काठमाडौं – जेल अर्थात् कारागार । यी शब्द सुन्नासाथ जो कोहीको पनि शरीरमा काँडा उम्रिन्छ । अपराध गरेपछि जेल बस्नु कानूनी दण्ड हो तसर्थ जस्तोसुकै पीडादायी भएपनि अपराधीले जेल सजाय भोग्नैपर्छ । यसलाई स्वीकार्नैपर्छ ।
तर, बिना अपराध जेल बस्नु पर्दाको पीडा कुनै शब्दले वर्णन गर्न सकिन्न । अझ एक दुई वर्ष होईन वर्षौसम्म त्यो पनि विदेशी जेलमा । आज हामी यस्तै एउटा दर्दनाक पीडा सहन बाध्य एक नेपालीको व्यथा प्रस्तुत गर्दछौँ ।
यी हुन् ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना । उनी इलामको माई नगरपालिका–१० का स्थायी बासिन्दा हुन्। १९ वर्षको उमेरमा तोरी बेच्ने क्रममा पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए।
त्यसपछि सम्पर्कविहिन भएका उनी ४० वर्षपछि पुर्ख्यौली थलो आइपुगेका छन् । उनी रोजगारीपछि घर फर्किएका होइनन् । बिना कसुर ४० वर्षसम्म भारतीय जेलमा बसेर फर्किएका हुन् ।
उनले भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ जीवनको मूल्यवान लामो समय बिताएका हुन् । इलामको एकतप्पाबाट हराएका उनी कर्तव्य ज्यान मुद्धामा भारतको दार्जिलिङबाट पक्राउ परेका थिए । दार्जिलिङमा उनी बसेकै घरको घरबेटी महिलाको हत्या भएको घटनापछि सोही आरोपमा उनी पक्राउ परेका थिए। तर विडम्वना पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फलोअप नभएको र प्रहरीले उनलाई बिना सुनुवाइ विभिन्न कारागार चलान गर्दै दमदम जेलमा पु¥याइएको बङ्गाल रेडियो क्लबले जनाएको छ।
कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा कोलकत्तास्थित महावाणिज्य दूतका निजी सचिव सतीश थापा र दुर्गाप्रसादका काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा उनी गत शनिवार रिहा भएका थिए।
रिहा भएपछि नेपाल फर्किएका उनलाई विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरुले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । लामो अवधि जेलमा बसेका कारण उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । उनी मानसिक रुपमा समेत विक्षिप्त छन् । एकोहोरो भइरहन्छन् उनी । त्यसो त अदालतले पनि रिहाइको आदेश दिँदा हरेक ६ महिनामा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन निर्देशन दिइएको छ ।
काँकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा उनले निकै थोरै मात्र बोले । उनले आफ्नो देश आउन पाएकोमा खुशी व्यक्त गरे । आफू निर्दोष भएपछि जेलमा यातनापूर्वक थुनिएको उनले बताए । उनले आफ्नी आमालाई भेट्न आतुर भएको र्इच्छा व्यक्त गरे। र माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिए । अहिले उनको दाँत सग्ला छैनन् । पत्रकार सम्मेलनमा उपस्थित हुँदा उनको ओठ र औँलाहरु कापिरहेका थिए ।
बुबा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा हुन्, दुर्गाप्रसाद । उनको बुवा र माइला भाइको निधन भईसकेको छ । दुर्गाप्रसाद सात वर्षकै हुँदा बुबा चम्पाखरको निधन भएको थियो । अहिले दुर्गाप्रसादका आमा धनमाया वृद्धाअवस्थामा छिन् ।
बाल्यकालमा दुर्गाप्रसादको बोलाउने नाम दीपक हो। १९ वर्षकै उमेरमा रोजगारीको खोजी गर्दै उनी भारतको दार्जिलिङ पुगेका थिए । त्यतिबेला दार्जिलिङमा हिंसात्मक आन्दोलन चलिरहेको थियो।
गोर्खाल्याण्ड प्राप्तिका लागि भईरहेको आन्दोलनका कारण परिवारले उनलाई भारतमा खोज्न जाने अवस्था नभएको परिवार बताउँछ। भारतबाट पनि दुर्गाप्रसादको कुनै खबर आएन । परिवारले देशका विभिन्न ठाउँमा उनको खोजी गरे । तर उनी फेला परेनन् । लामो समयसम्म बेपत्ता भएपछि परिवारले आन्दोलनमै दुर्गाप्रसादको मृत्यु भयो कि भन्ने अड्कल गरे। परिस्थिती नै प्रतिकुल भएका कारण परिवारसँग अरु विकल्पको सुविधा पनि भएन ।
वि.सं २०६९ मा दीपक जैशीको नामबाट उनको घरमा एउटा चिठ्ठी पुगेको थियो । तर परिवारले त्यो चिठ्ठीको विश्वास गर्न सकेनन् । र, दुर्गाप्रसाद भारतीय जेलमै रहन विवश भए । तर ४० वर्षपछि बङ्गाल रेडियो क्लबका माध्यमबाट परिवारले दुर्गाप्रसाद भारतीय जेलमा रहेको कुरा थाहा पाए ।
भाइ प्रकाशचन्द्रका अनुसार दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दासले यो विषय सार्वजनिक गरेका थिए। उनले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको बताएका थिए । त्यसपछि विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशन प्रशारण हुन थाले ।
बङ्गाल रेडियो क्लब र विश्व सेवा विस्तारबीच समन्वय भएपछि दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क भएको थियो । र, ४० वर्षपछि दुर्गाप्रसादको उद्धार सम्भव भयो।
दुर्गाप्रसाद घर फर्किएसँगै उनको परिवारमा खुशीयाली छाएको छ । तर, बिना सुनुवाइ यतिलामो समय जेलमा राखिएको भन्दै उनलाई भारत सरकारले क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ । परिवारको यो मागमा सरोकारवालाहरुले पनि साथ दिएका छन्।
प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया