भारतको राजधानी नयाँदिल्लीमा हप्तामा दुई दिन कर्फ्यू

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले हप्तामा दुई दिन (शनिवार र आइतवार) कर्फ्यूको घोषणा गरेका छन् । आज (बिहीवार) दिउँसो पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले  कोरोना संक्रमित बढेका कारण भोलि शुक्रवार राति १० बजेदेखि सोमवार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने बताएका हुन् ।

पछिल्लो २४ घण्टामा नयाँदिल्लीमा १७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमणको दर दैनिक तीव्ररुपमा बढ्दै गएपछि कर्फ्यू लगाउने अवस्था आएको बताए । उनले कोरोना रोकथामका लागि यो महत्त्वपूर्ण कदम भएको जनाए । दिल्ली सरकारले हप्तामा ५ दिन खुला राख्ने र २ दिन कर्फ्यू लगाउने नीति लिएको भारतीयसञ्चारमाध्यमहरुले जनाएका छन् ।

कर्फ्यूका क्रममा अत्यावश्यक सेवा भने खुला नै रहने र पूर्व निर्धारित विवाहले पास पाउने जनाइएको छ । सिनेमा हलमा ३० प्रतिशत दर्शक राखेर सञ्चालन गर्न पाइने र अत्यावश्यक कामकालागि पास लिएर मात्र विमानस्थल, रेल्वे स्टेसन, बसपार्क जानपाईने जनाइएको छ । भारतमा पछिल्लो २४ घण्टा दुई लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?