काठमाडौं । नेकपा माओवादी केन्द्रले हटाएका प्रतिनिधि सभाका ४ जना सांसदलाई निस्कासन गरेको पत्र औपचारिक रुपमा निर्वाचन आयोगमा पुगेको छ । रिक्त रहेका पदहरुमा उपनिर्वाचन गराउन आफू तयार रहेको निर्वाचन आयोगले जनाएको छ । तर, संघ र प्रदेशमा सबै रिक्त स्थानहरूका एकैचोटि उपचुनाव गराइने आयोगले स्पष्ट पारेको छ ।
माओवादी केन्द्र छोडेर नेकपा एमाले समूहमा गएपछि माओवादी केन्द्रले कारवाही गरि हटाएका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरी हुन् । उनीहरु माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो । चारैजना सांसदहरु पदमुक्त भएको औपचारिक पत्र निर्वाचन आयोगमा आइपुगेको आयोग स्रोतले जनाएको छ ।
पत्र प्राप्त भएसँगै आयोगलाई चारैजना सांसदको रिक्त स्थानमा उपनिर्वाचनको तयारीमा लाग्न बाटो खुलेको आयोग स्रोतले जानकारी दिएको छ । प्रतिनिधि सभाका सदस्यसँगै प्रदेश सांसद र राष्ट्रिय सभाका सांसदहरुलाई पनि पार्टीहरुले कारवाही गर्ने प्रक्रिया जारी छ । विभिन्न प्रदेशहरूमा सांसद पदहरु रिक्त भइरहेका छन् । ती सबै स्थानमा एकैचोटि उपचुनाव गर्ने आयोगको लक्ष्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया