काठमाडौं । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ): मेष राशि भएका व्याक्तिहरुका लागि समग्रमा वर्ष २०७८ शुभ रहनेछ । वर्षभरि नै लाभ भाव र राज्यभावमा गोचर गर्ने वृहस्पतिको अनुकुल प्रभावले विशेष गरी स्कुल, कलेज, कन्सल्टेन्सी, पर्यटन, होटल व्यवसाय, शेयर बजार र बैंक तथा वित्तीय जस्ता क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने व्यापार व्यवसायकै सवालमा लामो दूरीको यात्रा तय गर्न सकिनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडीहरुको आफ्नो प्रेम सम्बन्ध विवाहमा परिणत हुनेछ । प्राय वर्ष भरि नै वृहस्पतिको दृष्टि सन्तान भावमा पर्ने हुनाले वंश वृद्धिको गतिलो योग रहेको छ ।
वर्ष भरि नै राज्य भावमा शनि स्वगृह भएर शश नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले सरकारी नोकरीमा प्रवेश, पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाइकै पक्षमा हुनेछन् भने लामो समयदेखिको विवाद अन्य हुनेछ । समाजमा विशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ठ सम्बन्ध बनाइ राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मानसम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दूरीको अफिशियल यात्रा हुनेछ ।
कर्मभावमा गोचर गर्ने शनिको अनुकूल प्रभावले कम्प्युटर पार्ट्स, इलेक्ट्रीक सामान, घरजग्गा, इन्जिन, हार्डवयेर, फेक्ट्री तथा उत्पादनमुखी व्यवसाय विगतभन्दा फस्टाएर जानेछ । त्यस्तै सबैखाले पेशा व्यवसायमा विशेषगरी निर्माण सामाग्री, औषधि र गाडी वा इञ्जिन सम्बन्धी सामानको व्यापार व्यवसाय गर्नेहरुका लागि शनिले साथ दिनेछ ।
विद्यार्थीहरुमा तार्किक क्षमतामा वृद्धि हुनेछ भने अध्ययनमा एक कदम अगाडि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । कानून विषय लिइ अध्ययन गर्ने विद्यार्थीहरुका लागि न्याय क्षेत्रमा प्रवेश गर्नको लागि समय उत्तम रहनेछ । टेक्निकल विषय जस्तै मेकानिकल ईन्जिनियर, फार्मेसी, डाक्टर, पाईलट र भूगोल सम्बन्धी अध्ययन गर्ने विद्यार्थीका लागि समयले साथ दिनेछ । लेखन कला साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि यो वर्ष उत्तम रहनेछ ।
तरपनि वर्षभरि नै धनस्थानमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले भौतिक सम्पत्तिको प्रयोग गर्दा दुर्घटना नहोला भन्न सकिन्न । धन सम्पत्ति फस्ने तथा कुटुम्बसँगको सम्बन्धमा दरार पैदा हुनेछ ।
राशि स्वामी मंगल मंसिर २१ गतेबाट माघ ०४ गतेसम्म अष्टम भावमा स्वगृह भएर बस्ने भएकोले नसाचेको धन सम्पत्ति हात लागि हुने योग रहेको छ । यो समयमा केतु पनि सँगै रहने हुनाले भौतिक सम्पत्ति तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
यो वर्ष वृहस्पति, शनि लगायत अन्य ग्रहको अनुकूल प्रभावले दीर्घकालीन रोगहरु जस्तै मोटोपन, कोलेस्ट्रोल, प्यारालाईसिस, मृगौला, कलेजो आदि रोगका बिरामीहरुले स्वास्थ्यमा सुधार आएको महसुस गर्नेछन् ।
आर्थिक दृष्टिले असार, असोज, माघ तथा फागुन महिना मेष राशि हुनेहरुका लागि शुभ रहनेछ । मेष राशि भएका व्याक्तिहरुले प्रत्येक मंगलवार गणेश भगवानको पूजा तथा आराधना गरी गणेश भगवानलाई खुशी बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ । राहु केतुको प्रभाव नकारात्मक रहने हुनाले बटुक भैरवको पूजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पूजा गर्नाले थप लाभ मिल्नेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): वृष राशि भएका व्यक्तिहरुका लागि वर्षको समय शुभ रहनेछ । वर्षभरि नै भाग्य, भाव तथा राज्यभावमा गोचर गर्ने वृहस्पतिको अनुकूल प्रभावले स्कुल, कलेज, मन्टेश्वरी, बैंक तथा वित्तीय क्षेत्रमा थप लगानी गर्ने वातावरण बन्नेछ भने शिक्षा तथा बैंक तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाइलेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । आफूलाई मनपरेको मानिससँग वा पतिपत्नीका साथ रमाइलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चनेहरुका लागि समय उत्तम रेहेको छ भने जनताको समर्थन प्राप्त हुनाले पद प्राप्त हुनेछ ।
भाग्य भावमा शनिको गोचर शुभ रहने हुनाले निर्माण सामाग्री, हार्डवयेरको व्यापार, अटो पार्ट्स, गाडी तथा ईञ्जिन सम्बन्धी काम र फाली फलामको काम गर्नेहरुका लागि यो वर्ष शुभ रहनेछ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सक्नेछन् । फ्याक्ट्री तथा उत्पादनमुखी व्यवसायबाट लाभ मिल्नेछ । न्यायालयको क्षेत्रमा काम गर्ने अवसर आउने तथा न्यायिक निर्णयहरु तपाइकै पक्षमा फैसला हुनेछन् ।
प्लस टु सकेर वा सो भन्दा माथिल्लो लेवल अध्ययन गर्नको लागि लामो दूरीको यात्रा हुनेछ भने धर्मसंस्कृति तथा रीतिरिवाज जोगाउने काममा तपाइको भूमिका रहनेछ । त्यस्तै धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ ।
गीतसंगीत तथा मोडलिङको क्षेत्रमा समय लगानी गर्ने तथा कलाकारिताको भूमिकामा देखिनेहरुका लागि समयले साथ दिनेछ । कलाकृतिसँग सम्बन्धित काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ भने आफ्नो कला देखाउन देश विदेशको यात्राको तय गर्न सकिनेछ ।
वर्षभरि नै व्यापार भावमा केतुको गोचर भने मध्यम रहनेछ । साझेदारी व्यापारमा मनमुटाव सिर्जना हुनेछ । भौतिक सम्पत्ति हराउने, सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा दुर्घटना हुने योग रहेको छ । आर्थिक मन्दी तथा काममा ढिला सुस्तीको चपेटामा परिनेछ । घरपरिवारमा जीवनसाथीसँग मनमुटाव बढ्ने तथा आत्मीय जनसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ ।
राशि स्वामी शुक्र वैशाख २० गतेबाट जेष्ठ १३ गतेसम्म राशि भावमा स्वगृह भई मालव्य नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने शुक्रले घरजग्गा तथा सवारीसाधन विलाशी वस्तु जोड्न सकिनेछ । शुक्र पुनह भाद्र २१ गतेबाट असोज १६ गतेसम्म प्रतिस्पर्धा भावमा स्वगृह भई गोचर गर्ने हुनाले न्यायिक निर्णयहरु तपाइकै पक्षमा फैसला हुनेछन् भने प्रतिस्पर्धामा तपाइको नाम अग्रस्थानमा आउनेछ ।
आर्थिक दृष्टिकोणले साउन, कात्तिक, फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेको छ । प्रत्येक शुक्रवार इन्द्रयणी देवीको दर्शन, पूजा आराधना गर्नाले र राहु र केतुको नकारात्मक प्रभावबाट बच्नको लागि आईतवार भैरवको दर्शन र पूजा गर्नाले तपाइका दिनहरु थप फलदायी रहनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): मिथुन राशि हुनेहरुका लागि यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । वर्षभरि नै अढैया शनिको प्रभावले कुनै पनि मुद्दा मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाइको पक्षमा नआउन सक्छ । साझेदारी व्यवसायमा साझेदारहरु बीच नै सैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । जण्डिस, सुगर, मोटोपन, उक्त रक्तचाप, पत्थरी तथा मृगौला जस्ता रोगबाट पीडित हुनेहरुले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवनसाथीसँग मनमुटाव सिर्जना हुनेछ । लामो दूरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला । जन्मकुण्डलीमा शनि र राहु प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइरहनेछन् । तरपनि जन्म कुण्डलीमा शनि स्वगृह, उच्च तथा चिनाको ३,६,११ भावमा भए शनिको अढैया शुभ रहनेछ ।
असोज १६ गतेबाट कात्तिक २२ गतेसम्म कष्ट भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकूल प्रभावले शिक्षा क्षेत्र र बैंक तथा वित्तीय क्षेत्र र शेयर बजारको लगानीमा मन्दी आउनेछ । तरपनि वर्षको पूर्वाद्ध र उत्तरार्धमा वृहस्पति भाग्य भावमा गोचर गर्ने हुनाले रोकिएका काम थोरै समय दिएर सम्पादन गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनले नयाँ गति लिनेछ अध्ययनकै सवालमा लामो दूरीको यात्राको तय गर्न सकिनेछ भने स्वदेश फर्किनेहरूलाई उपयुक्त वातावरण बन्नेछ । व्यवसायमा उल्लेख्य प्रगति हुनेछ । प्रयत्न गर्दा नोकरी पाईनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ । भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै गृहस्थीको बलियो जग बस्नेछ । सन्तानका माध्यमबाट सुख प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।
वर्षभरि नै राहु र केतुको गोचर शुभ रहनेछ । विदेश भावमा गोचर गर्ने राहुको प्रभावले विदेशी वा कुटनीतिको क्षेत्रमा काम गर्न चाहनेहरुका लागि समयले साथ दिनेछ । पराराष्ट्र, एनजिओ, आईएनजीओ, विदेशी सामानको व्यापार व्यवसाय र विदेशी सामानको व्यापार गर्नेहरुले प्रशस्त रुपैयाँ पैसा कमाउनेछन् । कामकै सवालमा अफिसियल यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रतिस्पर्धा भावमा गोचर गर्ने केतुको शुभ प्रभावले नोकरी वा राजनीतिमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै चाहेको उपलब्धी हासिल गर्न सकिनेछ ।
राशि स्वामी बुध असार २१ गतेबाट श्रावण ०७ गतेसम्म लग्नमा स्वगृह भएर भद्र नामको पञ्चमाहापुरुष योगको निर्माण र भाद्र ०९ गतेबाट कात्तिक १५ गतेसम्म चौथो भावमा प्रवेश गरी पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारीसाधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।
प्रतिकूल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखीको भक्तिभावका साथ पूजा तथा आराथना गर्नाले लाभ मिल्नछ । आर्थिक दृष्टिकोणले वैशाख, भाद्र, मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो): कर्कट राशि हुनेहरुका लागि यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । वर्षभरि नै कष्ट भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकूल प्रभावले घर जग्गा, हाउजिङ तथा सवारी साधनको कारोबार तथा खरिद बिक्रीमा मन्दी आउनेछ । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला । शेयर बजार तथा सट्टाको व्यवसायबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । पुराना समस्या दोहोरिने तथा घर व्यवहारको समस्याले आर्थिक उन्नति गर्न सकिने छैन । तरपनि असोज १६ गतेबाट कार्तिक २२ गतेसम्म व्यापार भावमा गोचर गर्ने वृहस्पतिले व्यापार व्यवसायमा बढोत्तरी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी गर्ने वातावरण बनाउन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिनेछन् भने सुयोग्य वरवधुको लगनगाँठो बाँधिनेछ । वंशवृद्धिको गतिलो योग रहेको छ । कृषि तथा चौपाया व्यवसायमा लगानी बढाई प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।
वर्षभरि नै शनि व्यापार भावमा शश नामको पञ्चमाहापुरुषको योग निर्माण गर्ने हुनाले उत्पादनमुखी व्यवसाय फस्टाएर जानेछ । सवारी साधन,फलाम तथा हार्डवयेरसँग सम्वन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाइ आफ्नै पक्षमा हुनेछन् । कानूनको व्याख्याता तथा कानूनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीतिनियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । नोकरीमा प्रवेश, पदोन्नती वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ । व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ ।
अर्कोतर्फ वर्षभरि नै लाभ भावमा राहु र विद्या भावमा केतुको गोचर शुभ रहनेछ । विद्या भावमा गोचर गर्ने केतुले टेक्निकल विषयको अध्ययन तथा कामको शिलशिलामा लामो दूरीको यात्रा हुनेछ भने लाभ भावको राहुले एनजिओ,आईएनजिओ,विदेशी लगानिबाट स्ञ्चालित सस्था, कन्सल्टेन्सि र मेनपावर जस्ता क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ ।
आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले वैशाख, जेष्ठ, असोज, मंसिर महिना राम्रो रहेको छ । बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिवार विष्णु भगवानको पूजा तथा पिपलमा जल चडाउँदा लाभ मिल्नेछ । राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागि बटुक भैरवको पूजा तथा आराधाना गर्नुहोला ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे): सिंह राशि भएकाहरुका यो वर्ष शनि, वृहस्पति र राहुको गोचर शुभ रहनेछ । वर्षभरि नै प्रतिस्पर्धा भावमा गोचर गर्ने शनिको अनुकूल प्रभावले उत्पादनमुखी व्यवसाय फस्टाएर जानेछ । सवारीसाधन, फलाम तथा हार्डवयेरसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाइ आफ्नै पक्षमा हुनेछन् । कानूनको व्याख्याता तथा कानूनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धनआर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।
त्यस्तै वृहस्पतीको प्रतिकूल प्रभावले शेयर बजार, स्कुल, कलेज, सहकारी, इन्सुरेन्स, बैङक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा समय खर्चनेहरुका लागि समय मध्यम रहेको छ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रस्तुत गर्ने अवसर जुर्नेछ । नाफामुखी व्यवसाय र सेवामुखी व्यवसाय फस्टाएर जानेछ । प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समयसापेक्ष आधुनिकिकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई विवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् ।
वर्षभरि नै कर्म भावमा गोचर गर्ने राहुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम पाउने, पदोन्नती हुने तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । कुटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समयले साथ दिने हुँदा राज्यबाट पद पाउने, नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेकोछ ।
तरपनि हृदयभावमा केतुको उपस्थितिले मनोविकार निम्त्याउने हुँदा परिस्थितिले विवादास्पद भूमिकामा अवतरण गराउन सक्छ । सामान्य कमजोरीले परिवार र समाजमा आलोचित भइने र प्रतिस्ठामा बाधा पुग्ने सम्भवाना छ ।
प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मन विकाररहित हुनेछ र सम्भावित समस्या टर्नेछन् । राहु र केतुजन्य कर्मदोष निवारण गर्न वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो): कन्या राशि हुनेहरुका लागि वर्षको समय मिश्रित रहनेछ । वर्षको पुर्वाद्ध र उत्तराद्धमा ऋण, रोग र शत्रुभावमा गोचर गर्ने वृहस्पतिको प्रतिकूल प्रभावले शत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनावश्यक दुख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । आफन्त तथा मामाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । राजनीति तथा कुटनीतिकको क्षेत्रमा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । जन्मथलो छोडेर लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
वर्षभरि नै विद्या, बुद्धि र सन्तान भावमा गोचर गर्ने शनिले घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला । शनिको प्रभावले मन अशान्त रहनेछ भने सँगोलको सम्पतिमा भागबन्डा लाग्न सक्छ । बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइनेछ । विद्रोहीहरूको दबाव र झमेला बढ्ने योग रहेको छ । व्यक्तिगत र सामाजिक अनुशासन पालना नगर्दा स्वास्थ्यबाधा र कर्मबन्धनका उल्झनले सताउनेछन् । जन्मकुण्डलीमा शनि–प्रतिकूल हुनेहरूलाई सदाचारमा नरहदा आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुची,कार्यबाधा र अर्थहानी जस्ता समस्या आउनेछन् । सन्तान तथा आफन्तसँग घरायसी कुरामा राय बाजिने वा विवाद हुनेछ ।
तरपनि वर्षभरि नै राहु र केतुको गोचर शुभ रहने हुनाले लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने वा बढुवा हुने योग रहेको छ । पराराष्ट्र, एनजिओ, आईएनजीओमा तपाइको उच्च स्तरको सहभागिता हुनेछ भने अफिसियल यात्राको प्रशस्त सम्भावना रहेको छ ।
दाजुभाइ वा छिमेकीसँग मिलेर गरिने पेशा व्यावसायबाट लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना लेख तथा रचनाहरु जनमानसमा लैजान सकिनेछ । विदेशी भाषा तथा टेक्निकल शिक्षा लिइ अध्ययन गर्नेहरुका लागि समयले साथ दिनेछ ।
राशि स्वामी बुध आषाढ १९ गतेबाट श्रावण ०७ गतेसम्म राज्य भावमा स्वगृह भएर भद्र नामको पञ्चमाहापुरुष योगको निर्माण र भाद्र ०९ गतेबाट कार्तिक १६ गतेसम्म राशिमा प्रवेश गरी पुनह भद्र नामको पञ्चमाहापुरुष योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेको छ । कन्फिडेन्ट पावरमा वृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।
जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायी रहनेछन् । आर्थिक दृष्टिकोणले असार,साउन,मंसिर तथा फाल्गुन राम्रो रहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरुका लागि वर्ष २०७८ मध्ययम रहनेछ । वर्षभरि नै शनिको अढैया दशाको प्रभावले झूटा आरोपहरु लाग्ने, कार्यमा ढिलाशुस्ती, मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आघात पुग्ने, मानसिक चिन्ता तथा स्वास्थ्य सम्बन्धी समस्या देखापर्ने र आर्थिक स्थिति कमजोर हुनेछ ।
स्थानान्तरणको अधिक सम्भावना रहेको छ भने जन्मथलो छोडेर लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरुले अनावश्यक दुःख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । मोटोपन,कोलस्ट्रोल,जन्डिज,फोक्सो तथा मुटु रोगीहरुले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला । तर जन्म कुण्डलिमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।
कष्टभावमा राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा,चोटपटक र अर्थहानी जस्ता समस्या देखापर्न सक्छन् । उपलब्धी र भोगाधिकारलाई जोगाइराख्न पनि विशेष सजगता अपनाउनुपर्नेछ । भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । कुटुम्ब भावमा वर्ष भरी नै गोचर गर्ने केतुले कुटुम्ब तथा आफन्तसँग लामो समयदेखि गरिरहेको काममा मनमुटाव सिर्जना भई काम छोड्नु पर्ने हुन सक्छ । धन सम्पती सापटीको रुपमा लिदा वा लगानी गर्दा फस्न सक्छ ध्यान दिनुहोला ।
तरपनि वर्षभरी नै वृहस्पतीको गोचर शुभ रहनेछ । पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ । अकस्मात धन तथा भौतिक सम्पती प्राप्त हुनेछ । कीर्तिमानी काम गरि प्रसिद्धी कमाउन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । स्कुल,कलेज तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरी घरजम गर्न सकिनेछ । तार्किक क्षमता एवम् बोलीको प्रभावले स्वरोजगार बनाउन सक्छ ।
राशि स्वामी शुक्र वैशाख २० गतेबाट जेष्ठ १३ गतेसम्म अष्टम गोचर गर्ने हुनाले नसोचेको धन तथा सम्पति हात लागी हुनेछ । लट्री तथा चिठ्ठा पर्ने र देश विदेशको यात्रा गर्न सकिनेछ । शुक्र पुनह भाद्र २१ गतेबाट असोज १६ गतेसम्म राशिमा स्वगृह भई मालव्य नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले व्यवसायमा उतारचढाव आए पनि मेहनतले घर–जग्गा वा स्थिर सम्पति जोड्न सकिनेछ । कृषि तथा पशुपालनमा सामान्य फाइदा भइरहनेछ । टाढिएका सन्तानहरूलाई माता र मातृभूमि प्रति श्रद्धा बढ्नेछ । गीत संगित तथा मोडलिङ क्षेत्रका काम गर्नेहरुका लागी समय फलदायी रहनेछ ।
आर्थिक दृष्टिकोणले साउन,भाद्र,पौष तथा चैत्र अनुकुल रहेकोछ । प्रतिकुल समयमा देवी तथा बंगलामुखिको दर्शन, पूजा तथा आराधना, तथा बृहस्पतीको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): वृश्चिक राशि हुनेहरुका लागि वर्ष २०७८ शुभ रहनेछ । पराक्रम भावमा गोचर गर्ने शनिले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा, ठेक्कापट्टा,गाडी तथा इञ्जिन सम्वन्धीत कामबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी सस्कार संस्कृतिको अनुशरण गर्नेहरुका लागि समय उत्तम रहेको छ । बहुमूल्य धातु तथा सवारीसाधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा बन्धुबान्धवबाट भरपुर सहयोग पाईने तथा स्त्री वर्गबाट सहयोग पाईनेछ । माछापालन, हाँसपालन, हाईड्रो ईन्जिनियर, पौडिबाज जस्ता क्षेत्रमा विशेष चासो रहनेछ ।
वृहस्पतिको अनुकूलताले विद्यार्थीहरुका लागि समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै सवालमा देश विदेशको यात्रा हुनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैंक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहको छ । राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । निर्णायक तहमा बसेर गरिने निर्णयहरु समाज तथा जनताको पक्षमा हुनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । मिहिनेतीहरूलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्यले घरजग्गालगायत स्थायी सम्पति दिलाउन सक्छ । उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।
वर्षभरि नै राशिमा गोचर गर्ने राहु र व्यापार भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना,चोटपटक तथा रोगले सताउनेछ ।
राशि स्वामी मंगल मंसिर २२ गतेबाट माघ ४ गतेसम्म राशिमा गोचर गरी रुचक योगको निर्माण गर्ने हुनाले आँट, साहस तथा पराक्रममा वृद्धि भएर जानेछ । घरजग्गा जोड्ने तथा हार्डवयेर, फलामको व्यवसाय फस्टाएर जानेछ । फाल्गुन १८ गतेबाट वर्षको अन्त्यसम्म पराक्रम भावमा गोचर गर्ने उच्च मंगलको प्रभावले छोटो तथा लामो दूरीको यात्रा हुनेछ । पढाइका अलावा अतिरिक्त क्रियाकलापमा भाग लिइ मनग्गे लाभ लिन सकिनेछ ।
आर्थिक दृष्टिकोणले वैशाख, भाद्र, असोज, माघ महिना अनुकूल रहेको छ । बंगालामुखीको पूजा तथा आराधना तथा शनिलाई खुशी पार्नको लागि विष्णु भगवानको पूजा, पीपलमा जल चडाउने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): धनु राशि भएका व्यक्तिहरुलाई शनिको अन्त्य साढेसातीको प्रभावले अशुभ रहेपनि अन्य ग्रहको अनुकूलताले वर्ष शुभ नै रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरुलाई विभिन्न समस्या आईपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आईपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा कुण्डलीमा ३ ६ ११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ ।
वर्षभरि नै धन भावमा र पराक्रम भावमा गोचर गर्ने वृहस्पतिको अनुकरल प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाइको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल कलेज, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर,हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रही राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गहरुले विद्या तथा प्रतिस्र्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया प्रेम गर्ने जोडीहरुले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भइनेछ । प्राकृतिक स्रोतसाधनको प्रयोग मार्फत प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ । ईच्छित चाहना तथा मनोकामनाहरु पूरा हुनेछन् ।
वर्षभरि नै राहु र केतुको गोचर शुभ रहनेछ । अध्ययन वा जागिरमा हुने प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरिको यात्रा हुनेछ भने विदेशी लगानीबाट सञ्चालीत सस्थामा काम पाउने योग रहेकोछ । परराष्ट्र वा कुटनीतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हातपार्न सकिनेछ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ ।
साढेसातिको प्रभाव हुनेहरुले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानि चडाउदा फाईदा हुनेछ । वृहस्पतिको लागि माता बंगालामुखीको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असोज,कार्तिक तथा फाल्गुन महिना राम्रो रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): मकर राशि हुनेहरुका लागि वर्ष २०७८ मिश्रित रहनेछ । न्यायालय, ईन्जिनियरिङ, व्यवस्स्थापन, मार्केटिङ, बिमा, एकाउन्ट, बैंक तथा वित्तीय संस्था जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ । डाईरेक्टर, सञ्चालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पद पाउने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रका प्रगति हुनेछ । मायाप्रेमको सम्बन्ध विवाहमा परिणत हुनेछ भने जीवनसाथीको सहयोगले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ ।
वर्षभरि नै विद्या भावमा गोचर गर्ने राहु र एकादश भावमा गोचर गर्ने केतुले स्वदेशमा उत्पादित सामानहरुको व्यापार व्यावसाय विदेशमा निर्यात बढ्नेछ भने व्यापार विस्तारकै शिलशिलामा लामो दूरीको समुन्द्रपारको यात्रा हुनेछ । छोटो समयमा आर्थिक उन्नति गरी जीवनस्तर उकास्न सकिनेछ । तरपनि मानसिक अश्थिरता बढ्ने योग रहेकोछ भने सन्तानसँग केही विषयमा मतान्तर रहनेछ ।
वर्षभरि नै शनिको मध्य साढेसातीको दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरुसँग विवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ । सीमित क्षेत्रबाट माथी उठ्न बाधा पर्नेछ । मस्तिष्क भावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति देखापर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, कार्यबाधा, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइलाग्नेछन् । आलोचक बढ्नाले काम रोकिनेछ । उच्च अधिकारीसँगको विवादले नोकरीमा चुनौती आइलाग्नेछ । न्यायिक निर्णहरु तपाईँको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलीमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।
शनिको नकारात्मक प्रभावबाट बच्नको लागी महांकाल तथा काली भगवतीको पूजा आराधना गरी पीपलमा जल चडाउदा फाईदा हुनेछ । वर्षभरी राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार,कार्तिक,मंसिर तथा चैत्र महिना लाभदायक रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा): कुम्भ राशि हुनेहरुका लागि पुवाद्र्ध र उत्तराद्र्धको समय राम्रो रहेपनि मध्यका समय संघर्षशिल रहनेछ । वर्षभरि नै शनिको आद्य साढेशातिको प्रभाव रहनेछ । साढेशातिको प्रभावले भौतिक स्रोतसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राज्यसँग नजिक भइ गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा जस्ता क्षेत्रमा मन्दी आउनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुशरण गर्नेशरुका लागि समयले साथ दिने छैन । विभिन्न समस्या आईपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आईपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तरपनि जन्मकुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाममूखी फल दिनेछ । असोज १५ गतेबाट कार्तिक २२ गतेसम्म खर्च भावमा वृहस्पतीको गोचर अशुभ रहनेछ जसको कारणले गर्दा खर्चिलो काम गर्नुपर्ने स्थिति आउन सक्छ । सञ्चित रकम सकिनाले आर्थिक मन्दीले सताउनेछ । विचौलियाको फन्दामा परिनेछ भने लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्छ ।
तरपनि पुर्वाद्ध र उत्तराद्र्धको समयमा वृहस्पतीको अनुकूल प्रभाव रहनेछ, जसको कारण नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको ग्रहयोग रहेको छ । सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिष, लेखन, साहित्य, कला, दर्शन, धर्मप्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त गर्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, बैंक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । विद्यार्थीवर्गहरुले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया प्रेम गर्ने जोडीहरुले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भइनेछ । प्राकृतिक स्रोतसाधनको प्रयोग मार्फत प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ भने उपहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ ।
वर्षभरि नै सुख भावमा गोचर गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुले बसाइसराइ तथा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । आफन्त तथा परिवारजनसँग मतभेद रहनेछ । नेता तथा कर्मचारीहरुलाई राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला ।
आर्थिक दृष्टिकोणले वैशाख साउन मंसिर,पौस महिना उत्कृष्ट रहेको छ । विधिपूर्वक वृहस्पतिको लागि माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागि वटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): यो वर्ष मिन राशि हुनेहरुका लागि शुभ फल प्राप्त हुनेछ । वर्षभरि नै शनिको अनुकूल प्रभाव रहनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायी रहनेछ । बहुमूल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थ तथा प्राकृतिक स्रोतसाधनको व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा बन्धुबान्धवबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाइ आफ्नै पक्षमा हुनेछन् । कानूनको व्याख्याता तथा कानूनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।
वर्षभरि नै पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुको आँट, साहस तथा पराक्रममा वृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमी क्रियाकलापमा सहभागी भई देश विदेशको यात्रामा निस्कन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दूरीको अफिशियल यात्रा हुनेछ । पढाइलेखाइकै सवालमा दक्षिण तथा पश्चिमी मुलुकको यात्रा गर्न सकिनेछ । लेखन कला साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि यो वर्ष उत्तम रहनेछ ।
वर्षको पूर्वाद्ध र उत्तराद्र्धको समयमा खर्च भावमा वृहस्पतिको गोचर प्रतिकूल रहनेछ । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना, परिवारमा मतभेद रहनेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । तरपनि प्रयत्न गर्दा ईन्जिनियरिङ,,दूध तथा दूग्ध पदार्थ, गोताखोर, वैज्ञानिक शोध, लेखन, कला साहित्य, मनोरञ्जन, हास्य विधा,अध्ययन अध्यापन, योगध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि यो वर्ष राम्रो रहेको छ । प्रेम सम्बन्धहरु विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ । स्कुल, कलेज, कन्सल्टेन्सी, फार्मेसी अस्पताल, ट्राभलजेस्सि, तरल पदार्थ, हाईड्रोपावर,अनलाईन व्यापार,प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले प्रशस्त रुपैयाँ पैसा कमाउन सक्नेछन् भने लगानी बढाउने अवसर जुट्नेछ ।
आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ महिना उत्कृष्ट रहेका छन् । विधिपूर्वक वृहस्पतिको लागि माता बंगलामुखीको पूजा,आराधना तथा दर्शन र शनिको लागि महाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ ।
तपाइको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया