नाइजरको विद्यालयमा भिषण आगलागी : २० बालबालिकाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मंगलवार लागेको भिषण आगलागीमा परेर २० जना बालबालिकाको मृत्यु भएको छ । आगलागीमा परेर परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा थुनिएका २० जना बालबालिकाको मृत्यु भएको हो ।

अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरुले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए । उनले भने, ‘तर आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरु भाग्न पनि सकेनन् ।’

आगलागी शुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी, आगलागीको खास कारण थाहा हुन सकेको छैन ।

प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका थिए । विश्व मानव विकास सूचकांकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ ।

साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरुले परालले छाएका धेरै विद्यालय बनाएका छन् जहाँ बालबालिका प्रायः भुईमा बसेर पढ्ने गर्दछन् । यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि नभएको अन्तर्राट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?