काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम जन्मेको दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा राम नवमीका दिन राम, सीता तथा लक्ष्मण र हनुमानको मूर्ति स्थापना हुने भएको छ । काठमाडौंबाट मूर्ति लिएर आउने माडीको टोलीलाई पशुपतिनाथ मन्दिर परिसरबाट प्रधानमन्त्री ओलीले नै बिदाइ गर्दैछन् । यी ४ मूर्ति हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा राखिएका छन् ।
गत भानु जयन्तीका दिन ओलीले रामको जन्मभूमि भारत नभएर वीरगञ्जदेखि पश्चिम ठोरीतिर भएको दाबी गरेका थिए । उनको यो अभिव्यक्ति विवादमा परे पनि माडी अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढेको थियो । रामधामको गुरुयोजना बन्दै गरेकाले तत्कालका लागि मूर्ति स्थापना गर्ने तयारी थालिएको हो ।
अहिले ४ वटा मूर्ति ल्याएर अस्थायी मन्दिरमा राख्छौं । २०/२२ महिनामा रामधामको गुरुयोजना तयार भएपछि त्यही योजनाअनुरूप भव्य राम मन्दिर निर्माण गरिनेछ, बाग्मती प्रदेश सांसद विजय सुवेदीले भने, ‘त्यही मुख्य मन्दिरमा यी मूर्ति राखेर प्राण प्रतिष्ठा हुनेछ ।
उनका अनुसार वैशाख ७ गते पशुपतिनाथ परिसरस्थित राम मन्दिरबाट प्रधानमन्त्रीले बिदाइ गरेपछि मूर्तिहरू कलशयात्रा गर्दै भद्रकालीसम्म ल्याइने छ । त्यसपछि बग्गीमा राखेर नागढुंगासम्म पुर्याइने छ । नागढुंगाबाट करीब ५०० गाडीसहित मूर्ति देवघाट ल्याइने र त्यहाँबाट रामनवमीका दिन माडी लैजाने कार्यक्रम छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया