धनगढी-टेकसिँह धामी । कैलालीमा नेकपा एमालेको माधव नेपाल समूहले सामान्तर कमिटी विस्तार गरेको छ । शनिवार धनगढीमा नेकपा एमाले माधव समूहको जिल्लास्तरीय विस्तारित बैठकले दीर्घबहादुर सोडारीको अध्यक्षतामा समानान्तर कमिटी विस्तार गरेको हो ।
२०७५ जेठ २ गतेको बैठकबाट गठित कमिटीलाई नै क्रियाशील बनाउँदै पदाधिकारीहरुको कार्यविभाजन गरेको एमाले नेता विमल जोशीले बताए ।
उनका अनुसार चार जना उपाध्यक्ष, एक जना सचिव, ९ जना सहसचिव गरी एक सय ७५ जनाको जिल्ला कमिटी बनाइएको छ ।
उपाध्यक्षमा कर्ण जैशी, भैरव रावल, केवाँलाल चौधरी र कलावती जोशी चयन भएका छन् । सचिवमा विमल जोशी, उपसचिवहरुमा शिवराज विनाडी, प्रेम चौधरी, चुनकुमारी चौधरी, लोकेन्द्र शाही, सुर्यचन्द्र भट्टराई, लोकबहादुर सारु, दिलबहादुर विक, खडक रावल रबखत विष्ट चयन भएका छन् ।
भेलामा नेकपा एमालेका नेता डा भीम रावल, एमाले केन्द्रीय सदस्य गरिमा शाह र झपट रावल लगायतका अतिथिहरु सहभागी थिए ।
कार्यक्रममा नेता डा रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले देश नै अन्यौलतामा धकेलिएको बताए । यो बेला पार्टी एकता अत्यावश्यक रहेको भन्दै उनले पार्टी भित्र मिलेर प्रधानमन्त्रीको कदम विरुद्ध लाग्नु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया