काठमाडौं – वैदेशिक रोजगार ऐन,२०६४ ले गरेको परिभाषा अनुसार वैदेशिक रोजगार भन्नाले नेपाली नागरिकले विदेशमा पाउने रोजगार सम्झनु पर्दछ भनेर उल्लेख गरिएको छ ।
विगत केही वर्षदेखि बाध्यता, रहर आदि विभिन्न कारणहरूले गर्दा नेपाली नागरिकहरू विभिन्न देशहरूमा कामको खोजिमा अथवा काम गर्न जाने क्रम बढेको छ । सरकारले नै कतिपय देशहरूसँग सम्झौता गरी वैदेशिक रोजगारमा जाने कामलाई कानुनी रुपमा व्यवस्थित गरेको छ । तर कतिपय देशहरूमा कानुनी तथा नीतिगत व्यवस्था नभए तापनि नेपालीहरू औपचारिक तथा अनौपचारिक (कानुनी वा गैरकानुनी) विभिन्न बाटो एवं माध्यमको प्रयोग गरी वैदेशिक रोजगारमा गइरहेको देखिन्छ । अनौपचारिक वा गैरकानुनी बाटो/माध्यमको प्रयोग गरेर वैदेशिक रोजगारमा जाँदा लागत उच्च हुने, भनिएको काम नपाइने सम्भावना धेरै हुने बेचबिखनमा पर्न सकिने तथा असुरक्षा उच्च भई जीवनकै समेत जोखिम बढ्न सक्ने अवस्था आउन सक्दछ ।
तसर्थ,वैदेशिक रोजगारमा जाँदा सकेसम्म औपचारिक माध्यमको प्रयोग गरी सरकारले खुल्ला गरेका देशहरूमा मात्र जानु पर्दछ । वैदेशिक रोजगारमा जानुअघि गर्नुपर्ने कामको बारेमा जानकारी राख्ने तथा न्यूनतम सीप सिकेर जानु पर्छ । काम गर्न जाने मुलुकका बारेमा जानकारी राख्ने, झूठो बाचा, झुक्याउन सकिने सम्बन्धमा सचेत हुने, काम गरे वापत प्राप्त हुने तलबभत्ता,आवास, विदाजस्ता सुविधाका बारेमा जानकारी राखेर मात्र विदेश जानु पर्दछ ।
नेपालले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने सबैभन्दा ठूलो फाइदा भनेको विप्रेषण वा रेमिट्यान्स हो । नेपालको वैदेशिक व्यापारको अवस्था देशको अनुकूल नभएको अवस्थामा नेपालले विदेशी मुद्रा प्राप्त गर्ने सबैभन्दा ठूलो स्रोत पनि वैदेशिक रोजगार नै हो । यति हुँदाहुँदै पनि वैदेशिक रोजगारको सामाजिक मूल्य नेपाली समाजको लागि निकै महंगो पर्दै आएको छ । परिवारका सबैभन्दा सक्षम एवं कमाउन सक्ने र परिवारको आडभरोसा हुने व्यक्ति वैदेशिक रोजगारमा लामो समयसम्म विदेशमा बसेपछि परिवारमा आइपर्ने अनेक किसिमका समस्या एवं विकृति पनि ठूलो छ । यति हुँदाहुँदै पनि नेपाली समाजको आर्थिक अवस्थामा सुधार ल्याउन तथा नेपालीहरूको शिक्षा, स्वास्थ्यजस्ता अतिनै महत्वपूर्ण क्षेत्रमा खर्च गर्न वैदेशिक रोजगारीबाट प्राप्त आयले ठूलो सहयोग गरेको छ ।
सम्झौता पत्र
लामो समयको प्रतिक्षापछि रोजगार उपलब्ध गराउने संस्थाले तपाईंलाई वैदेशिक रोजगारीमा जान भनेर फोन गरेपछि वा इमेल पठाएपछि ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा हो सम्झौतापत्र । सम्झौतापत्र महत्वपूर्ण कानुनी दस्तावेज हो । यसमा रोजगारदाता र कामदार दुवै पक्षको कर्तब्य र दायित्वहरू लेखिएको हुन्छ । सम्झौतापत्रमा हस्ताक्षर गर्नु अगाडि विभिन्न कुरामा ध्यान दिनु पर्दछ । जस्तै :
-कार्यशीर्षक र वर्णनले तपाईंको भूमिका र कर्तव्यहरू प्रष्टसँग चित्रण गर्छ । रोजगारीमा आवेदन दिँदाको कार्यविवरण सम्झौतापत्रमा छ या छैन राम्रोसँग हेर्नुपर्छ । यससँगै आफ्नो रोजगार अस्थायी वा स्थायी के हो र आफूले गर्ने कार्य कहिलेबाट सुरु हुने हो, शुरुमा नै यकिन गर्नुपर्छ ।
– तलब र भत्ता सम्बन्धी शीर्षकमा आफ्नो सिप र क्षमता अनुरुपको पारिश्रमिक छ कि छैन राम्रोसँग हेर्नुपर्छ । साथै, सरकारी नियम अनुसार प्रति दिनको रकम ठिक छ छैन हिसाब गर्नुपर्छ ।
-रोजगारी कथंकदाचित छोड्नु परे वा रोजगारदाताले निकाल्न खोजेको खण्डमा पनि एक,दुईवटा कुरामा ध्यान दिनु पर्छ । यहाँ आफूले गरेको प्रतिज्ञा पूरा गर्न नसकिएको अवस्था वा केही नियमहरू तोडेको अवस्थामा कसरी समझदारी गरी अगाडि बढ्ने भन्ने खुलाइएको पनि हुन्छ ।
– जाँदाजाँदै रोजगारदाता होस् या कामदार दुवैको लागि बेलबोलामा गर्ने सञ्चारप्रक्रिया अति नै महत्वपूर्ण हुन्छ । याद गर्नुपर्ने कुरा, आफूसँग भएको सम्झौता र कामको प्रकृति वा सेवा, सुविधा फरक परेमा कानुनी उपचार पाउन सकिन्छ ।
यस्ता छन्,वैदेशिक रोजगारीका समस्याहरू
विदेशमा जोखिमका काम गर्न जानु बाध्यता हो । विदेशमा कमाएको पैसालाई सदुपयोग गरेमा आफ्नो आर्थिक अवस्थामा सुधार हुन सक्छ अनि जोखिम मोलेर फेरि विदेश जानु पर्दैन । आफ्नो सामाजिक इज्जत र मानमा समेत वृद्धि हुन्छ । छोराछोरीले राम्रो शिक्षाको अवसरपछि भविष्यमा राम्रो काम पाएर सुखी हुन पाउँछन् । तर पनि वैदेशिक रोजगारीका विभिन्न समस्याहरू पनि छन् । कुनै समस्या रोजगारीमा जानेहरू तथा रोजगारदाता कम्पनीहरूसँग सम्बन्धित छन् भने कुनै समस्याहरू सरकारसँग सम्बन्धित छन् । त्यसमा पनि महिला कामदारहरू त अधिकांश घरभित्रको कामको लागि जाने भएकोले उनीहरूका समस्याहरू बेग्लै किसिमका छन् ।
– कुनै पनि व्यवसायिक सीप सम्बन्धी तालिम नलिई न्यून पारिश्रमिकको कामदारको रूपमा वैदेशिक रोजगारमा जाने ।
– अनौपचारिक वा गैरकानुनी बाटो वा माध्यमको प्रयोग गरी वैदेशिक रोजगारीमा जाने ।
– रोजगारीमा जाने देशको भाषा, संस्कृति, भौगोलिक अवस्था, धर्म तथा परम्परा बारे अनभिज्ञ रहने ।
– करार अवधिभन्दा बढी समयसम्म बस्ने वा बीचैमा काम छोडेर अर्कै काम गर्न गएको कारणले कानुनी समस्यामा पर्ने ।
– रोजगारदाता कम्पनीले कामदारलाई सम्झौतामा भएको व्यवस्था विपरित अर्कै जोखिमपूर्ण तथा कम पारिश्रमिक हुने काममा पठाउने वा लगाउने ।
– मेनपावर कम्पनीले गन्तव्य देशमा अलपत्र परेका आपूले पठाएका कामदारलाई सहयोग एवम् उद्दार गर्न तत्परता नदेखाउने ।
– नक्कली मागको आधारमा समेत गन्तव्य मुलुकमा कामदार पठाउने तथा कामदारलाई विभिन्न प्रलोभन देखाई व्यक्तिगत भिसामा समेत पठाउने ।
– मेनपावर कम्पनीहरू आर्थिक रूपले पारदर्शी नहुने तथा सेवाग्राहीसँग जथाभावी पैसा असुल गर्ने ।
– गैरकानुनी रूपले सञ्चालित वा सम्झौतभन्दा फरक काम, कम पारिश्रमिकमा विदेश पठाउने मेनपावर कम्पनी तथा एजेन्टहरूलाई नियमन तथा कारवाही नहुने ।
– वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका कामदारलाई सहज किसिमले यथासमयमा नेपालमा ल्याउने व्यवस्था सरकारी तवरबाट हुन नसकेको ।
– वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न सरकारी निकाय, मेनपावर कम्पनी आदि बीचमा उचित समन्वय एवं सहकार्य नहुने लगायत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया