रामजी बलामी/काठमाडौं– उमेरले आठ दशक पार गरेका डा. रत्न शमशेर जवरालाई होलीको आधुनिक शैली खासै चित्त बुझेको छैन। काठमाडौं नक्सालका स्थायी वासिन्दा उनी होली सांस्कृतिक पर्व भएकाले यसको जीवन्तता मेटिन दिन नहुने बताउँछन् ।
डा. जवरालाई उनकै पालाको होली खास लाग्छ । आफू भोगेको र विताएको पल नै रमाइलो र खास लाग्नु मानवीय स्वभाव पनि हो । तर त्यो समयको होली भिन्न थियो । उसो भए डा. जवराको पालामा कसरी खेलिन्थ्यो त होली ?
त्यतिवेला अहिलेजस्तो मनोरञ्जनका अनेकन आयामहरु थिएनन् । त्यसकारण होलीमा विशेष रमाइलो हुन्थ्यो । आफ्नो विगत कोट्याउँदै डा. जवराले भने, “त्यतिवेला अबिर र पानीले होली खेल्थ्यौं ।”
अहिले बजारमा थरिथरिका पिचकारीहरु किन्न पाइन्छ, त्यतिवेला पानी चाँहि कसरी छ्यापिन्थ्यो त ? प्रश्न झर्न नपाउँदै उनले जवाफ फर्काइहाले, “होलीका लागि म आफै बाँसको पिचकारी बनाउँथे।”
उनको पालामा एक विशेष प्रकारको लोला पनि पाइन्थ्यो रे, “एउटा विशेष खाले लोला हुन्थ्यो, त्योभित्र अबिर हुन्थ्यो” उनले विगत स्मरण गर्दै रमाइलो साटे, “त्यो लोलाले हानेपछि जिउभरी अविर लाग्थ्यो ।”
तर यसरी लोला र पिचकारीले भन्दा पनि हातैले अबिर दल्न पाउँदा निकै मज्जा लाग्ने उनको अनुभव छ, “मलाई त लखेटीलखेटी हातैले अबिर दल्न पाउँदा निकै मज्जा लाग्छ ” । “आफू भन्दा ठूला आए भाग्थ्यौं, साना आए लखेटेर अविर दल्थ्यौं ” उनले यसरी जवानी होली खेलेको कथा स्मरण गरे ।
यसरी खेल्दा खेल्दै एकपटक एकजनाको नाकमा अबिर दलेको घटना ताजै छ, उनको दिमागमा । आँखा र नाकमा अविर पर्दा निकै पीडा हुने उनको अनुभव छ । त्यसवेला युवतीहरु होली खेल्न घरबाहिर आउने चलन थिएन । तर, उनीहरू झ्याल र बार्दलीमा बसेर होलीको रमाइलो हेरेर मज्जा लिन भने छुटाउँदैनथे । तन्नेरी युवाहरुको लोला वेलाबखत बार्दली र झ्यालबाट नियालीरहेका युवतीहरुमाथि पनि नबर्सिने कुरै भएन। उनीहरु कहिलेकाँही बडा हाकिमको घरमा पनि होली खेल्न जान्थे । त्यहाँ झनै रमाइलो हुने गरेको उनले सुनाए।
पटना विश्वविद्यालयमा अध्ययन गरेका डा. जवराले भारतमा खेलिने होलीको पनि रमाइलो अनुभव संगालेका छन् । त्यसवेला पटनामा निकै गालीगलौच गरेर होली खेल्ने गरेको स्मरण गर्दै उनी भन्छन्, “त्यहाँ त होलीमा कालो पोतेर गालीको प्रतिस्पर्धा हुन्छ ।”
अचेलका पुस्ताले होलीमा रमाईलो गर्न विभिन्न प्रकारका पेयपदार्थहरु पिउँछन्, त्यतिवेला के खाएर रमाइलो गरिन्थ्यो त ? उनले भने, “खान मन पराउनेहरुले घोट्टा (दूधमा भाङको पात मिसाएर बनाइने परिकार) खान्थे । ” तामाको भाँडामा पकाइने यो परिकार बनाउन पाककला सिकेको मान्छे चाहिने उनी बताउँछन् । यो खाएपछि एक प्रकारको रमाइलो अनुभूति हुने उनको भनाइ छ ।
जवानीमा मात्रै होइन उनी अहिलेपनि होली खेल्न छुटाएका छैनन । फरक यत्ति हो कि अहिले परिवारका सदस्यसँग एक आपसमा अबिरको टीका लगाएर होली पर्व मनाउँछन् उनी । होली नेपालीको सांस्कृतिक पहिचान भएको उनको तर्क छ, “होली हाम्रो पहिचान हो, त्यसैले साथीभाइ र परिवारसँग भएपनि होली खेल्न नबिर्साैं ।”
रामेछापका ६८ वर्षिय बेगबहादुर थापाको होली अनुभव पनि निकै रमाइलो छ । काठमाडौंको एकान्तवस्तीमा बस्दै आएका थापा पछिल्लो पुस्ताले मनाउन थालेको होलीको शैली चित्त बुझाउन नसकिएको बताउँछन् । उनले आफ्नो पालाको होली स्मरण गर्दै पछिल्लो पुस्ताको होलीप्रति टिप्पणी गरे, “त्यो बेलाको होली पो होली त, अहिलेको होली त के होली ।
उनको पालामा रातो, पहेँलो र निलो रङ दलेर होली खेलिन्थ्यो । अहिले जस्तो होटल थिएनन् त्यसैले घरमै बिभिन्न खालका मीठो मसिनो बनाएर खाने चलन रहेको उनको भनाई छ । उनीसँगै होली खेलेका उनका साथीहरु मध्ये केही स्वर्गवास भइसके । थापा भन्छन– “धेरै रमाइलो हुन्थ्यो, अब त सँगै होली खेलेका साथीहरु मध्ये कति वितिसके, गाउँ जाँदा मलाई चिन्ने भन्दा नचिन्नेहरु धेरै भईसके।”
काठमाडौं नक्सालका स्थायी वासिन्दा कुमार थापा मगरको होली अनुभूति पनि रमाइलो खालको छ । वसन्तपुरमा होलीको चीर ठड्याएदेखि लगातार ८ दिनसम्म होलीमा रमाएको पलहरु उनको स्मृतिमा ताजै छ । अविर र रङको प्रयोग गरेर होली खेल्ने गरेको स्मरण गर्दै उनले भने, “हामी त रङ दलेर होली खेल्थ्यौं अहिले जस्तो घरको कौशीबाट बाल्टीनका बाल्टीन पानी कहाँ खन्याउँथ्यौं र ?”
अचेल होलीमा स्वीकृतिविना अरुलाई अबिर दल्न वा पानी छ्याप्न पाँइदैन । उनको पालामा यो छुट थियो त्यसैले त उनी बाटोमा हिड्ने जोकोहीलाई पनि अविर दलेर रमाइलो गर्थे । हुने खानेले उनीहरुको समूहलाई आप्mनो घरमा होली खेल्न बोलाउँथे । होली खेल्नलाई आवश्यक पानी, रङ सवै उनीहरुले नै दिन्थे र होली खेलेर माहोल रमाइलो बनाइदिएपछि मीठो खाजा पनि खान पाइन्थ्यो ।
अचेलको होलीमा पहिले जस्तो रमाइलो नहुने उनको अनुभव छ । “ पहिले जस्तो रमाइलो अहिले कहाँ हुन्छ र” उनले यसरी असन्तुष्टी पोखे।
डडेल्धुरा आलिताल गाउँपालिका ७ का मदनराज जोशीको होली अनुभव पनि कम्ता रोचक छैन । उनी अहिलेपनि हरेक वर्ष होली खेल्छन् । कामको सिलसिलामा काठमाडौं आएका जोशीलाई यसपटक भने गाउँको होली छुटेकोमा नमीठो लागिरहेको छ । गाउँमा खेलिने होलीको याद झलझली आएको बताउँदै उनले आपूmहरुले धार्मिक परम्परा अनुसार आयूवृद्धिको कामना गर्दै होली खेल्ने गरेको बताए।
उनीहरू गाउँभरका मानिस भेला भएर विभिन्न मौलिक बाजागाजाको तालमा गीत गाएर होली मनाउँछन् । होलीमा एउटा होलिकाको विषयमा बनाइएका गीतहरु गाउने चलन छ भने अर्काे महिना र मौसमका बारेमा । होलीमा गाइने विभिन्न गीत मध्ये उनले एक लाइक यसरी सुनाए ।
वीउ छोरान्न जेष्ठको मास, दाना रोप्ना असार
बेला फेरि आउँछ, जोवन आउँदैन ।।
होली उत्सवमा नाच्नेहरुका लागि उनीहरुले विशेष मौलिक पोशाकको पनि व्यवस्था गरेका छन् । होलीमा उनीहरु मांशाहारी भोजन गर्दैनन् । यसो भए होलीको विशेष परिकार के त ? उनले प्mयाटटै जवाफ दिए, “दाल भात तरकारी, सम्भव भए थोरै घिउ।”
समुदायमा होली खेलेर उठेको रकम समुदायकै लागि खर्चन्छन् उनीहरु । होलीको चन्दाबाटै उनीहरुले सामुदायिक भवन बनाएका छन्, समुदायलाई आवश्यक भाडाकुँडा जोरजाम गरेका छन् । यसरी उठेको रकमबाटै उनीहरुले आफ्ना छोराछोरी अध्ययन गर्ने शंकरकेदार आधारभूत विद्यालयलाई एक लाख १० हजार रुपैंया सहयोग गरेका छन् ।
होलीको बदलिँदो शैलीबारे उनी भन्छन्, “हाम्रो बाबु–बाजेको पालामा देवीदेवताको नाम उच्चारण गरेर होली खेलिन्थ्यो, हामी मौलिक गीत गाएर खेल्छौं, नयाँ पुस्ता आधुनिक तरिकाले खेल्छन्।” आफ्नो संस्कृति जोगाउन युवा पुस्ताले ध्यान नदिएकोमा भने उनको चिन्ता छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया