हेटौंडा- अस्पतालमा कार्यरत दुई जना चिकित्सक बर्खास्तमा परेका छन् । करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा.साजित अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालको नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिको शुक्रवारको बैठकले उनीहरुलाई बर्खास्त गरिएको अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले बताए ।
६ वर्षदेखि हेटौंडा अस्पतालमा कार्यरत डा.अन्सारीविरुद्ध वारम्वार सेवाग्राहीको गुनासो आउने र ड्युटी समयमा धेरै पटक निजी क्लिनिकमा काम गर्दै गरेको अवस्थामा भेटेपछि अस्पतालले उनीलाई वर्खास्त गरिएको हो । डा. अन्सारीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा आफ्नै निजी क्लिनिकसमेत सञ्चालन गरिरहेका छन् ।
अस्पतालमा विरामीको जाँच गर्न छोडेर डा.अन्सारी ड्युटीको समयमै निजी अस्पताल तथा क्लिनिकहरूमा व्यस्त रहने गरेको हेटौंडा अस्पताल विकास समितिको निष्कर्ष छ ।
त्यस्तै, अस्पताल विकास समितिले छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालमा आएका बिरामीलाई निजी क्लिनिकबाटै औषधि खरिद गर्न बाध्य बनाउने गरेको भन्दै सेवाबाट हटाएको छ । डा. पाण्डेले अस्पतालका बिरामीहरुलाई औषधि खरिदका लागि निजी क्लिनिक तोकेर पठाउने गरेको र अस्पतालमा जानकारी नगराई आफुखुशी बिदा बस्ने गरेको कारण सेवाबाट हटाएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया