लन्डन- खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै ७ देशले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप प्रयोग गर्न छाडेका छन् । हालसम्म डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरियाले उक्त खोप प्रयोगमा अस्थायी रूपमा रोक लगाएका हुन् ।
युरोपमा मात्रै हालसम्म ५० लाख जनाले यो खोप लगाइसकेका छन् । जसमध्ये ३० जनामा रक्तनलीमा रगत जम्ने (ब्लड क्लट) समस्या देखिएको बताइएको छ । जसका कारण रक्तनली थुनिने वा रगतको प्रवाहमा कमी आई मुटु, मस्तिष्कलगायत अंगमा आवश्यक रगत पुग्न पाउँदैन । कित्सकहरूका अनुसार यस्तो भएमा मुटु तथा मस्तिष्क घातसमेत हुन सक्छ ।
अस्ट्रियामा खोप लगाएका एक जनाको ‘ब्लड क्लट’ बन्दा ‘पल्मोनरी इम्बोलिज्म’ भई मृत्यु भएको बताइए पनि खोपकै कारण उक्त समस्या उत्पन्न भएको हो–होइन पुष्टि भइनसकेको समाचार संस्था रोयटर्सले लेखेको छ ।
उक्त कुराको पुष्टि भइसकेपछि मात्रै खोप प्रयोगमा ल्याउन सकिने ती मुलुकहरूको भनाइ छ । थाइल्यान्ड र बुल्गेरियाले भने युरोपेली देशले प्रयोगमा रोक लगाएपछि आफूहरूले पनि खोप लगाउन बन्द गरेको जनाएका छन् । थाइल्यान्डले प्रधानमन्त्री र अन्य मन्त्रीहरूले शुक्रबार खोप लगाउने कार्यक्रम रहे पनि खोप अभियान तत्काललाई स्थगन गरिएको जनाएको छ ।
यहाँ ल्याइएको अस्ट्राजेनेकाको खोप युरोपमा दिइएको खोपभन्दा फरक छ । यसको गुणस्तर राम्रो भए पनि केही मुलुकले अस्थायी रूपमा प्रयोगमा रोक लगाएपछि हामीले पनि तत्काललाई खोप अभियान स्थगन गरेका हौं,’ थाइल्यान्डको कोरोना खोप समितिका सल्लाहकार पियासकोल सकोस्टायडर्नले शुक्रबार बीबीसीसँग भने । हालसम्म एसियाली मुलुकमा उक्त खोप लगाएकामा त्यस्तो समस्या नदेखिएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अस्ट्राजेनेकाको १ लाख १७ हजार ३ सय मात्रा खोप गत फेब्रुअरीमा थाइल्यान्ड पुगेको थियो । यसका साथै थाई सरकारले चीनबाट दुई लाख मात्रा ‘कोरोनाभ्याक’ खोप भित्र्याइसकेको छ । यहाँका तीन लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
खोपमाथिका आशंका निवारण गर्दै प्रयोगका लागि सुरक्षित रहेको युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले स्पष्ट पारेपछि मात्रै प्रयोग गर्न सकिने बुल्गेरिया सरकारको भनाइ छ । ‘खोप लगाउन कुनै खतरा छैन भनेर विज्ञले नभनेसम्म हामी आमनगरिकलाई खोप लगाउँदैनौं,’ बुल्गेरियाका प्रधानमन्त्री बोएको बोरिस्सोभले समाचार संस्था रोयटर्ससँग भने ।
स्पेनका स्वास्थ्यमन्त्री कारोलिना डारियासले भने मुलुकका सबै खोप भण्डारण केन्द्रमा मौज्दात अस्ट्राजेनेका खोप सकिएको जनाएकी छन् । उनका अनुसार खोप लगाएका व्यक्तिमा टाउको दुख्नेजस्ता सामान्य समस्या मात्रै देखिएको छ । पछिल्लो पटक प्रहरी अधिकारीमा उक्त खोप लगाइएको र उनीहरूको स्वास्थ्य अवस्थाबारे सूक्ष्म निगरानी भइरहेको छ ।
अर्को युरोपेली मुलुक जर्मनीले अस्ट्राजेनेकाको खोप सुरक्षित रहेको र खोप अभियानलाई शुक्रबार पनि निरन्तरता दिइएको बताएको छ । जर्मनीमा हाल तेस्रो चरणको संक्रमणको लहर देखिएको छ । यहाँ खोप अभाव भएको समेत बताइएको छ । ‘हालसम्म खोप लगाएका प्रत्येक व्यक्तिको स्वास्थ्य रिपोर्ट र भएका अध्ययनका आधारमा यो खोप लगाउनु खतरा छैन । बरु फाइदा बढी छ । यस्तोमा खोप अभियान निरन्तर चलिरहनेछ,’ स्वास्थ्यमन्त्री जेन्स स्पानले भने ।
जर्मनीको रोवर्ट कोच इन्स्टिच्युट अफ इन्फेक्टियस डिजिजका प्रमुख लोथर विलरले हालसम्म कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा गम्भीर समस्या देखिएको प्रमाण नभेटिएको जनाए । ‘अहिले वृद्धवृद्धाहरूलाई खोप लगाइरहेका छौं । यो उमेरमा सामान्यतया बुढ्यौलीकै कारण धेरै मानिसको मृत्यु हुने गर्छ ।
त्यसकारण खोप र मृत्युबीचमा पनि कोर्नोलोजिकल सम्बन्ध रहन सक्छ,’ उनले भने, ‘तर हालसम्म त्यस्तो कुनै सम्बन्ध रहेको संकेत तथ्यांकहरूले देखाउँदैन ।’ ईएमएले भने ‘ब्लड क्लट’ देखिनुमा खोपको कुनै हात नरहेको स्पष्ट पारिसकेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै उसले भनेको छ, ‘खोपको जोखिम कम गर्न निरन्तर प्रयास गरिराख्नु चाहिँ हितकर रहन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अस्ट्राजेनेका खोप प्रयोगमा केही मुलुकले रोक लगाएकोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विज्ञ सम्मिलित सल्लाहकार समितिले यसबारे नजर लगाइरहेको बताउँदै डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले भनेकी छन्, ‘तर खोप लगाउन नहुने कुनै कारण छैन ।’ यसलाई उनले ‘उत्कृष्ट’ खोपको संज्ञा दिएकी छन् ।
हाल देखिएको भनिएको स्वास्थ्य समस्या र खोपबीचमा कुनै सम्बन्ध नरहेको दाबी गर्दै उनले खोप लगाउँदा आवश्यक सावधानी अपनाउन भने आग्रह गरिन् ।खोपको सुरक्षाका विषयमा डब्लूएचओको सल्लाहकार समितिले विश्वभरबाट प्राप्त रिपोर्ट र तथ्यांकबारे अध्ययन गरिरहेको र असुरक्षाका केही संकेत देखिए तत्काल अवगत गराइने पनि उनले स्पष्ट पारिन् ।
अस्ट्राजेनेकाले भने खोप परीक्षणका क्रममा यसको सुरक्षा चुनौतीबारे गहन अध्ययन गरेको दाबी गरेको छ । हालसम्म प्राप्त एक करोड व्यक्तिको रिपोर्टका आधारमा खोपकै कारण ‘ब्लड क्लट’ निर्माण भई ‘पल्मोनरी इम्बोलिज्म’ हुने खतरा बढ्ने कुनै संकेत नमिलेको पनि उसको भनाइ छ ।
हामीले व्यक्तिको उमेर, लिंग, देश आदिका आधारमा पनि यस्तो अध्ययनलाई फराकिलो बनाएका थियौं । तर भनिएजस्तो कसैमा पनि यसको प्रमाण भेटिएको छैन,’ बिहीवार अस्ट्राजेनेकाले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया