जुम्ल्याह बच्चाको सङ्ख्या दिनानुदिन बढ्दै, ३ दशकमा झण्डै दोब्बर वृद्धि

काठमाडौं । विश्वमा हरेक वर्ष १.६ मिलियन जुम्ल्याह बच्चा जन्मने गरेको तथ्यांक छ । यसको अर्थ विश्वभरि जन्मने हरेक ४२ जना बच्चामा एकपटक जुम्ल्याह बच्चा जन्मने गर्दछन् ।

‘ह्युमन रिप्रोडक्सन’ नामक जर्नलमा छापिएअनुसार यस वृद्धिदरका कारण जुम्ल्याहहरुको सङ्ख्या अहिले ‘पिक’मा पुगेको छ । पछिल्लो ३० वर्षको अवधिमा एसियामा मात्रै ३२ प्रतिशतले जुम्ल्याहरुको जन्मदर वृद्धि भएको छ भने उत्तर अमेरिकामा ७१ प्रतिशतले वृद्ध भएको अनुसन्धानले देखाउँछ ।

अनुसन्धानकर्ताले विभिन्न १६५ देशबाट सन् २०१० देखि २०१५ सम्मको जुम्ल्याह बच्चाको जन्मदरसँग सम्बन्धित जानकारी संकलन गरेर त्यसलाई सन् १९८० देखि १९८५ सम्मको तथ्यांकसँग तुलना गर्दै अध्ययन गरेका थिए । प्रत्येक एक हजार डेलिभरीमा जन्मिने जुम्ल्याह बच्चाको सङ्ख्या यूरोप र उत्तर अमेरिकामा धेरै भएको सो अध्ययनले पुष्टि ग-यो । साथै विश्वको हकमा हेर्दा, पहिले प्रत्येक हजार जना बच्चामा ९ जना जुम्ल्याह जन्मने गर्दथे भने अहिले त्यो सङ्ख्या बढेर १२ पुगेको छ ।

अफ्रिकामा भने पछिल्लो ३० वर्षमा जुम्ल्याहको जन्मदरमा खासै फरक पाइएको छैन । पहिलेजस्तै जन्मदर उच्च नै छ ।

हाल विश्वमा हुने जुम्ल्याह बच्चाको कूल जन्मदरमा ८० प्रतिशत जन्म एसिया र अफ्रिकामा हुने गरेको छ ।

निम्न र मध्यम आर्थिक अवस्था भएका यस्ता राष्ट्रहरुमा भने जुम्ल्याह बच्चाको बाँच्ने सम्भावना पनि चिन्ताको विषय हो । दुवै बच्चालाई सकुशल जोगाउन, हुर्काउन, बढाउन चुनौतीकै विषय हुने गरेको छ ।

अफ्रिकी मूलका राष्ट्रहरुमा हरेक वर्ष २ लाखको हाराहारीमा जुम्ल्याह बच्चामध्ये कुनै एकको ज्यान जाने गरेको छ ।

भलै पश्चिमा मुलुकहरुमा पनि जुम्ल्याहको जन्मदर उकालो लाग्ने क्रममा छ तर, त्यहाँ दुवै बच्चाको बाँच्ने सम्भावना पनि उच्च रहेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?