरै खुट्टामा फैलिन थालेपछि उनलाई अस्पताल पु-याइयो । हिँडडुल गर्न मात्र नभएर श्वासप्रश्वासमा समेत गाह्रो हुन थालेको उनलाई ‘गिलियन बेर सिन्ड्रोम’ नामक रोगका कारण पक्षघात भएको चिकित्सकले बताए । यो स्वास्थ्य समस्या भाइरल संक्रमण या साना शल्यक्रिया अथवा छेड्ने, ट्याटू हान्ने जस्ता क्रियाकलाप गर्दा हुने रहेछ ।
‘आफ्नो रहर पूरा गर्नलाई ज्यान नै जोखिममा पार्नु हुँदैन,’ डा.कर्ण भन्छन्, ‘छेड्नै परे सुरक्षित औजारको प्रयोग गर्ने, व्यवसायिक र सुरक्षित स्थानमा गएर छेँड्ने गर्नुपर्छ ।’ धेरै संवेदनशील अंगमा ‘पियर्सिङ’ नगर्न र आफ्नो शरीरलाई कुन धातूले एलर्जी हुँदैन भन्ने जस्ता कुरा बुझेर मात्रै यस्तो निर्णय लिन चिकित्सक सुझाउँछन् ।
***
खानपिन, लवाइखवाइमा मात्र होइन आजकल युवावर्गहरुको मनोरञ्जनात्मक गतिविधिहरुमा समेत व्यापक परिवर्तन आएको छ ।
तिनै गतिविधिमध्ये एक हो प्र्यांक ।
अपरिचित व्यक्तिसँग झुट बोलेर, झुक्याएर अथवा भ्रामक अवस्था सिर्जना गरिदिएर उनीहरुको प्रतिक्रियाको भिडियो बनाउने कार्यलाई भनिन्छ ‘प्र्यांक’ ।
सार्वजनिक स्थलमा कसैले तपाईलाई उट्पट्याङ प्रश्न सोध्न थाल्यो भने वरिपरि हेर्नुस् कतै कुनामा क्यामेरा लुकाइएको हुनसक्छ ।
कसैले पत्याउनै गाह्रो पर्ने कुरा भनेर सहयोग माग्यो अथवा कुनै असामान्य गतिविधि गर्न आग्रह ग¥यो भने दोहो¥याएर नसोची वरिपरि नियाल्नुस् कसैले टाढैबाट क्यामेरा तेर्साइरहेको हुनसक्छ ।
आजभोलि यूट्युबमा भिउज र लाइक्स कमाउने नाममा यस्तो भइरहन्छ ।
मनोरञ्जनका नाममा गरिने यस्तो अभ्यासले भिडियोमा ‘उल्लु’ बनाइएका सर्वसाधारणको मानहानी गर्ने मात्र होइन कतिपय अवस्थामा विभिन्न दुर्घटना पनि निम्त्याएको छ । यहाँसम्मकी ज्यान पनि लिएको छ ।
अमेरिकाको नाशभिलमा अवस्थित एक पार्कमा यूट्युबका लागि ‘प्र्यांक’ भिडियो बनाउन गएका २० वर्षीय टिमोथी विल्क्सको गोली लागी मृत्यु भयो । हातमा चक्कु बोकेर आएको टिमोथीको समूहलाई देखेर एक २३ वर्षीय युवकले आत्मरक्षाका क्रममा गोली चलाएका थिए । पुलिसलाई बयान दिने क्रममा ती युवकले उनीहरु भिडियो बनाउन आएका थिए भनेर आफू अनभिज्ञ भएको बताए ।
यस्तै प्रकारका दुर्घटनाहरु हुने जोखिम बढ्दै गएकाले यूट्युबले हानिकारक प्र्यांकलाई ‘ब्यान’ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया